अन्ततः एमसिसी सम्झौता पारित

0
Shares

अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा सहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणा समेत सदनबाट जारी भएको सुनाउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

एमसिसी सम्झौताः व्याख्यात्मक घोषणा सकारात्मक

सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधि सभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

एमसिसी सम्झौताको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताएका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसिसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र पूर्वाधारको विकासका लागि सहयोग गर्ने बताइन् । उनले एमसिसीले विश्वका ४६ वटा देशहरूसँग पनि भएको र सम्झौतामा सैने गठनबाट जोडिएको छैन भनी प्रस्ट पारिन् । व्याख्यात्मक घोषणा सकारात्मक भएको उनको टिप्पणी छ ।

सांसद प्रेम सुवालले सम्झौताको विरोध गर्दै एमसिसी खारेज गर्नुपर्ने माग गरे। मातृकाप्रसाद यादवले व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रूपमै एमसिसीको अङ्ग बनेको छ भने । सांसद डा. मीनेन्द्रप्रसाद रिजालले एमसिसीका बारेमा गलत भ्रम चिर्नका लागि व्याख्यात्मक घोषणाले सहयोग गर्ने विश्वास व्यक्त गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा सकारात्मक भएको बताउँदै सो घोषणालाई अमेरिकी पक्षले पनि अनिवार्य पालना गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सांसद गिरीराजमणि पोखरेलले एमसिसीबारे अझै स्पष्ट गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका सांसद गगन थापाले अहिले एमसिसीबारे विरोध गर्ने दलका नेताहरूले एमसिसीबारे सम्झौतामा सहभागी भएको भन्दै नक्कली राष्ट्रवादी नहुन आग्रह गरे।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौताका प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको थियो ।

संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो । अर्थमन्त्री शर्माले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

1.राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैनः अर्थमन्त्री

2. एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

3. एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौंः कांग्रेस महामन्त्री थापा

4. एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

5. प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी (लाइभ)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आइतबार  २१ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।