नेप्सेले वियरिस ट्रेण्ड समात्दा लगानीकर्ता ‘प्यानिक’ बन्दै, सेयर बजारबाटै पलायन हुने खतरा बढ्यो

0
Shares

सेयर बजार सूचक उकालो लागेर चालु आर्थिक वर्षको भदौ २ गते उच्चतम बिन्दु ३ हजार २०० मा पुगेर करिब एक हजार बिन्दु तल झरेर २ हजार २०० बिन्दुमा आइपुगेको छ । बैंकिङ्ग प्रणालीमा विद्यमान तरलता संकट, विश्व बजारसँगै नेपालमा पनि बढेको ब्याजदर र अनुत्पादनक क्षेत्रको ट्यागले सेयर बजार वियरिस ट्रेण्डको चपेटामा परेको हो । बजारले ओरालो गति लिनुमा नेपाल राष्ट्र बैंकले धितोपत्र बजारप्रति लिउको नीति पनि प्रमुख कारण हो ।

बजारले वियरिस ट्रेण्ड लिनुमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको नीति नै प्रमुख रहेको सेयर बजारका अनुभवी लगानीकर्ताहरु बताउँछन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि सेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा ४ करोड र परिवारका थप ३ जनाले १२ करोड बराबर मात्रै सेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि सेयर बजारमा राम्रै गिरावट देखियाे ।

यसैगरी नेपाल राष्ट्र बैंकले ऋणीको नाममा रहेको सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको आधारमा गणना गर्ने व्यवस्था गर्यो । जसअनुसार सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था गर्यो । यसअघि १२० दिन रहेको उक्त मिति बढेपछि त्यसको असर समेत सेयर बजारमा देखियो ।  यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतबाट बढाएर भारित औसत १५० प्रतिशत कायम गरेका थियो । यसले पनि बजारलाई वियरिस ट्रेण्डमा लैजान भुमिका खेलेको छ । सेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैंक सेयर बजार मैत्री नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सडक आन्दोलमा समेत होमिन पुगे ।

उच्च ओहोदामा बसेका राजनैतिक व्यक्तिहरुको अभिब्यक्तिबाट पनि बजार घट्नमा सहयोग पुगेको छ । नेकपा माओवादी केन्द्रका ‘प्रचण्ड’ले एक प्रसङ्गमा विश्व सेयर बजार र एकाधिकार पूँजीपतिको अर्थराजनीतिक विषयमा गरेको टिप्पणीलाई लिएर पनि सेयर बजार प्रभावित हुँदै घट्न पुग्यो ।

चालु आवको सुरुवातमा उपलब्ध भएको तरलताका कारण बैंकरहरुले अत्याधिक कर्जा प्रवाह गर्दा दोस्रो त्रैमाससम्ममा नै प्रणालीमा तरलता अभाव सुरु भयो । तेस्रो त्रैमासपछि प्राथमिकता प्राप्त क्षेत्रमा बाहेक कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगको बैंकहरुको सीडी रेसियो अहिले पनि औषतमा ९१ प्रतिशत रहेको छ । अमेरिका बेलायत लगायत सबैजसो देशका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । हालै मात्र अमेरिकी केन्द्रीय बैंक फेडले दुई दशक यताकै उच्चतम ०.५ प्रतिशतले बढाएको छ भने बेलायतले पनि बढाउने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालमा पनि ब्याजदर बढ्ने संकेत गरिसकेका छन् भने बैंकरहरुले सार्वजनिक कार्यक्रममा नै चालु आर्थिक वर्षको अन्त्यसम्मै तरलता सहज नहुने अभिव्यक्ति दिइसकेका छन् । यस्तो अवस्थामा सेयर बजार थप प्यानिक हुनबाट जोगिने अवस्था छैन ।

मुद्रास्फीति नियन्त्रणको लागि फेडरल रिजर्भले बढायो ०.५ प्रतिशत ब्याजदर

बेलायती केन्द्रीय बैंकले पनि औसत ब्याज दर बढाउँदै

चालु आर्थिक वर्षसम्म तरलता अभावको समस्या सहज नहुने

प्रविधिको सहजता र प्रथामिक र दोस्रो बजारमा बढोत्तरी हुँदै गएको लगानीकर्ताको संख्याका बाबजुत यी र यस्तै अनेकौं घटना, परिघटना तथा अभिब्यक्तिका कारण बजारमा उल्लेख्य रुपमा उचाईमा चढेको बजार त्यसपछि क्रमशः ओरालो यात्रामा लागेको हो । हाल बजार ब्याजदर वृद्धि, अनुत्पादक क्षेत्रको हवाल दिँदै नीति निर्माता तथा सरोकारवाला नियकायबाट सेयर कर्जामा विविध क्षेत्रमा गरिएको कडाई र लगानीकर्ताको खस्कँदो मनोबलको कारण नाजुक अवस्थामा पुगेको छ । दैनिक २१ अर्बको कारोबार हुने बजार १ अर्बमा झरेको छ भने यस क्षेत्रबाँट सरकारले पाउने राजश्वमा समेत उच्च गिरावट आएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेसँगै समग्र नेप्से नेप्से राताम्मे भएको हो ।  बिहीबार १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । यसदिन २३२ कम्पनीका ३४ हजार २६० वटा संख्याबाट ४६ लाख ७४ हजार ९४० कित्ता सेयर खरीद बिक्री भएका छन् ।

यसदिन आठ उपसमुहगत सूचक २ प्रतिशतभन्दा भन्दा धेरैले घटेको छ । ब्यापार, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र लगानी सूचकमा २ प्रतिशत अधिक गिरावट आएको हो ।

आज सूर्या लाइफ इन्स्योरेन्स कारोबारको शीर्ष स्थानमा रहेको छ । कम्पनीको सर्वाधिक ८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैकको ६ करोड ७३ लाख तथा नबिल बैंक, हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरको ४ करोड बढीको सेयर खरीद बिक्र भएको छ । नेपाल बैंक, शिवम् सिमेन्टस्, निफ्रा र एनसीसी बैंक संस्थापक सेयरको ३ करोड माथि कारोबार भएको छ ।

आज जाल्पा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात १३८.२० रुपैयाँ बढेर १५२०.६० रुपैयाँ पुगेको हो । एनआईसी एशिया सेलेक्ट फण्डको इकाई र आरएमडिसी लघुवित्तको सेयरमूल्य १ प्रतिशतभचन्दा धेरै २ प्रतिशतभन्दा कम घटेको छ ।

उता आज धेरै गुमाउने सूचीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् । शीर्ष दश गुमाउने कम्पनीको सूचीमा आठ यसै समुहका छन् । एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ७.१३ प्रतिशत घटेर ३४५.४० रुपैयाँमा झरेको छ ।

यस्तै घलेम्दी हाइड्रोपावर, मैलुङखोला, शिवश्री, युनियन, ग्रीन भेञ्चर्स, पन्चकन्या माई र बुद्धभुमी हाइड्रोपावर नेपालको सेयरमूल्य ६ प्रतिशतभन्दा धेरै घट्दा नेपाल फाइनान्स र लिवर्टी इनर्जी लिमिटेडका सुेयरधनीले पनि करिब ६ प्रतिशत हाराहारीमै गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।