बैंकिङ क्षेत्रले पैसा मात्र कमाउने होइन : पवन गोल्यान


बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रले पैसा  कमाउन मात्र ध्यान दिन नहुने बताएका छन् । उनले बैंक वित्तीय संस्थाले देशको अवस्था अनुसारका काम पनि गर्नुपर्ने औंल्याएका हुन् । 

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै अहिलेको अर्थतन्त्रको अवस्था अनुसार संकुचित मोनिटरी पोलिसी ल्याउनु पर्ने बताए । उनले वर्तमान अवस्थामा आयात निरुत्साहन गर्ने तथा आन्तरिक उत्पादन बढाउने गरी आगामी आवको मौद्रिक नीति ल्याउनुपर्ने सुझाएका हुन् । 

बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै उनले भने, “बैंक वित्तीय संस्थाको लगानी आन्तरिक उत्पादन विस्तारका लागि परिचालन गर्न एकोहोरो अङ्कको ब्याजदर राख्नुपर्छ ।” हालको अस्वभाविक ब्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाएर निर्यातमा जोड दिने गरी मौद्रिक नीति आउनुपर्ने उनको भनाइ छ । 

मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न स्रोतको व्यवस्थापन गर्न समेत उनले सुझाए । नेपालका मौलिक उत्पादनलाई बढाउने तथा बजारीकरण गरेर निर्यातमा जोड दिनुपर्ने तर्क गर्दै उनले भने, “विश्वमै माग भएका हाम्रा मौलिक वस्तुहरूलाई निर्यात गर्नेतर्फ जानुपर्छ ।”

अल्लोको कपडाको माग विश्व भरी नै रहेको बताउँदै उनले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तर्क गरे । त्यसका साथै अलैँची अदुवा जस्ता उत्पादनलाई पनि बढाउने र निर्यात बढाउन सके ब्यापार घाटा कम गर्न सकिने उनले औंल्याए । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहीबार  १९ : ४२ बजे