लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यात लगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्तमान सरकार गठन भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण प्रगति भएको छ । एक वर्षको अवधिमा सरकारले ऊर्जा क्षेत्रमा देखिने र अनुभव गर्ने गरी कार्य गरेको छ । त्यसले नेपालको अर्थतन्त्रको विकासमा दीर्घकालीन प्रभाव पर्नेछ ।
बाइस साना ठूला जलविद्युत् आयोजनाबाट प्रणालीमा ७५० मेगावाट बिजुली थप
वर्तमान सरकार गठन भएपछि प्रणालीमा ७५० मेगावाट बिजुली थप भएको छ । चालु आवको बजेटमा कूल १ हजार ३०० मेगावाट बराबरको बिजुली थप हुने प्रक्षेपण गरिएको थियो । त्यसमध्ये विसं २०७८ मा कूल २२ साना ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न भए । त्यसबाट कूल ७५० मेगावाट बिजुली थप भएको थियो । वैशाखमा र जेठमा मात्रै थप केही आयोजनाले बिजुली प्रणालीमा थप गरेका छन् ।
सरकारले तय गरेको लक्ष्यको झण्डै ५० प्रतिशतभन्दा बढी हिस्सा बराबरको बिजुली प्रणालीमा थप भइसकेको छ । औद्योगिक घरानाका रूपमा परिचित विशाल समूह र त्रिवेणी समूहको संयुक्त लगानीको ५२.४० मेगावाटको लिखु–४ पनि यसै वर्ष प्रणालीमा थप भयो ।
आइएमई समूहको लगानी रहेको मिस्त्री खोलाबाट ४२ मेगावाट, एमभी दुगड समूहको लगानी रहेको २४.२० मेगावाटको लिखु खोला ‘ए’ पनि निर्माण सम्पन्न भएका छन् । प्राधिकरणका अनुसार २० मेगावाट क्षमताको तल्लो मोदी, ११ मेगावाटको खारेखोला, २५ मेगावाटको सिङ्गटी खोला र अपर चाकुखोला ‘ए’ बाट २२.२० मेगावाट बिजुली पनि प्रणालीमा जोडियो । जलविद्युत बाहेक सोलार प्रविधि र चिनी उद्योगबाट पनि बिजुली वर्तमान सरकार गठन भएपछि नै थप भएको हो ।
प्रणालीमा उपलब्ध भएको बिजुलीको मात्रा हेर्दा यो नै हालसम्मकै उच्च हो । झण्डै ११० वर्षमा नेपालको बिजुलीको उत्पादन एक हजार मेगावाट बराबरको हाराहारीमा रहँदै आएको अवस्थामा एक वर्षमा नै ७५० मेगावाट बिजुली थप हुनु आफैंँमा ठूलो उपलब्धि हो । प्रसारण प्रणालीको सहज उपलब्धता हुने हो भने दोर्दी करिडोरबाट मात्रै थप १०० मेगावाट बिजुली तत्कालै थप हुने अवस्था छ ।
रामेछापमा १९ मेगावाट बिजुली प्रणालीमा उपलब्ध गराउन वैकल्पिक व्यवस्था गरिएको छ । बिजुली उत्पादनमा गुणात्मक वृद्धि भएपछि नेपालको कूल जडित क्षमता दुई हजार ३०० मेगावाट बराबर पुगेको छ । तामाकोशी निर्माण सम्पन्न हुनु अगाडि वर्षाको समयमा भारतबाट बिजुली आयात गर्नुपरेको थियो ।
वर्षायाममा बिजुली खेर जाने तथा हिउँद लागेपछि भने बिजुलीको हाहाकार देखिने अवस्था पनि देखियो । रूस र युक्रेनको संघर्षको बाछिटा नेपालको ऊर्जा क्षेत्रमा समेत पर्न गयो । एकातिर अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव देखियो भने इन्धनको मूल्यवृद्धिको असर पनि उत्तिकै पर्न गयो ।
बिजुलीको महसुल घटे पनि प्राधिकरणले प्राविधिक चुहावटमा गरेको कडाइ, बक्यौता भुक्तानी गराउन चालेको प्रयास, चोरी नियन्त्रणमा गरेको कारबाहीका कारण चालु आवको ६ महिनामा नै वित्तीय विवरण (अपरिस्कृत) अनुसार १२ अर्ब १२ करोड रुपैयाँ बराबरको नाफा कमाउन सफल भयो । प्राधिकरणको गत आव २०७७।७८ को यसै अवधिमा ६ अर्ब १८ करोड रुपैयाँ मात्र नाफा रहेको थियो ।
तामाकोशीबाट ऊर्जा क्षेत्रमा मानक स्थापना
वर्तमान सरकार गठन भएपछि स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्णरुपमा सञ्चालनमा आयो । सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो ।
प्राधिकरणका अनुसार सो आयोजना सम्पन्न हुँदा मनसुनको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर हुन पुग्यो । झण्डै पाँच घण्टा पिकिङ गर्न मिल्ने भएकाले पनि सो आयोजना नेपालको ऊर्जा प्रणालीका लागि महत्वपूर्ण सावित भएको छ । विसं २०७८ असार २१ गते सो आयोजनाको सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन । आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउन वर्तमान सरकार गठन भएपछि थप पहल गरियो ।
स्वदेशी लगानीमा नै निर्माण सम्पन्न भएको सो आयोजनाले नेपालीले पनि ठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सार्थक प्रयत्न गर्न सक्छन् भन्ने तथ्य स्थापित गरिदिएको छ । समय र लागत बढी लागे पनि आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा मानक स्थापना गरेको छ । नेपालको बिजुली बङ्गलादेशको बजारसम्म पु¥याउनका लागि पनि आवश्यक पहल र प्रयत्न भएको छ ।
प्रसारण लाइन धमाधम सम्पन्न
प्राधिकरणका अनुसार लामो समयदेखि अनेक समस्याको चक्रब्यूँहमा फसेका केही महत्वपूर्ण प्रसारण लाइनको निर्माण सम्पन्न भएका छन् । कोशी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन वर्तमान सरकार गठन भएपछि नै पूरा भयो । सो आयोजनाको निर्माण सकिँदा करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने संरचना तयार भएको छ ।
जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको कानुनी दायराभन्दा बाहिरका मागका कारण समस्यामा फसेको सोलु करिडोर १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । समुन्द्रटार त्रिशुली १३२ केभी प्रसारण लाइन, दाना कुश्मा प्रसारण लाइनको पहिलो खण्डको काम यसै वर्ष सकिएको छ । धादिङको सिद्धलेक गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा केही टावर निर्माणमा भएको अवरोध फुक्दा काठमाडौँ–मस्र्याङ्दी २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
केही रणनीतिक महत्वका प्रसारण लाइन निर्माण सम्पन्न भएपनि हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन । सो प्रसारण लाइन निर्माणको अवरोध यहीँ असार २१ गते सर्वोच्च अदालतले मार्गप्रशस्त गरिदिएको छ । यस्तै, भरतपुर–बर्दघाट प्रसारण लाइन अवरोध समेत सर्वोच्च अदालतले खुलाइदिएको छ ।
विद्युत् व्यापारमा फड्कोः साढे दुई अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात
गज्र्याङ–खिम्ती प्रसारण लाइन, भरतपुर–बर्दघाट प्रसारण लाइन अझै पूरा भएको छैन । कतै बन क्षेत्रको जग्गा प्रयोगमा जटिलता उत्पन्न भएको छ भने कतै अदालतमा मुद्दा परेका कारण प्राधिकरणले काम गर्न पाएको छैन । यद्यपि, एक दर्जन बढी विभिन्न क्षमताका सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
नेपालको कूल ९४ प्रतिशत घरधुरीमा प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली पुगेको छ । बाँकी रहेका ६० स्थानीय तहमा पनि निकट भविष्यमा नै केन्द्रीय प्रणाली मार्फत बिजुली उपलब्ध गराउन प्रयास जारी छ । कर्णाली प्रदेशका मुगु, हुम्ला, डोल्पा र सुदूरपश्चिम प्रदेशमा पहाडी क्षेत्रमा बिजुली पु¥याउनका लागि प्राधिकरणले २५ अर्ब बराबरको बजेट खर्च गर्ने गरी आवश्यक प्रबन्ध भएको छ । प्रतिव्यक्ति बिजुली खपत दर पनि ३०० किलोवाट घण्टा बराबर पुगेको छ ।
उच्च क्षमताका प्रसारण लाइन मार्फत बिजुली
प्राधिकरणले यस वर्ष उच्च क्षमताका प्रसारण लाइन मार्फत बिजुली उपलब्ध गराउन अभियान नै सञ्चालन ग¥यो । प्राधिकरणले १३२ केभी क्षमताका प्रसारण लाइन मार्फत बिजुली उपलब्ध गराउने प्रस्ताव ग¥यो । प्राधिकरणको नेतृत्वको सार्थक प्रयासका कारण थप ३०० मेगावाट बराबरको थप बिजुली माग हुन पुग्यो ।
बिजुली विदेशमा बिक्री गर्ने होइन, आन्तरिक रूपमा नै खपत बढाउने योजनालाई प्राधिकरणले अभियानका रूपमा अगाडि बढायो । प्राधिकरणले पहिलो पटक सिमेन्ट, डन्डी तथा उच्च बिजुली माग हुने ठूला उद्योगहरूलाई १३२ केभी प्रसारण लाइन मार्फत उपलब्ध गराउन थाल्यो ।
यसैगरी लामो समयदेखि विवादको भूमरीमा फसेको अमेरिकी सहयोग परियोजना एमसिसी गत फागुन १५ गते प्रतिनिधि सभाबाट स्वीकृत भयो । यो पनि नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोशेढुङ्गा स्थापित हुने विश्वास लिइएको छ । एमसिसीको सहयोगमा निर्माण हुने ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनले सात हजार मेगावाट बराबरका आयोजनाका लागि आर्थिक रूपमा सम्भाव्य बनाइदिएको छ ।
कुलमानलाई प्राधिकरणको जिम्मा
वर्तमान सरकार गठन भएपछि प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः घिसिङको प्रवेश भयो । झण्डै एक वर्षपछि प्राधिकरण फर्किएका घिसिङले बिजुलीको खपत बढाउने लगायत केही रणनीतिक योजना अगाडि सारेका छन् ।
सरकारले उनलाई चार वर्षका लागि प्राधिकरणको नेतृत्व सम्हाल्ने अवसर दिएको छ । विसं २०७७ भदौ २९ गते पहिलो कार्यकाल सम्पन्न गरी बिदा भएका घिसिङ २०७८ साउन २७ गते दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा पुनः फर्केर आए । पहिलो कार्यकालमा लोडसेडिङको अन्त्य गरेर जति लोकप्रियता कमाएका घिसिङको दोस्रो कार्यालयमा बिजुलीको खपत बढाउने, प्रसारण लाइनको निर्माण एवं विस्तार तथा बढी भएको बिजुली क्षेत्रीय बजारमा पु¥याउने लगायतका चुनौती पनि छन् ।
बुढीगण्डकी आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय
लामो राजनीतिक रस्साकस्सीका बीचमा सरकारले यही असार १४ गते बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको छ । सो आयोजना कम्पनी मोडलमा निर्माण गर्ने सम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो ।
कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सरकारले सेयर संरचना समेत तयार पारेर कम्पनी मोडलमा निर्माण गर्ने गरी आवश्यक निर्णय गरेको छ । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । सरकारले हालसम्म आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।
पूर्वाधार कर वापत ७० अर्बभन्दा बढी सङ्कलन
आयोजनाका लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगम मार्फत ७० अर्बभन्दा बढी सङ्कलन गरेको थियो । पछिल्ला दिनमा भने सो कर उठाउन बन्द गरिएको छ । लामो समयसम्म चिनियाँ कम्पनी गेजुवाले होल्ड गरेर राखेको सो आयोजना वर्तमान सरकारले स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो ।
कम्पनीको अधिकृत पूँजी ६० अर्ब रुपैयाँ बराबरको हुनेछ । सो पूँजीलाई प्रतिसेयर १०० रुपैयाँका दरले कूल ६० करोड कित्ता साधारण सेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी २० अर्ब रुपैयाँ बराबरको हुनेछ । कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी १० अर्ब रुपैयाँ बराबर रहने छ । कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत बराबरको सेयर हिस्सा अर्थात १५ करोड कित्ता बराबर रहनेछ ।
अरुण चार र पश्चिम सेतीअघि बढाइँदै
लगानी बोर्डको यही असार ६ गते बसेको बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसीलाई निर्माण गर्ने गरी जिम्मा दिइएको छ । लामो समयदेखि चर्चामा रहेको सो आयोजना भारतीय कम्पनीलाई निर्माणका लागि जिम्मा दिइएको हो । जलाशयुक्त सो आयोजनाले पश्चिम नेपालको समृद्धिको ढोका खोल्ने विश्वास लिइएको छ ।
कूल ६९५ मेगावाट क्षमताको अरुण ४ अर्धजलाशयुक्त आयोजना अरुण तेस्रो र तल्लो अरुण निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै निर्माण गर्ने गरी सम्झौता भएको छ । यी र यस्ता केही महत्वपूर्ण उपलब्धि वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा भएका छन् ।
पछिल्ला दिनमा निजी क्षेत्रको माग बमोजिम नै विद्युत् खरिद सम्झौता (पिपीए) गर्ने निर्णय समेत भएको छ । वर्तमान सरकार गठनपछि मुलुकको ऊर्जा क्षेत्रको विकास र सम्वद्र्धनमा देखिएको प्रगतिसँगै देशको समग्र आर्थिक विकासमा सुधारका सङ्केत आएको देखिन्छ ।
पच्चिस लाख ग्राहक महसुल छुटबाट लाभान्वित
वर्तमान सरकार गठन भएपछि एक वर्ष अवधिमा बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म उल्लेख्य प्रगति भएको छ ।
लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यात लगायत एक वर्षको अवधिमा सरकारले ऊर्जा क्षेत्रमा देखिने र अनुभव गर्ने गरी कार्य गरेको छ । त्यसले नेपालको अर्थतन्त्रको विकासमा दीर्घकालीन प्रभाव पर्नेछ ।
संविधान प्रदत्त समाजवादको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले एकै पटक २५ लाख ग्रामीण क्षेत्रका ग्राहकले ३० रुपैयाँ मात्रै तिरे हुने गरी २० युनिट बिजुली प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणका करिब २२ लाख र सामुदायिक मार्फत थप तीन लाख ग्राहकले त्यस्तो सुविधा पाएका छन् । आगामी आवमा त्यसको मात्रामा झनै वृद्धि गर्ने सरकारको तयारी छ । मन्त्री भुसालले विपन्न नागरिकलाई राहत दिने लक्ष्यका साथ त्यस्तो निर्णय गरिएको प्रतिक्रिया दिएकी छिन् । गत मङ्सिरदेखि नै सो व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।
मन्त्री भुसालले कृषि क्षेत्रको उत्पादकत्व बढाउने लक्ष्यका साथ विद्युत् महसुलमा ५० प्रतिशत बराबरको छुट दिने प्रबन्ध गरेकी हुन् । स्यालो ट्यवेल सिमान्तकृत र साना कृषकको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत् बढी माग हुने समयमा महसुलमा छुट दिइएको छ । त्यस घोषणालाई विद्युत् नियमन आयोगको अनुमतिपछि कार्यान्वयनमा आइसकेको छ । सो व्यवस्थाबाट तीन लाख ८८ हजार घरधुरीका कृषकले राहत पाएका छन् ।
सरकारको यस्तो प्रबन्धपछि स्वतःस्फुर्तरुपमा ट्यवेल जडानमा प्रोत्साहन मिलेको छ भने सिञ्चित क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ । डिप ट्यवेलमा विद्युत् बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइएको छ । त्यसबाट ट्यवेल पूर्ण क्षमतामा सञ्चालन हुँदा ७५ हजार बढी कृषकले सहज रुपमा कृषि कर्म गर्न पाएका छन् । सतहको पानी लिफ्ट गरेर कृषि कर्म गर्ने किसानलाई विद्युत् बढी माग हुने समयमा ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया