सर्वोत्तमको आईपीओ स्वीकृत, सर्वसाधारणले आईपीओ भर्न न्यूनतम १८ हजार जोहो गर्नुपर्ने

0
Shares

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) स्वीकृत भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ३ गते मंगलबार कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।

सेबोनले कम्पनीलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता सेयर निष्कासनको लागि अनुमति दिइएको हो । सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् सर्वसाधारणलाइ आइपीओ निष्कासन गर्न २०८० मङ्सिर १८ गते सोमबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ्ग विधि मार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन अनुमति पाएकाले ५० कित्ता सेयर खरिदका लागि आवेदन दिँदा प्रतिआवेदक न्यूनतम १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ । अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्ता मात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयर भने न्यूनतम ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन ।

कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली र आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको अनुमति पाएको हो । यसअघि नै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर निष्कासन तथा बाँडफाँड गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ४०१ देखि ६५० रुपैयाँसम्मको बिक्री मूल्य सीमा राखेर बोलकबोल गरेकोमा ४०१ रुपैयाँमा कटअफ कायम भएको थियो । उक्त कटअफका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासनपछि बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।

सर्वोत्तमको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित थप समाचारहरू:-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।