विश्वभरका एजेन्डा लिएर अध्यक्षमा उम्मेदवारी दिएको आरके शर्माको घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन्।

क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएकोप्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् । शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना रहेको बताए। आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पूरा गर्ने पनि शर्माले बताए। ‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ। मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्ने मात्रै हो’, उनले भने, ‘सबै साथीहरू सकारात्मक पनि हुनुहुन्छ।’

उनले आफूलाई अमेरिका, अष्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रिया आइसकेको भन्दै पुरै टिमले चुनाव जित्ने विश्वास व्यक्त गरे। शर्माले एनआरएनएको उद्देश्य पूरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताए। राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले कार्य गर्दै आएको पनि शर्माले बताए।

२४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको बताए । ‘केही समययता, गैरआवासीय नेपाली महासंघमा एकता छैन। त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पु¥याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। मैले निरन्तर प्रयास गरिरहेको छु। एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु।’

पत्रकार सम्मेलनमा शर्मालाई समर्थन गर्दै एनआरएनए निर्वाचनका पदाधिकारीहरूले आफ्नो धारणा सार्वजनिक गरेका थिए। कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न जरुरी रहेको बताए । अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।