थाई एयरले पुनः थाल्यो काठमाण्डौं–ब्याङ्कक उडान


थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले काठमाण्डौं–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाण्डौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो ।

कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले उडान पुनःसुरु गरेको छ ।

यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाण्डौं उडान अाइतबारदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो । थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ ।

कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।

‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार  ०६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।