आलुको आयात १ अर्ब रुपैयाँले घट्यो, प्याज आयातमा पनि गिरावट, राजस्व संकलनमा भने वृद्धि


अन्य देशहरुबाट हुने आलुको आयतमा १ अर्ब रुपैयाँले कमी आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८०\८१ को ६ महिनाको अवधिमा ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरको १८ करोड ३५ लाख केजी आलु आयात भएको छ ।

जुन गत आर्थिक वर्ष २०७९\८० को सोही अवधिको तुलनामा १ अर्ब रुपैयाँले कम हो । गत आर्थिक वर्ष ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ बराबरको २१ करोड २१ लाख केजी आलु आयात भएको थियो ।

सरकारले आर्थिक वर्ष ०८०\८१ को बजेटमार्फत बाहिरबाट ल्याइने आलुमा १३ प्रतिशत भ्याट लगाएपछि यसको आयातमा पनि गिरावट आएको हो । सरकारले बजेट मार्फत आलु, प्याज लगायत बोडी, सिमी, कोसे तरकारी, केराउ, पालुंगो लगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेको थियो । आलु विषेश गरी भारतबाट आयात गर्ने गरिएको छ ।

यता, आलुको आयातमा कमी आएपनि राजस्व संकलनमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षमा सरकारले आलु आयातबाट १ अर्ब १४ करोड ५५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा भने ५७ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । समिक्षा अवधिमा आलु आयातबाट हुने राजस्व संकलन २ गुणाले बढेको छ ।

यस्तै, भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ९५ लाख रुपैयाँ बराबरको २ लाख २४ हजार किलो व्याज आयात भएको छ । जुन गत वर्षको भन्दा ५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ करोड ४ लाख रुपैयाँ बराबरको ११ लाख ४० हजार किलो प्याज आयात भएको छ ।

यता, प्याज आयातबाट चालु आर्थिक वर्षमा ९९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षमा ९३ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार  ०८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।