बैंकिङ्ग क्षेत्रमा सुधारको संकेतः निक्षेप र कर्जा दुवैमा वृद्धि


काठमाडौँ । बैकिङ्ग क्षेत्रमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बैक तथा वित्तीय क्षेत्रको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा उत्साहजनक वृद्धि देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय तथ्यांक अनुसार बैंक तथा वित्तीय सस्थाहरुमा बचत बढेको छ भने आर्थिक गतिविधि विस्तारको लागि कर्जाको माग पनि बढेको हो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको सुरु २०८१ साउन १ मा कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रहेकोमा २०८२ असार १ सम्ममा यो रकम बढेर ७० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

यो ११ महिनाको अवधिमा कुल निक्षेपमा ५ खर्ब ९ अर्ब रुपैयाँले वृद्धि भएको हो, जुन करिब ७.८ प्रतिशतको वृद्धि हो । राष्ट्र बैंकका अनुसार केहि महिनामा उतारचढाब आए पनि समग्रमा निक्षेप संकलन निरन्तर उकालो लागेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाहमा पनि निरन्तर वृद्धि भएको छ । चालु आर्थिक वर्षको सुरुमा ५१ खर्ब ७० अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी बढेर ५५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा कुल कर्जा प्रवाह ३ खर्ब ९७ अर्ब रुपैयाँ अर्थात ७.७ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाहको निरन्तर र स्थिर वृद्धिले बजारमा आर्थिक क्रियाकलाप चलायमान भएको संकेत गर्दछ ।

निक्षेप र कर्जाबिचको अन्तरले बैंकिङ्ग प्रणालीमा तरलताको अवस्थालाई पनि बढेको देखाँउछ । चालु आर्थिक वर्षको सुरुमा निक्षेप र कर्जा बिचको अन्तर १३ खर्ब २६ अर्ब रहेको थियो । अहिले यो अन्तर १४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । यसले बैंकहरुमा लगानीयोग्य पूँजी अर्थात तरलता बढेको देखाँउछ । यसले भविष्यमा थप कर्जा प्रवाह गर्न सहज हुने देखिन्छ ।
यो तथ्यांकले देशको अर्थतन्त्रमा निरन्तर स्थायित्व र वृद्धि दुवै कायम रहेको देखाँउछ ।

चालु आर्थिक वर्षमा मासिक रुपमा निक्षेप र कर्जाको अवस्थाः

चालु आवको भदोमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप केहि घटेर ६४ खर्ब ४७ अर्ब रुपैयाँ हुँदा कर्जा प्रवाह ५१ खर्ब ७३ अर्ब रुपैयाँ थियो । असोजमा निक्षेप ६५ खर्ब २८ अर्ब रहेकोमा कर्जा प्रवाह ५२ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको थियो । कार्तिकमा निक्षेप रकम ६६ खर्ब ६२ अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाह ५२ खर्ब ९६ अर्ब रुपैयाँ थियो । मंसिरमा निक्षेप केहि घटेर ६६ खर्ब ४४ अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाहमा पनि केहि कमि आएर ५२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो ।

पुसमा आएर निक्षेप र कर्जा प्रवाह दुवै बढेर क्रमशः ६६ खर्ब ८१ अर्ब रुपैयाँ र ५३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको थियो । माघमा निक्षेप रकम बढेर ६७ खर्ब ३८ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा पनि वृद्धि भएर ५४ खर्ब ३७ अर्ब पुगेको थियो । यस्तै फागुनमा निक्षेपमा कमि आएर ६७ खर्ब ३२ अर्ब र कर्जा प्रवाह बढेर ५४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको चैत सुरुमा निक्षेप ६७ खर्ब ६९ अर्ब र कर्जा प्रवाह ५४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको वैशाख १ मा बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप रकम ६८ खर्ब ६१ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको थियो । जेठ १ मा आएर निक्षेप रकम ६८ खर्ब ८५ अर्ब रुपैयाँ र कर्जा प्रवाह भने केहि घटेर ५५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  ०७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।