सिँचाई आयोजनाहरु समयमै सम्पन्न नहुँदा तराईमा सुख्खा : रोपाई प्रभावित हुँदा खाद्य संकटको चेतावनी, किसान आक्रोशित


काठमाडौँ । समयमै पानी नपर्दा र सरकारी उदासीनताका कारणले गर्दा यस वर्ष मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा धान रोपाई गम्भीर रुपमा प्रभावित भएको छ । साउनको दोस्रो हप्तासम्म पनि पानी नपर्दा खेतहरु सुख्खा र मरुभुमि जस्तै बनेका छन् । जसले गर्दा किसानहरु गहिरो चिन्ता र आक्रोशमा छन् । समयमै सिँचाई आयोजनाहरु सम्पन्न नहुनु र भ्रष्टाचार मौलाउनुले यो संकटलाई थप जटिल बनाएको उनीहरुको आरोप छ ।

सरकारका नेतृत्व कर्ताहरुले काम नगर्ने ठेकेदारलाइृ संरक्षण गरेको र सिँचाई आयोजनाहरुमा भ्रष्टाचार गरेर खाद्य संकट निम्त्याएको आम किसानहरुको आरोप छ । धान रोपाईको समयमा पानी नपरेपछि मधेश प्रदेशका अधिकांश भूभागमा रोपाई हुन सकेको छैन् । रोपाइृ भएको स्थानमा पनि समयमै पानी नपर्दा सुख्खा भएको छ । असार १५ आउँदा खेत सिँच्याएर धान रोप्ने गरेका भएपनि अहिले रोपाइृ हुने खेत मरुभूमी जस्तै भएका सिराहाका किसान रामलाल यादवको भनाई छ । पहिले यतिबेला खेत हरियाली हुने गरेकोमा अहिले मरुधूमि जस्तै भएको र ब्याडमा राखेको बिउ पनि काम नलाग्ने हुन लागेको यादवको दुखेसो छ ।

विशेष गरेर सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा पर्सा लगायतका जिल्लाका रोपाइृ हुने खेतहरुमा धुलो उडिरहेको छ । यी जिल्लाहरु नेपालको प्रमुख धान उत्पादन हुने क्षेत्रमा पर्दछन् । तर अहिले यहाँका खेतहरु बाँझै छन् । किसाानहरुले यो संकटलाई केवल प्राकृतिक मात्र नभएर मानव निर्मित पनि मानेका छन् । उनीहरुका अनुसार सरकारले जलवायु परिवर्तनको असरलाई मध्यनजर गरेर समयमे सिँचाईको वैकल्पिक व्यवस्था गर्न नसक्नु मुख्य कमजोरी हो ।

वर्षाैदेखि निर्माणाधीन अवस्थामा रहको सिँचाई आयोजनाहरुमा ढिलासुस्ती र भ्रष्टाचारले आफुहरुको पिडामा नुनचुक छर्ने काम भएको किसानहरुको भनाई छ । सरकारका मान्छै र ठेकेदारको मिलेमतोमा आयोजनाहरु अल्पत्र पारिन्छ । काम नगर्ने ठेकेदारलाई कारबाही हुनुको सट्टा संरक्षण गरिन्छ । जबसम्म भ्रष्टाचारको अन्त्य हुँदैन आफूहरुको अवस्था नबदलिने उनीहरुको भनाई छ । किसानहरुले वर्षाैदेखि सिँचाइृ आयोजनाहरुमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । समयमै रोपाई गर्न नसक्दा अन्न उत्पादनमै असर पर्ने सिराहाका किसान अमिरलाल यादवको गुनासो छ । धान दिवसमा नेताहरु किसानको पिडा नबुझेर स्टन्ट देखाउन फटोसेसन गरेको उनको भनाई छ । धान दिवसमा नेताहरुले तमाशा देखाउन फोटोसेसन गरेर समाजिक सञ्चाल भरेको उनको भनाई छ ।

साथै उनी भन्छन्, “धान दिवसमा नेताहरु खेतमा झरेका त देख्यौँ तर हामीलाई सिचाईको सुविधा नहुँदा सिराहामा हालसम्म ६ प्रतिशत मात्र धान रोपाई सकिएको छ । तर किसानहरुको समस्या नत स्थानीय सरकारले बुझेको छ । नत संघ सरकारले । कतिपय किसानहरु स्थानीस्तरमै महँगो मूल्य तिरेर मल खरिद गर्न बाध्य छन् ।

कृषि विज्ञहरुले धान उत्पादनमा आउने यो गिरावटले खाद्य सुरक्षामा गम्भीर असर पर्ने कृषि विज्ञ शुसूलराज सुवेदीको भनाई छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण छ । उत्पादनमा गिरावट आउँदा किसानहरुको आयस्रोत घट्ने र चामलको आयात बढ्ने देखिन्छ । जसले देशको व्यापार घाटालाई अझ फराकिलो बनाउनेछ । यसले बजारमा चामलको मूल्य वृद्धि भएर आम उपभोक्तालाई समेत प्रत्यक्ष मारमा पार्ने छ ।

समग्रमा तराई मधेशको यो सुख्खा केवल बिसानको खेतमा मात्र सिमित छैन । यो सरकारको नीतिगत कमजोरी, विकास आयोजनाहरुमा व्याप्त ढिलाइ बेथिति र जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीको संयुक्त प्रतिबिम्ब हो । यदि सरकारले तत्काल अल्पकालीन राहत र दीर्घकालीन समाधानको लागि सिँचाई पूर्वाधारमा इमान्दार प्रयास र लगानी गरेन भने आउँदा दिनमा खाद्य संकटको अवस्था निम्तिन सक्ने खतरा बढेको छ ।

 

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।