काठमाडौँ । देशभरि बाढीपहिरोलगायत विभिन्न कारणले बर्सेनि विभिन्न जलविद्युत् गृहहरूमा क्षति पुर्याउने र विद्युत् उत्पादन तथा प्रसारणमा अवरोध सिर्जना हुने गरेको छ । यस्ता क्षतिका घटनाहरू बर्सेनि दोहोरिरहँदा ‘सोलार पावर प्लान्ट’को चर्चा बढ्न थालेको छ ।
बाँझो रहेको र अनुत्पादक जमिनमा सोलार प्लान्ट स्थापना गरेर ऊर्जा उत्पादन र विकासमा नयाँ सम्भावनाको ढोका खोल्न सकिने विज्ञहरूको भनाइ छ । नेपालका थुप्रै क्षेत्रमा रहेको बाँझो र अनुत्पादक जग्गा अब राष्ट्रको ऊर्जा आवश्यकता पूरा गर्ने स्रोत बन्ने सम्भावना देखिएको उनीहरूको तर्क छ । पछिल्लो समय सरकारले पनि निजी क्षेत्रको सहकार्यमा वैकल्पिक ऊर्जा उत्पादनमा जोड दिने घोषणा गरेको छ ।
यदि यसो गर्न सकिएमा नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासले तीव्रता पाउने जैविक ऊर्जा व्यवसायी संघका उपाध्यक्ष तथा इप्पानका सदस्य कुबेरमणि नेपाल बताउँछन् । नेपालको हिमाली तथा मध्यपहाडी क्षेत्रको धेरै जमिन हाल बाँझो अवस्थामा छ । खेतीयोग्य नभएका यस्ता जमिनमा औद्योगिक प्रयोजनका लागि सौर्य ऊर्जा प्लान्ट जडान गर्न सकिने नेपालको भनाइ छ । देशको बाँझो जमिनलाई उत्पादनशील बनाउनमा सौर्य प्लान्ट उत्कृष्ट विकल्प हुने उनको भनाइ छ ।
यसले एकातिर आयआर्जन बढाउन सघाउँछ भने अर्कातिर वातावरणमैत्री र कम खर्चिलो हुन्छ । जलविद्युत् उत्पादनमा आएको गिरावट र विद्युत् चुहावट रोक्न पनि उत्कृष्ट उपाय हुने देखिन्छ । साथै यसले मुलुकको दूरदराजमा रहेका दुर्गम बस्तीहरूमा रहेको ऊर्जा संकटलाई पनि कम गर्न सक्ने विज्ञहरूको बताउँछन् । बाँझो जमिनमा सौर्य प्लान्ट स्थापना गरेर रोजगारी सिर्जना, ऊर्जामा आत्मनिर्भरता र वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सकिने विज्ञहरूको भनाइ छ ।
बाँझो जमिनमा सौर्य प्लान्ट स्थापना गर्न सकेमा यसले मुलुकको ऊर्जा सञ्चिति बढाएर निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । अहिले नेपालमा ११० मेगावाटसम्म सौर्य ऊर्जा उत्पादन गरिएको नेपालले बताए । पछिल्लो समय विश्वका विभिन्न मुलुकहरूले यसको अभ्यास गरिरहेका छन् । हाम्रो छिमेकी मुलुक भारतले पनि यसमा ठुलो फट्को मारिसकेको छ । चीनले त विश्वमै सबैभन्दा ठुलो सौर्य प्लान्ट निर्माण गरेर विश्वलाई नै चकित पारेको छ । यद्यपि, सौर्य ऊर्जा परियोजना कार्यान्वयनमा केही चुनौती पनि रहेको विज्ञहरूको भनाइ छ ।
तर, जलविद्युत्को तुलनामा यसमा कम चुनौती हुने उनीहरू बताउँछन् । प्राविधिक जनशक्तिको अभाव, लगानीकर्ताको अभाव, स्पष्ट नीति नहुनु र दिगो योजना निर्माणका लागि आकर्षण कम हुनु यस क्षेत्रका मुख्य समस्या हुन् । तर, निजी क्षेत्र, सहकारी संस्था र स्थानीय सरकारहरूको सहकार्यमा यस्ता बाधाहरू पार गर्न सकिने नेपालले जनाए । नेपालमा वर्षको करिब ३०० दिन घाम लाग्ने भएकाले सौर्य ऊर्जाको विकास पनि एकदम राम्रो हुने देखिन्छ । यसका लागि नीतिगत स्पष्टता, अनुदान र सहुलियत ऋण सार्वजनिक र निजी साझेदारी आवश्यक छ ।
नेपालमा बाँझो जमिनमा सौर्य प्लान्ट लगाउने योजनाले नेपालमा नवीकरणीय ऊर्जा विकास र ग्रामीण समृद्धिको नयाँ दिशा देखाउनेछ । यस प्रविधिको सफल कार्यान्वयनका लागि आवश्यक स्रोत जुटाउने, प्रविधि हस्तान्तरण र जनचेतना अभिवृद्धिमा ध्यान दिनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । बाँझो जमिनको सदुपयोग गरेर ऊर्जा उत्पादन गर्ने प्रयासले देशलाई हरित ऊर्जा उपयोगमा अगाडि बढाउने उनीहरूको दाबी छ ।












प्रतिक्रिया