काठमाडौँ । गत २३ र २४ गते भएको भ्रष्टाचार विरुद्धको नयाँ पुस्ता (जेनजी) को प्रदर्शनले देश नै क्षतविक्षत भयो । त्यसमा होटलहरू पनि अछुतो रहन सकेनन् । आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति भएको अनुमान छ ।
काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी, दाङ लगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डसमेतका चर्चामा रहेका होटेलमा तोडफोड, आगजनी र लुटपाट भए ।
काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको छ । देशैभर करिब २५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान रहेको होटल संघ नेपालले जनाएको छ । यसै विषयमा देशभर रहेका होटलहरूको अवस्था र क्षतिबारे हामीले वरिष्ठ पर्यटन व्यवसायी तथा हाल पाटा अन्तराष्ट्रिय हेडक्याटरका उपाध्यक्ष सुमन पाण्डेसँग कुरा गरेका छौँ ।
जेनजीले गरेको दुई दिनको आन्दोलनले होटल व्यवसायीलाई कस्तो असर गरेको छ ? कति क्षति भएको छ ?
क्षतिको विवरण होटल संघले नै निकाल्छ । तर, अर्बौको क्षति भएको आँकलन गरिएको छ । हिल्टन होटल, वर्णवास होटल जस्ता भर्खरै बनेका होटलहरू खण्डहर भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । मोटामोटी १५ देखि २० अर्बसम्म क्षति भएको हुन सक्छ ।
जेनजीको आन्दोलन सरकार विरुद्धको थियो । तर होटलहरूलाई किन टार्गेट गरियो ?
भष्ट्राचार र कुशासनले गर्दा नागरिकमा नैराश्यता छाएको छ । नेपालमा पनि श्रीलंका, इन्डोनेसिया, बंगलादेश जस्तो रिभोलुसन गरिदिओस् भन्ने सबैको आशा थियो । देशमा परिवर्तन ल्याउन आवश्यक थियो । त्यसको लागि कहिले राजावादी निस्किए, कहिले को निस्किए । गएको सरकारले आगोमा घिउ हालेको जस्तो गरी सामाजिक सञ्जाल बन्द गरिदियो । यो नै जेनजी प्रदर्शनका लागि एउटा निउ भयो । आन्दोलनको नाममा लुटपाट गर्ने सक्रीय भएपछि उनीहरूको ध्यान बिजनेस हाउसतिर गयो । किनकी महंगो सरसामान, पैसा त होटल वा बिजनेस हाउसमा नै पाउँछन् । त्यसैले उनीहरू नै आक्रमणमा परे।
होटल आक्रमणमा पर्नुमा कसको कमजोरी छ ?
सुरक्षा दिनुपर्ने राज्यको शक्ति कमजोर छ, उसले आन्दोलनको सही विश्लेषण गर्न सकेन । केही महिना अगाडि भएको राजावादीको आन्दोलन सरकारले सजिलै दमन गर्यो । जेनजीको आन्दोलनलाई पनि त्यही दृष्टिकोणले हेर्यो, जुन सबैभन्दा ठूलो भूल थियो । पहिलेको आन्दोलन दमनको सफलताबाट सुरक्षा फौज पनि हौसिएको थियो । सोहि रणनीति अनुरुप दमन गर्न तयार भयो तर, यस्तो परिस्थितिमा कहिल्यै नपरेको युवा समूह घानमा पर्यो र अनाहकमा गोलीको शिकार भयो । अहिलेसम्म ७१ जनाले मृत्युवरण गरिसकेका छन् ।
आन्दोलनको पहिलो दिन नै १९ जना अबोध बालकहरू मारिएपछि दोस्रो दिन पुरा देश नै उम्लिएर आयो । जुन सुरक्षा फौजले नै सम्हाल्न सकेन । सुरक्षा फौज पछि हट्ने बितिक्कै अपराधिक मानसिकताका मान्छेको घुसपेठ भयो । त्यस्ता व्यक्तिहरू तोडफोड र आगजनी गर्दै लुटपाटमा लागे । होटल मात्रै होइन, यो आन्दोलन अझै चर्किएको भए बैंकहरू पनि लुटपाटमा जान्थे । मुलुक चलाउनेको गलत आचरण तथा अक्षमताले गर्दा यस्तो भएको हो । असन्तुष्टि र आन्दोलनको विषय जेनजीको हो तर लुटपाट, तोडफोड र आगलागी गर्ने अरु अपराधिक तत्व थिए ।
राजनीतिक सम्बन्ध भएका होटलहरूमा मात्रै आगलागी र लुटपाट भएको भनिएको छ । यसमा कत्तिको सत्यता छ ?
सत्य वा असत्यहरूका बीच, राजनीतिक सम्बन्धहरू लएर बिगतमा भएका हल्लाबाजीसँग सम्बन्धित भएर लुटपाटहरू भएका हुन् कि भनी आशंका गर्ने ठाउँहरू नदेखिएका हैनन् । तर, यस्तो अबस्थामा लुट्नेहरूको मानसिकता नै नाफाका साथै सार्वजनिक सहानुभूति समेत कमाउने हुन्छ ।
मिडियाले अलि बढी फोकस गरेको ठाउँमा पनि उनीहरूको निशानामा परेता पनि, उनीहरूको मिशन व्यक्तिगत सहजता र नाफाको अवस्थाले पनि निर्क्यौल गरेको हुन्छ । त्यसैले त राजनीतिले नछोएको, राजनीतिसँग कुनै पनि सम्बन्ध नभएको कतिपय अटोमोबाइल उद्योग तथा सेल्स मार्टहरू पनि लुटको शिकार भएका छन् । जति होटल तथा व्यापारिक घरानाहरू उनीहरूको सहजतामा परे ती तोडफोड भएका हुन् । अर्को ७ दिन आन्दोलन भएको भए बैंक, ब्यापार तथा व्यक्तिगत आवासहरू पनि सबै भ्याउँथे ।
यो आन्दोलनले दीर्घकालमा कस्तो असर गर्छ ?
होटलहरूमा भएको आक्रमणले दीर्घकालमा नेपाल प्रतिको पर्यटकीय दृष्टिकोण धरापमा पर्नुका साथै अन्तराष्ट्रिय रुपमा बेइज्जत भयो । नेपाल खतराको गन्तव्यको रुपमा चिनियो । यो हाम्रो लागि निकै नै गम्भीर विषय हो । अब लगानीकर्ताले नेपालमा लगानी गर्न डराउने भए । कठीन परिस्थितिमा राज्य र समाजले नै सुरक्षा दिदैँन भने लगानीकर्ताले अब लगानी गर्न तीन पटक सोच्नेछन् ।
स्थानिय तहहरूमा पनि अशामान्य घटनामा सुरक्ष्या प्रदान गर्न चेतनामुलक कार्यक्रम र स्वयम सेबी दस्ता हरू का साथ् सुरक्षा संयन्त्र निर्माण गर्न सकिन्थ्यो । त्यता पट्टि हामी जान सकेनौँ । वडाले पनि सुरक्षा सहकार्यबारे सोच्नु पर्थ्यो । विजनेश हाउसहरू एक्लो भए । स्थानीय समर्थन पनि भएन । ठमेलमा भने स्थानीयले लुटपाट तोडफोड गर्न धेरै प्रयास गरे । यसरी सबैतिर स्थानीयले समर्थन गरेको भए आज यति क्षति हुँदैन थियो ।
यो भयावह अवस्थाबाट तपाईंहरू कसरी अघि बढ्ने योजनामा हुनुहुन्छ ?
जुन व्यवसायीलाई प्रहार भयो । उसको अब कुनै पनि उपाय नै छैन । व्यवसायीहरू बाहिर जतिसुकै अविचलित देखिए पनि भित्रबाट दायित्व धेरै हुन्छ । लगानी भनेकै ऋण हो त्यसकारण भागेर हिड्ने अवस्था पनि हुँदैन । यसको लागि सरकारले सहयोग गर्नुपर्छ ।
आन्दोलनले पर्यटन क्षेत्रमा कस्तो असर गर्यो ?
पर्यटन क्षेत्र त बदनाम भइसक्यो । सुरक्षाको दृष्टिकोणबाट एउटा प्रश्न चिह्न उठिसक्यो । आगामी दिनमा पर्यटकहरू सुरक्षित हुन्छन् कि हुदैनन् भन्ने नै अहिले चिन्ताको विषय बनेको छ । पर्यटन भनेको अन्तराष्ट्रिय भरोसा हो, त्यो भरोसा नै नभए पछि असर त परिहाल्छ नी ।
मुलुकमा राजनीति जनता तथा अर्थतन्त्रको लागि सहजकर्ता हुनु पर्नेमा माफियातन्त्रको रुपमा विकशित भएको अबस्थामा यो आन्दोलन पश्चात परिवर्तन भएर सकारात्मक दिशा तर्फ जाला भन्ने आशा गर्नु बाहेक अर्को विकल्प व्यवसायीहरूसँग आजको दिनमा छैन ।
अब राज्य कसरी अघि बढ्नु पर्छ ?
पहिलो कुरा भनेको राज्यले पहिला शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुपर्यो । यो घटना विरुद्धको कारवाही हामीले जति फितलो बनायो । त्यति नै अपराधीहरूको मनोबल बढ्छ र व्यवसाय गर्नेहरूको मनोवलमा ह्राष आउँछ जुन मुलुकको लागि राम्रो होइन । यसरी आन्दोलनका नाममा आतंक मच्याउनेलाई राज्यले अनुसन्धान गरी छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ । आन्दोलनका नाममा चोरी गर्नेलाई कारबाही नहुने हो भने लगानीको वातावरण धराशायी हुन्छ ।
यस्तै, विजनेश हाउसहरूलाई राज्यले सुविधा दिनुपर्छ । बैंक ऋण, क्षतिपूर्ति लगायतका विषयमा राज्यले सहयोग गर्नुपर्छ । आगामी दिनमा यहाँ जतिपनि प्राइभेट सेक्युरिटीहरू छन् । ती कम्पनीहरूलाई सरकारले सुरक्षात्मक सञ्जालको रुपमा मान्यता दिएको पाइँदैन । आगामी दिनमा निजी सुरक्षा कम्पनीहरू, स्थानीय सुरक्षा सञ्जाल, व्यापारिक घरानाका कर्मचारीहरूका साथै सरकारी सुरक्षा समेत मिलायार व्यवसायिक सुरक्षा नीति बनाइ स्थायी रुपमा लागू गरिनुपर्दछ ।










प्रतिक्रिया