काठमाडौँ । दशैंका लागि घर जान बुधबार (भोलि)देखि बसको अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायीहरूले औपचारिक रूपमा भोलिदेखि अग्रिम टिकट खोल्ने भएका हुन्। तर यातायात व्यवस्था विभागले भने घटस्थापनाबाट मात्रै अग्रीम टिकट दिने बताएको छ ।
यसपालीको दशैं करिब २० लाख जनाले उपत्यका छाड्ने अनुमान गरिएको छ । विगतमा दुई तिन हप्ता पहिले नै खोल्ने गरिएको अग्रिम टिकट बुकिङ यसपाली जेन जी आन्दोलनले प्रभावित भएर ढिलागरी खुल्न लागेको हो ।
सार्वजनिक यातायात केन्द्रिय महासंघले अग्रिम टिकट खोल्ने निर्णय गरेपनि विभागले स्वीकृति नदिएको जनाएको छ । जसले गर्दा यातायात व्यवसायीहरुले स्वस्फूर्त रुपमा अग्रिम टिकट बुकिङ खोल्न लागेका हुन् ।
आन्दोलनले विभिन्न स्थानमा तोडफोड आगजनी भएको र देशभरि सुरक्षा व्यवस्था नाजुक भएको हुँदा ढिला गरि टिकट बुकिङ खोलिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए ।
उनका अनुसार आन्दोलनले देशभरिको यातायात सेवा ठप्प हुँदा यात्रुहरु काठमाडौँमा अलपत्र परेका थिए । अहिलेसम्म अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउने काम भएपछि मात्र टिकट बुकिङ खोलिएको हो ।
अग्रिम बुकिङ ढिला भएको कारणले गर्दा यो वर्ष यात्रुको चाप बढ्ने देखिएको छ । यस्तो अवस्थामा टिकटमा कालोबजारी हुने सम्भावना पनि प्रबल हुने गरेको छ । तर महासचिव नेपाल भने यस्तो नहुने दाबी गर्छन् ।
उनका अनुसार बागमती प्रदेशका सबै जिल्लाको लागि यसअघि नै समितिहरुले टिकट खोलिसकेको अवस्था छ । अरु पनि पूर्वी रुटमा चल्ने विभिन्न गाडीहरुले टिकट बुकिङ खोलिसकेका छन् । गाडीहरुले र समितिहरुले अग्रिम बुकिङ गरिरहेको र यसलाई औपचारिकता मात्र दिन खोजिएको नेपाल बताउँछन् ।
यात्रुहरुको व्यवस्थापनको लागि सबै निकायहरुसँग मिलेर सहकार्य भइरहेको उनको भनाई छ । दशैंको समयमा भाडादरमा कुनै पनि उतारचढाव नहुने उनका भनाई छ । टिकटको कालोबजारीबाट रोक्न सबै यात्रुलाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको उनी बताउँछन् ।
अहिलेको विषय परिस्थितिमा सुरक्षा निकायहरु पनि सुरक्षा दिने अवस्थामा नभएकोले लामो दुरीका र राती चल्ने सवारी साधनलाई समूहमा पठाउने तयारी भइरहेको महासंघले जनाएको छ ।
साथै उनले यस्तो विषम परिस्थितिमा ठगीबाट बच्नको लागि सम्बन्धित टिकट काउन्टरबाट मात्र टिकट लिन आग्रह गरेका छन् । व्यवसायीहरुले आफ्नो जिम्मेवारी निभाएर काम गरिरहेका र विभिन्न सडकहरुमा बाढी पहिरोले असहज गरेको व्यवसायीहरुको भनाई छ ।
यस्तै यातायात सञ्चालकहरुले पनि अन्य ठाउँबाट टिकट लिएका यात्रुहरुलाई नबोक्ने बताएका छन् । काठमाडौँ दार्चुला रुटमा गाडी चलाउने देवेन्द्र भाटका अनुसार अहिले काउन्टरबाट काटेको टिकट बाहेक अन्य टिकट मान्ने गरिएको छैन ।
टिकट नभएका यात्रु र कसैबाट व्यक्तिगत रुपमा टिकट काटेर आएका यात्रुलाई नबोक्न समितिले कडा निर्देशन दिएको भाट बताउँछन् । उनी पनि नारायणगढ मुग्लिन र दाउन्ने क्षेत्रमा सडक अवरोध भइरहेकोले असहज भएको गुनासो गर्छन् ।
यता सडक विभागले भने सडक पन्छ्याउने काम भइरहेको जनाएको छ । जोखिम कम गर्नको लागि सम्पुर्ण साधान स्रोत सहितको तयारी भइसकेको विभागले जनाएको छ । मुख्य नाका मुग्लिनदेखि काठमाडौँ हल्का फुल्का समस्याहरु आएपनि तुरुन्तै समाधानको काम भइरहकेको विभागका प्रवक्ता प्रभात कुमार झाको भनाई छ । उनले दाउन्ने क्षेत्रमा पुर्ण रुपमा समस्या मुक्त हुने गरेर काम भइरहेको बताए ।
साथै अन्य सबै सडकहरु पनि अर्को वर्खासम्म दुरुस्त भइसक्ने यो वर्षामा आउने समस्याको लागि सबै निकाय जोखिम क्षेत्रमा तयार रहेको उनी बताउँछन् । यो बर्खामा आउने समस्या बाढी पहिरोको जोखिम भएका स्थानहरुमा सबै स्रोत साधन सम्बन्धित स्थानमा तयार गरिएर राखिएको छ ।
उनी भन्छिन, ‘पहिरो आइहालेको अवस्थामा पन्छ्याउन डोजरहरु तयारी अवस्थामा छन् । अर्को वर्खामा सबै सडकहरु पोखराको बाटो जस्तै हुन्छन् ।’
सडक विभागले सडक निर्माणको प्रत्येक चरणमा गुणस्तरको परीक्षणको सुनिश्चितता गर्ने र प्रयोगशाला परीक्षण देखि स्थल परीक्षण, अनुबन्ध मापदण्ड अनुसारको प्राविधिक परीक्षण गरिरहेको उनको भनाई छ ।












प्रतिक्रिया