बत्तीको अभावले बढ्दै सडक दुर्घटना, उपत्यकामा ७२ मा ९ वटा मात्रै बल्छन् !


काठमाडौँ । केही साताअघि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले जेब्रा क्रसिङमै बाटो काटिरहेकी एक बालिकालाई ठक्कर दियो । ललितपुरको हरिसिद्धिमा भएको उक्त घटनामा ११ वर्षीया बालिका उषा सुनार घाइते भइन् । यस घटनाले उपत्यकाको सडक सुरक्षामा फेरि एकचोटी गम्भीर प्रश्न खडा भएको छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक लाइट नहुँदा र भएका पनि बिग्रिदा यस्ता दुर्घटना हुने गरेका छन् ।

काठमाडौँ उपत्यकामा हाल ७२ वटा सडक बत्ती रहेकोमा ४४ वटा मात्रै सञ्चालनमा रहेका थिए । तर यही भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा तोडफोड र आगजनी हुँदा थप ३५ वटा सडक बत्तीमा क्षति पुगेर काम नगर्ने अवस्थामा पुगेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिग्रिएका सडक बत्ती जडानको काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार ट्राफिक लाइट जडानको काम सडक विभाग तथा सबन्धित स्थानीय तहहरुले जडान गर्छ ।

ट्राफिक प्रहरीले ट्राफिक लाइटको नियमन गर्ने काम मात्र गर्ने भएकोले कहिले मर्मत हुन्छ भन्ने थाहा नभएको उनी बताउँछन् । गिरीका अनुसार सडक विभागसँगको समन्वयमा काम भइरहेको छ ।

तथापि ट्राफिक प्रहरीको काम भनेको बनेको संरचनामा आवागमन सहज गर्ने, नियमन गर्ने मात्र भएको उनी बताउँछन् । साथै उनले दुर्घटनाको प्रारम्भिक अनुसन्धान गरेर न्यूनीकरण गर्न जनचेतना फैलाउने काम भइरहेको बताए । ट्राफिक लाइट नहुँदा जनशक्ति पनि बढी लाग्ने गरेको र दुर्घटनाको जोखिम धेरै हदसम्म बढेको उनको भनाइ छ ।

सबै ठाउँमा सडक बत्ती राख्न सम्भव नहुने हुँदा चालक र पैदल यात्री दुबैले सडकको अवस्था हेरेर बाटो काट्ने र साधन चलाउनु पर्ने गिरीको सुझाव छ । कतिपय समयमा चालक र पैदल यात्रीको बिचमा असमझदारी भएर दुर्घटना हुने गरेको छ ।

काठमाडौँ महानगरपालिका भने ट्राफिक बत्ती जडानको काम सबै सडक विभागसँग सम्बन्धित भएको दाबी गर्छ । संवेदनशील स्थानहरुमा, विद्यालय क्षेत्रहरु लगायत स्थानमा सडक विभागबाट स्वीकृति लिएर सडक बत्ती जडानको काम भइरहेको महानगरका इन्जिनियर सन्तोष पाण्डे बताउँछन् । उनका अनुसार यो विषय महानगरको क्षेत्राधिकार भित्र पर्दैन ।

महानगरले ट्राफिक लाइट जडान गर्न सडक विभागसँग अनुमति माग्दा पनि विभागले अनुमति नदिएको महानगरका कर्मचारीहरु बताउँछन् । महानगरले ट्राफिक प्रहरी र सडक विभागसँग समन्वय गर्ने काम भइरहेको जनाएको छ ।

यता, सडक विभागले बिग्रिएका ट्राफिक बत्ती बनाउने र नयाँ जडान गर्ने काम भइरहेको जनाएको छ । विभागका अनुसार सबै निकायहरुसँगको समन्वयमा ट्राफिक बत्तीको काम भइरहेको छ ।

उपत्यकाका सडकहरुमा सडक बत्ती नहुनु र भएका सडक बत्तीहरु पनि लामो समयदेखि बिग्रिएको अवस्थामा छन् । जसले गर्दा सडक दुर्घटनाको जोखिम बढाएको छ ।

साँझ परेपछि र बिहानको समयमा सडकमा अध्यारो हुने भएकोले पदैल यात्री र सवारी चालक दुबैलाई जोखिम बढाएको छ । यस्तो अवस्थामा धेरै दुर्घटनाहरु त जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा हुने गरेका छन् ।

साँझ पेरपछि र बिहानै गाडी चलाउँदा कतिखेर पैदल यात्री एक्कासी आउने हुँदा यो समयमा जोखिम मोलेर गाडी चलाउनु परेको बसुन्धारा रुटमा गाडी चलाउँदै आएका अशोक बुढामगरको भनाई छ ।

यसमा शनिबारको घटना एउटा प्रतिनिधि घटना मात्रै हो । यसरी दिनको उज्यालोमै त्यो पनि मन्त्रीजस्तो उच्च पदस्थको गाडीले जेब्रा क्रसिङमा ठक्कर दिनुले उपत्यकाको सडक सुरक्षामा र उच्च पदस्थहरुको यात्रामा आम सर्वसाधारणले गम्भिर प्रश्न उठाएका छन् ।

यसअघि पनि यस्ता घटनाहरु पटकपटक दोहोरिँदै आएका छन् । जसले गर्दा विशेष गरेर बालबालिका, वृद्धवृद्धा र अशक्तता भएकाहरुलाई बढी जोखिम हुने गरेको छ । काठमाडौँको धेरै भिड हुने चोकहरुमा अझैपनि सडक बत्ती जडान भएका छैनन् ।

उपत्यकाको धेरै भिडहुने स्थानहरु बसुन्धारा, सामाखुशी, नयाँ बसपार्क क्षेत्रमा सडक बत्तीहरु जडान गरिएको छैन ।

धापासीबाट सधैँ डायलायसिस गर्नको लागि गोङ्गबु जाने पार्वती अवस्थी सडक बत्ती नहुँदा सधैं असजिलो हुने गरेको बताउँछिन् । उनी भन्छिन्, “गाडीहरु हुइकिएर आएका हुन्छन, सडक बत्ती नहुँदा कतिखेर को आउला र उसैसँग बाटो काटुला भनेर पर्खेर बस्नुपर्छ ।”

नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै उपत्यकामा सडक दुर्घटनामा परेर १९० जनाको ज्यान गएको छ ।
काठमाडौँका सडकहरुमा सडक बत्ती नहुनु र भएका पनि उचित व्यवस्थापन नहुनुले सम्बन्धित निकायहरुको लापरबाही स्पष्ट देखाएको छ । सबन्धित निकायहरुको यो लापरबाहीको सिकार आम सर्वसाधारण नागरिक भइरहेका छन् ।

विगत १० वर्षको तथ्यांक हेर्दा मुलुकमा सडक दुर्घटना तथा सवारी दुर्घटनाको अवस्था भयावह छ । विगत १० वर्षमा नेपाली करिब २४ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०११ मा नेपालमा सडक दुर्घटनामा परेर ६ हजार ८०० जनाले ज्यान गुमाएका थिए ।

सन् २०२१ मा आएर सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ हजार ५०० पुगेको थियो ।

विश्व स्वास्थ्य संगठनको सर्वेक्षणले दक्षिणपूर्वि एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी सडक दुर्घटना नेपालमा हुने गरेको देखाएको छ । यी मुलुकहरुमा हुने कुल सडक दुर्घटनामा ज्यान गुमाउनेमा २८.२ प्रतिशत नेपालमा मात्रै ज्यान गुमाउने गरेका छन् ।

यसमा पनि २२ प्रतिशत पैदल यात्री र बाँकी करिब ६ प्रतिशत मात्र अन्य रहेको छन् । उक्त सर्वेक्षणले नेपालमा प्रत्येक १ लाख जनामा २९ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने उल्लेख गरिएको छ ।

नेपाल प्रहरीको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/७६ देखि गत आर्थिक वर्ष सम्ममा करिब १८ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

यस्तै नेपाल सडक सुरक्षा प्रोफाइल २०२५ ले मुलुकभरमा औसतमा प्रत्येक २४ मिनेटमा १ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।