वैदेशिक लगानीमा सुस्तता

राजनीतिक अस्थिरताले रोक्यो वैदेशिक लगानी, तीन दशकमा लक्ष्यको ३१ प्रतिशतमात्रै !


काठमाडौँ । विगत २९ वर्षमा प्रतिबद्धताको ३१.९ प्रतिशत मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा आर्थिक वर्ष (सन्‌मा) १९९५/९६ देखि आर्थिक वर्ष २०२३/२४ को अवधिमा उक्त मात्रामा रकम भित्रिएको हो ।

यसअवधिमा १६ खर्ब ३४ अर्ब २५ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएकोमा ५ खर्ब १२ अर्ब ४ करोड २ लाख रुपैयाँ मात्र लगानी भित्रिएको छ । यो कुल प्रतिबद्धता रकमको एक तिहाइ भन्दा पनि कम हो ।

यस अवधिमा कुनै वर्ष उच्च मात्रामा लगानी भित्रिएको छ भने कुनै वर्ष लगानी नै आएको देखिदैन । यस्तै केही वर्षहरुमा वैदेशिक लगानी आप्रवाह ऋणात्मक देखिएको छ । आर्थिक वर्ष २०००/०१ मा वैदेशिक लगानी ऋणात्मक अर्थात् –१.१ प्रतिशत थियो । यस्तै आव २००१/०२ मा –२३.३ प्रतिशत र आर्थिक वर्ष २००५/०६ मा –१८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । यी वर्षहरुमा नेपालबाट लगानी भित्रनुको साटो बाहिरिएको देखिन्छ ।

आर्थिक वर्ष २०११/१२ सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यस वर्ष प्रतिबद्धता भएको भन्दा २८.८ प्रतिशत बढी अर्थात प्रतिबद्धताको १२८.८ प्रतिशत लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०१६/१७ मा प्रतिबद्धताको ८८.८ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यस्तै आर्थिक वर्ष २०२०/२१ मा प्रतिबद्धताको ६०.६ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

आर्थिक वर्ष २००३/०४ मा २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ प्रतिबद्धता भएकोमा लगानी आप्रवाह भने शून्य रहेको थियो ।

नेपालमा प्रतिबद्धता अनुसार लगानी भित्रिन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता रहेको जानकार बताउँछन् ।

२९ वर्षको अवधिमा नेपालमा विभिन्न राजनीतिक उथलपुथल भएको छ । यसै अवधिमा माओवादीको १० वर्ष शसस्त्र विद्रोहमा १७ हजार जनाले ज्यान गुमाएका थिए । करिब तीन दशकमा नेपालले २ वटा संविधान बनाइसकेको छ । नेपाल राजतन्त्रदेखि गणतन्त्र हुँदै संघीयतामा प्रवेश गरेको छ ।

यसरी मुलुकमा छोटो समयमा ठुला राजनीतिक उथल पुथलका घटना हुँदा अस्थिरता हुँदा प्रतिबद्धता अनुसारको वैदेशिक लगानी आउन नसकेको जानकार बताउँछन् ।

अर्थविद् डिल्लीराज खनालका अनुसार राजनीतिक अस्थिरता नै प्रतिबद्धता अनुसार लगानी भित्रिन नसक्नुको प्रमुख कारण हो । सरकार परिवर्तनसँगै हुने नीतिहरुमा गरिने परिवर्तनले लगानीकर्तामा अन्योलता आएको देखिन्छ । यसका साथै प्रक्रियागत जटिलता, पूर्वाधार अभाव, बजारको आकार कार्यान्वयन पक्षको कमजोरी लगायतका कारणहरुले गर्दा न्यून मात्रामा लगानी भित्रिएको उनले बताए ।

तर अर्थविद कृष्णहरि बास्कोटा भने नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि बाहिर भनिएजस्तो कानुनी जटिलता नभएको दाबी गर्छन् । उनका अनुसार नेपालको कानून भारत र चिनको भन्दापनि राम्रो छ ।

नेपालमा प्रतिबद्धता अनुसारको वैदैशिक लगानी भित्रिन नसक्नुको प्रमुख कारण प्रतिबद्धता गर्ने मानिस वा कम्पनीलाई फलोअप गर्न नसक्नु भएको अर्थविद् बास्कोटा बताउँछन् । उनी भन्छन्, ‘प्रतिबद्धता गरेर गएपछि खोजी नै नगरेपछि लगानीकर्ताले किन नेपालमा लगानी गर्न आफैँ खोजेर आउँछ ?’

सरकारले चासो चिन्ता केही नदेखाएकोले प्रतिबद्धताअनुसारको लगानी नआएको बताउँदै उनले भने, “कुनै पनि देशमा प्रत्यक्ष वैदेशिक लगानी आउन त्यहाँको स्थानीय स्तरसँग उसको सम्पर्क हुन्छ । उसले स्थानीय उद्यमीलाई सेयर पनि दिन सक्छ, आधा आधा गर्न पनि सक्छ अथवा नाफाको केही प्रतिशत दिन्छु भनेर सहमति गरेको हुन्छ ।”

यस्तै विदेशी लगानीकर्ताले कहीँ न कहीँ उसले आफ्‌‌नो सम्पर्क बिन्दु बनाएको हुन्छ । सम्पर्क बिन्दुको रुपमा काम गर्नको लागि निजी क्षेत्र बलियो हुनुपर्नेमा त्यसो नभएको जानकार बताउँछन् । निजी क्षेत्रले पनि प्रतिबद्धताकर्तालाई आकर्षण गर्न नसकेको उनीहरुको भनाइ छ ।

नेपालमा सबै सुविधा छ भन्नुपर्ने निजी क्षेत्रले उल्‌‌टै नेपालमा भ्रष्टाचार हुन्छ, यहाँका कर्मचारीले दुःख दिन्छन् सबै खराब छ भनेर भड्काइरहेको अर्थविद बास्कोटा बताउँछन् । यसले लगानीकर्ताको मनोबल र नेपालप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्ने गरेको उनले बताए । ‘निजी क्षेत्रको राम्रो मध्यस्थता नहुनु पनि बैदेशिक लगानी नआउनुको अर्को कारण हो,’ उनले भने ।
वैदेशिक लगानी प्रतिबद्धता गर्ने बेलामा सरकारले पनि विभिन्न सेवा सुविधाको लोभ देखाउँछ । तर, पछि काम गर्दै जाँदा सुविधाका लागि ‘कन्डिसन’ तेर्स्याइन्छ । यसरी पहिले भनिएको र पछि काम गर्दाको अवस्थामा अन्तर भएपछि लगानीकर्ता भड्किने उनले बताए ।

यसबाहेक वैदेशिक लगानी भित्र्याउन नसक्नुको अर्को कारण उनीहरूले नेपालमा जुन काम गर्न खोजेका हुन् त्यो सजिलै प्राप्त नहुने अवस्था पनि भएको बास्कोटाको भनाइ छ ।

‘लगानीकर्ताले आफू मन लागेको बेला फर्किन्छु र मलाई फर्किने वातावरण मिलाइदिनुपर्छ भनेर सम्झौता गर्छ । तर नेपालमा लगानी गरिसकेपछि विदेशी मुद्राको पर्याप्तता छैन लगायत विभिन्न कारण देखाएर फर्किने वातावरण हुँदैन,’ बास्कोटाले भने,‘जसले गर्दा लगानीकर्ताको मनमा यो मुलुकमा त आफ्‌‌नो पैसा पनि समयमा पाइँदैन, किन लगानी गर्नु भन्ने मनोविज्ञानले काम गछ ।’

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।