बैतडी। पछिल्लो केहि वर्षदेखि नेपालमा पहाडका गाँउ सुनसान बन्दै गएका छन् । वैदेशिक रोजगारी र बसाई सराईको प्रभावले पहाडका गाँउ रित्तिदै गएका हुन् । देशैभर यो समस्या बिकराल बन्दै गर्दा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पनि मानवीय संकट देखिन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा यतिबेला गहिरो मानवीय संकट सुरू भएको छ । चाडपर्वको समयमा पनि गाँउमा रौनकता हराएको छ ।
पहिलेका परम्परागत शैलीको घरहरुमा अहिले ताल्चा झुन्डिएका छन् भने छानोमा घाँस उम्रिएको छ । वरिपरि काठैकाठको बार्दली, टायलको छाना, झट्ट हेर्दा कुनै पुराना साहुमहाजनको झल्को दिने यो घर अहिले निक्कै टिठलाग्दो देखिन्छ ।

प्रायः जसो घरहरुमा विशेष गरेर गाउँपालिकाको वडा नं. २ मा यो अवस्था झन् विकराल बनेको छ । सेवासुविधाको खोजीमा मानिस सहर पस्दा बस्ती पातलिँदै गएको छ ।
२०७८ को जनगणनाअनुसार नेपालको कूल जनसंख्या (२ करोड ९१ लाख ६४ हजार ५ सय ७८) मध्ये ६६.२ प्रतिशत (१ करोड ९२ लाख ९१ हजार ३१) नगरपालिकामा बस्छन् भने बाँकी ३३.९२ प्रतिशत (९९ लाख १ हजार ४ सय ९) गाउँपालिकामा बसोबास गर्छन् ।
२०६८ सालको जनगणनामा देशको कुल जनसंख्याको १७.०७ प्रतिशत जनसंख्या सहरमा बस्ने गरेकोमा ग्रामीण जनसंख्या झन्डै ८३ प्रतिशत रहेको थियो । यो तथ्यांकले मानिसहरु सहर केन्द्रित हुँदै गरेको प्रष्ट पार्छ ।
दोगडाकेदार गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णुदत्त भट्ट गाँउको यो अवस्थाले चिन्तित बनाएको बताउँछन् । गाउँ रित्तिनुको प्रमुख कारण रोजगारीको अभावमा युवाहरु वैदेशिक रोजगारीमा जानु र परिवार सहर वा तराईतिर बसाइसराई गर्नु रहेको उनी बताउँछन् ।
अध्यक्ष भट्ट भन्छन्, “पछिल्लो समय गाँउबाट युवाहरु रोजगारीको खोजीमा विदेश गए, विशेष गरेर खाडी मुलुकमा गएका छन् । खाडीमा दुख गरेर कमाएको केही पैसाले पनि उनीहरुले पहाडमा केहि गर्ने इच्छा देखाएनन् ।” स्वदेशमा रोजगारी नभएर युवाहरु विदेश गए तर त्यसपछिको अवस्था एकदम जटिल बन्यो, विदेशीएका युवाहरुमा पहाडप्रतिको सोच फेरिएको पाइएको उनले बताए । खाडीको कमाई पहाडको विकासमा खर्च हुनुको सट्टा तराई र सहरमा सानो घर बनाउन र जग्गा किन्नमा खर्च भइरहेको उनी बताउँछन् ।
युवाहरुले खाडीमा कमाएको पैसाले तराईमा सानो जग्गा किन्न त्यही घर बनाउने र आफ्नो परिवार त्यतै सार्ने प्रवृत्ति तिव्र हुँदै भएको छ । जसले गर्दा पहाडका सुन्दर र पुर्ख्यौली घरहरु रित्तो भएका छन् । उनका अनुसार वैदेशीक रोजगारीमा गएका मात्र नभएर स्वदेशमा रोजगारीमा भएकाहरुमा पनि तराई घर जग्गा बनाउन सके भन्ने सोच विकास भएको छ । जसको कारण स्वदेशमै सानो रोजगारीमा भएकाहरु पनि तराईतिर आकर्षित भएका छन् । पहाडमा केहि छैन भन्ने भाष्य निर्माण भइसकेको छ । नेपालमै सेना र प्रहरीको जागिरमा रहेकाहरु पनि कमाएको पैसाले तराईमा घर जग्गा बनाउन र बसाईसराई गर्ने प्रवृत्ति पनि तिव्र बन्दै गएको छ ।
पुर्व अध्यक्ष दल बहादुर महरा पनि भट्टकै कुरामा सहमत देखिएका छन् । उनका अनुसार विदेशिएका र स्वेदेशमै पनि सानो रोजगारीमा रहेका युवाहरुमा पहाडप्रतिको दृष्टिकोण नै परिवर्तन भएको छ । उनी भन्छन्, “युवाहरुमा पहाडमा केहि छैन भन्ने सोच विकास हुँदा कमाएको पैसा तराईमा घरजग्गा जोड्नमा खर्च भयो र गाँउ खाली हुँदै गए ।
युवाहरुको विदेश पलायन र स्वदेशमै पनि रोजगारी पाएपछि युवतीहरु पनि बालबालिकाहरुलाई लिएर गाँउ छोड्न थालेका छन् । राम्रो शिक्षा, स्वास्थ्य र अन्य आधारभुत आवश्यकताको खोजीमा उनीहरु सहर र तराईतिर बसाई सर्ने गरेका छन् । यसरी युवाहरुले गाँउ छोड्दा गाँउमा केबल वृद्धवृद्धा मात्र रहेका छन् । विस्तारै गाँउमा भएका वृद्धवृद्धा पनि अशक्त भएर छारोछारीसँगै बसाई सरेर जान बाध्य भएका छन् । यसले गर्दा गाँउका पुराना संस्कार संस्कृतिको पुस्तान्तरणमा पनि शून्यता देखिएको छ ।

चाडपर्वहरुमा देखिएको खल्लोपना यसको ज्वलन्त उदाहरण भएको गाउँका स्थानीय संस्कृतिका जानकार एवम् शिक्षाविद् धनबहादुर महराले बताए । दशैं, तिहार र गौरा पर्व जस्ता ठुला चाडपर्वमा समेत गाँउमा पहिलेको जस्तो रौनक, चहलपहल र उत्साह देखिन छोडेको उनी बताउँछन् । चाडपर्वको समयमा पनि गाँउ सुनसान देखिएको छ । मानिसहरु जुनपर्ने घरमा बनमाराले स्थान बनाएको छ । घरमा चरोमुसो छ , चाडपर्व मनाउने चलन नै संकटमा परेको उनको भनाई छ ।
यसका साथै गाँउमा युवा जनशक्ति नहुँदा विकास निर्माणको काममा पनि असर परेका छ । खेतीपाती गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो बन्दै गएका छन् ।
शिक्षाविद् महरा पहाडमा भएका सामुदायिक विद्यालयको पढाईको गुणस्तर सुधार हुन नसक्नु पनि बसाइृसराईको कारण ठान्छन् ।
यो मानवीय संकटलाई टार्नको लागि संघ, प्रदेश र स्थानीय सरकारले तत्काल विशेष योजना ल्याउनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन् । गाउँमै रोजगारीका अवसरहरु सिर्जना गर्नपर्ने, स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन उनीहरुले सुझाएका छन् । यसका साथै पलायन भएका परिवारहरुलाई पनि विभिन्न आकर्षित योजना लिएर गाँउ फर्काउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । अन्यथा पहाडका गाँउ निकट भविष्यमै मावनरिहत भुत गाँउमा परिणत हुने चिन्ता उनीहरूलाई छ ।












प्रतिक्रिया