डिजे र ब्यान्ड बाजाको हूलमा हराउँदै मादलः संकटमा परम्परागत बाजा


काठमाडौँ । गजी सार्कीको एउटा यस्तो समय थियो जतिबेला रात दिन नभनी मादल बनाउँदा पनि माग धान्न मुस्किल हुने गथ्र्यो । असोज र कात्तिक महिनामा उनी ४ घण्टा मात्र सुतेर काम गर्थे ।

देउसी भैँलोमा मादलको अत्याधिक प्रयोग हु्ने भएकोले यी महिनाहरुमा नयाँ मादल किन्न र पुरानो मादल बनाउनेको भिड लाग्दथो । तर, विगत १० वर्ष यता गजी लगायत त्यस्ता व्यवसायीहरु संकटमा पर्दै गएका छन् ।

त्यतिमात्र होइन नेपाली समाजमा परम्परादेखि नै चाडपर्व, विवाह र सास्कृतिक कार्यक्रममा पनि मादलको ‘घिङटाङ’ गुन्जिने गर्दथ्यो । तर पछिल्लो समय मादल व्यवसायी संकटमा पर्न थालेका छन् । मादल बनाउन, छाला र काठको प्रयोग गरिन्छ । जुन अन्य मुलुकबाट आयात गर्नु पर्ने हुन्छ । अन्य मुलुकबाट यस्ता कच्चा पदार्थ आयात गर्दा महंगो पर्ने र त्यसको सट्टामा ब्यान्ड बाजा नै सस्तो पर्ने भएकोले मादलको लोप हुँदै गएको छ ।

विषेशतः ब्यान्ड बाजाजा सहरी क्षेत्रमा धेरै प्रयोग हुने गरेको छ । तर, पछिल्लो सयमा गाँउघरमा पनि आधुनिक ब्यान्ड बाजा र डिजेको प्रयोग बढ्दै जाँदा परम्परागत पञ्चे बाजा बनाउने तथा बजाउने पेसा संकटमा पर्दै गएको हो ।

विषेश गरेर तिहारको समयमा र विभिन्न सास्कृतिक कार्यक्रममा मादलको धुनले गुञ्जायमान हुने गाँउहरुमा पछिल्लो समय ब्यान्ड बाजा र डिजे गुञ्जीन थालेको छ ।

विगत लामो समयदेखि मादल तथा पञ्चेबाजा बनाउने काम गर्दै आएका सार्की व्यवसाय बन्द हुने अवस्था आएको बताउँछन् । “केहि वर्ष पहिले सम्म पनि गौरा र दशैं तिहारको समयमा पञ्चेबाजा र मादल बनाउन भ्याई नभ्याई हुन्थ्यो ।” सार्कीले दुखेसो पोख्दै भने, “तर पछिल्लो केहि वर्षयता मादल तथा पञ्चेबाजा बनाउने काम लगभग ठप्प भएको छ ।”

तिहारका बेला नाच्दै(गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल माग घट्दै गएको छ ।

पछिल्लो समय देउसीभैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरू मोबाइल, डिजे र ब्यान्ड बाजामा रमाउँछन्, जसको कारणले गर्दा उहिलेका मादलको तालमा नाचिने नाचहरू पनि लोप भइसकेका छन् । युवाहरुमा आधुनिक, पप, रिमिक्सका र पश्चिमा संस्कृतिको बढ्दो प्रभावले युवा पुस्तामाझ परम्परागत पञ्चे बाजा र मादलप्रतिको आकर्षण कम हुँदै गएको छ ।

आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि परम्परागत बाजा लोप हुन थालेको सार्कीको बुझाई छ । आफुले सानैदेखि यहि काम गरेको र बुढेसकाल लाग्दै गएपछि पेसा नै धरापमा पर्दा रोजीरोट घुमेको उनको दुखेसो छ ।

युवाहरु विदेशीनु पनि परम्परागत बाजा लोप हुनुको कारण रहेको सार्कीको बुझाई छ । उनी भन्छन्, “पहिले पहिले गाँउघरमा दशै तिहार र गौरा पर्वको समयमा युवाहरु हुन्थे बाजा बजाउने रमाइलो गर्ने गर्थे तर अहिले चाडपर्वमा पनि गाँउघर सुनसान देखिन थालेका छन् ।” गाँउमा युवाहरु भएपो चाडपर्व नाचगान रमाइलो हुन्छ, युवाहरु नै छैनन् कसरी रमाइलो हन्छ ? उनी प्रश्न गर्छन ।

साथै विदेशीएका वा सहरतिर गएका युवाहरु पनि आउने बेला डिजे र साउन्ड बक्स ल्याएर आउने र स्थानीय बाजाहरुप्रति ध्यान नदिने उनको गुनासो छ । साथै आजकलका युवाहरु स्थानीय बाजा बजाउने नजान्ने सार्कीको भनाई छ ।

विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । उनी आक्रोशित हुँदै भन्छन्, “अहिलेका युवाहरु महाशिवरात्री, कुशे औंसी, मातातिर्थ औंसी जस्तो पर्वलाई बिर्सिएर त्यो भ्यालेन्टाइन डे की के मा रमाएका छन् । अनि कसरी हुन्छ स्थानीय बाजाको संरक्षण ?”

युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् ।
आधुनिक जीनवशैली र प्रविधिको विकाससँगै युवा पुस्तामा पश्चिमी संस्कृति र बजाको प्रभाव बढ्दै गएको छ । यसले गर्दा मौलीक नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनमा चुनौती थपिएको छ । दोगडाकेदारका स्थानीय संस्कृति विद् धर्मानन्द जोशी पञ्चेबाजा र मादल नेपाली लोकसंस्कृतिका र पहिचानका अभिन्न अंग भएको बताउँछन् ।

उनका अनुसार स्थानीय लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी र गैरसरकारी सबै क्षेत्रले विशेष पहल गर्नुपर्छ । साथै आधारभुत तहको विद्यालय शिक्षामा स्थानीय लोक बाजा लोक संस्कृति र परम्पराको छुट्टै विषय बनाउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।