काठमाडौँ । चाडपर्वको समयमा देैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । बजारमा दाल तेल लगायत अत्यावश्यक दैनिक खाद्यवस्तुको मूल्यमा वृद्धि भएको हो ।
चाडपर्वको समयमा अत्यावश्यक वस्तुको मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन् । तर सरकार र सम्बन्धित निकायहरु भने यो अवस्थाप्रति मुखदर्शक बनेको आरोप उपभोक्ताहरुको छ ।
नेपाल खुद्रा व्यापार संघको पछिल्लो एक महिनाको तथ्यांक हेर्दा विशेष गरेर खाने तेल र दालको मूल्यमा वृद्धि भएको छ । एक महिना पहिले ४१० रुपैयाँ रहेको भुटेको तोरीको तेलको मूल्य हाल ४२० रुपैयाँ पुगेको छ । दशैं तिहारको समयमा अत्यावश्यक पर्ने चिउराको मूल्य १७० बाट बढेर १९० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । यी त केही प्रतिनिधि वस्तुहरु मात्र हुन प्रत्येक वर्षको चाडपर्वमा दैनिक उपभोग्य खाद्य वस्तुको मूल्य बढ्ने गरेको आम उपभोक्ताको गुनासो छ ।
यस्तै तकारीको मूल्यमा पनि वृद्धि भएको छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनापहिले ३९० रुपैयाँ प्रतिकेजी रहेको डल्ले च्याउ आइतबार ५०० रुपैयाँ पुगेको छ । एक महिना पहिले ११० रुपैयाँ रहेको बोडी १७० रुपैयाँ पुगेको छ । घिउ सिमी ९० रुपैयाँ प्रतिकेजी बाट बढेर १४५ रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुगेको छ ।
पुदिना प्रतिकेजी ६०० रुपैयाँ रहेकोमा ६५० रुपैयाँ पुग्दा कागती १२० रुपैयाँबाट बढे १७० रुपैयाँ पुगेको छ । यस्तै ३०० रुपैयाँ रहेको स्याउको मूल्य ३५० रुपैयाँ पुगेको छ ।
कालीमाटी फलफुल तथा तरकारी विकास समितिले भने मौसमी तरकारीको मूल्यमा सामान्य वृद्धि भएपनि अन्य तरकारीको मूल्य भने नबढेको जनाएको छ ।
चाडपर्वको समयमा खाद्य वस्तुको मूल्य बढ्नु आफूहरुको लागि अस्वभाविक नभएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यको भनाई छ । उनका अनुसार खाद्य वस्तुको मूल्य बढ्नुको कुनै कारण छैन । तर सरकारको अनुगमन साना खुद्रा पसलहरुमा मात्र सिमित हुँदा आम सर्वसाधारणले महङ्गिको मार खेप्नु परेको छ । बजार अनुगमन सधै खुद्रा बजार केन्द्रित हुँदा तेल उत्पादक उद्योगी तथा व्यवसायीहरुले मूल्य बढाउँदै लगेको खुद्रा व्यवसायीहरुको आरोप छ ।
तर यता, तेल उत्पादक उद्योगीहरुले भने आफूहरुले मूल्य नबढाएर अन्तर्राष्ट्रिय स्तरमै मूल्य वृद्धि भएको र कच्चा पदार्थ महङ्गो हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको बताउँछन् । नेपाल घ्यू तेल उत्पादक संघका अध्यक्ष बिकास दुर्गका अनुसार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । तर त्यो उद्योगीहरुले नबढाएर कच्चा पदार्थको भाउ बढ्दा स्वभाविक रुपमा बढेको मूल्यवृद्धि हो । उनका अनुसार तेलको लागि चाहिले आवश्यक सम्पर्ण कच्चा पदार्थ आयात गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमै विभिन्न कारणहरुले मूल्य वृद्धि भइरहेको छ । उनी भन्छन्, “विगत लामो समयदेखि चलिरहेको रुस युक्रेन युद्धको कारणले गर्दा खाने तेलको विश्व बजारनै प्रभावित भएको छ । अन्तर्राष्ट्रिय स्तरमै खानेतेलको कच्चा पदार्थको मूल्य प्रतिदिन बढ्दै गएको छ ।”
खानेतेलको कच्चा पदार्थ निर्यात गर्ने मूलूकमा युक्रेन पहिलो स्थानमा आउँछ । लामो समयदेखि युद्धको भूमरीमा रुमलिएको युक्रेनले तेलको कच्चा पदार्थको निर्यात गर्न नपाउँदा विश्व बजारमै खानेतेलको मूल्य दैनिक रुपमा बढ्दै गएको छ ।
यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने बजार अनुगमनलाई तिव्रता दिएको बताउँछ ।
विभागका अनुसार पछिल्लो समय निरीक्षण अधिकृतहरु बजारमा अधिक्तम खुद्रा मूल्य जाँच गर्नेमा केन्द्रित भएका छन् । धेरै मुद्दा निरीक्षण अधिकृतले स्थलगत रुपमै समाधान गर्ने गरेको विभागका निर्देशक भरत प्रसाद आचार्यको भनाई छ । उनका अनुसार उपभोक्तालाई ठग्ने, बढी मूल्य लिने, उपभोक्ता ऐन २०७५ को विपरीत काम गर्ने व्यापारीलाई विभागले दैनिक रुपमा अनुगमन गरेर कारबाही गरिरहेको छ ।
उपभोक्ताहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा समान बिक्री गरि ठग्ने क्रम बढेकोले एमआरपी केन्द्रित अभियान नै सञ्चालन गरेको विभाग भनाई छ । बजार अनुगमनलाई प्राथमिकता दिएको विभागले जनाएको छ ।
दाल तेलको बजार भाउ बढ्नुको मूख्य कारण बजारमा सरकारको उपस्थिति नहुनु रहेको उपभोक्ता अधिकार मञ्चको अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ । उनका अनुसार बजार अनुगमन गर्दैमा सरकारको उपस्थिति हुँदैन । बजार अनुमगन र सरकारको उपस्थिति छुट्टा छुट्टै पाटो भएको उनको भनाई छ । सरकारले बजार नियमन गर्नको लागि हस्तक्षेपकारी नीति अपनाउनुपर्नेमा र मूल्यमा प्रतिस्पर्धा गराउनुपर्ने बताउँदै उनी भन्छन्, “बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि दण्ड जरिवाना गरेर मात्र हुँदैन । व्यापारीहरुलाई नियमनको दायरामा ल्याउनु पर्छ । बजारलाई नियन्त्रण होइन नियमन गर्नपर्छ ।”
बजारको नियन्त्रण मात्र गर्न खोज्ने र नियमन गर्ने कुनै निकाय नभएको कारणले गर्दा उपभोक्ताको भान्सा अशाध्यै महङ्गीएको अध्यक्ष महर्जन बताउँछन् । उनी भन्छन्, “संविधान र कानुनमा समाजवादी र समतामूलक बजार व्यवस्थापन गर्ने भनिएको छ । समतामूल र समाजवादी अर्थतन्त्र अप्नाउने मूलुकले बजारलाई छाडा छोड्ने काम गर्दैन । बजारमा सरकारको सघन उपस्थिति हुन्छ तर हाम्रो सरकारले त्यो गर्न सकेको छैन ।” यी सबै कारणहरुले गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको हो ।
यसका साथै नेपाल सरकारले उत्पादक किसानहरुलाई अनुदान दिनुपर्नेमा उद्योगीहरुलाई अनुदान दिइरहेको उनको आरोप छ । सरकारले न्यूनतम समर्थन मूल्य पनि एकदम न्यून तोकेको छ । उदाहरणको रुपमा हेर्दा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४०० रुपैयाँ तोकिएको छ । तर सरकारको अभिन्न अंग खाद्य संस्थानले ३ हजार १०० रुपैयाँमा मात्र खरिद गर्छ, उनी भन्छन्, “ सरकार आफै समर्थन मूल्य तोक्ने तर आफै मूल्य नदिने काम गरिरहेको छ । यी सबै कुराको मारमा आम उपभोक्ता र किसानहरु परिरहेका छन् । सिधै किसानले अनुदान पाउनुपर्छ, सबै कुराहरुमा सिधै किसानको पहुँच हुनुपर्छ ।”
अहिले किसान उत्पादन र उपभोक्ताको बिचमा बिचौलिया हाबी भएको कारणे गर्दा पनि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।












प्रतिक्रिया