काठमाडौँ । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै जाँदा आन्तरिक माग भने सुस्त देखिएको छ । हरेक महिनामा विदेशी विनिमय सञ्चितिले नयाँ कीर्तिमानी बनाउँदै आएको छ, रेमिट्यान्स बढिरहेको छ, शोधनान्तर स्थिति र चालु खाता निरन्तर बचतमा छन्, ब्याजदर घटिरहेको छ । तर पुँजीगत खर्च र बजारमा तरलता बढे पनि कर्जाको माग नबढ्दा निजी क्षेत्र अझै दबाबमा रहेको देखिन्छ । जसले समग्र आर्थिक वृद्धिलाई प्रभावित पारेको छ ।
नेपालको अर्थतन्त्र अहिले विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एकातिर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको विप्रेषणले मुलुकको विदेशी मुद्रा सञ्चिती ऐतिहासिक रुपमा बढ्दै गएको छ । अर्काेतिर आन्तरिक अर्थतन्त्र चाहिँ बजारमा बढ्दै गएको तरलता र सरकारी खर्चमा आएको सुस्तताको कारण कमजोर बन्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको यो विरोधाभाषलाई प्रष्ट पारेको हो ।
विप्रेषणमा आएको उल्लेख्य वृद्धिले देशको बाह्य क्षेत्रलाई मजबुत बनाउँदै लगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तिन महिनामा विप्रेषण आप्रवाहमा ३५.४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । चालु आवको असोज महिनामा मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा अर्थात असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो । विप्रेषण आप्रवाहमा आएको यो उल्लेख्य वृद्धिले भुक्तानी सन्तुलनमा सुधार हुँदै गएको अर्थविदहरु बताउँछन् ।
यस्तै विदेशी मुद्रा सञ्चिती पनि बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिती २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिती गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार अहिलेको मुद्रा सञ्चितीले करिब २० महिनाको वस्तु आयात र करिब १७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सकिन्छ । यो सुधारले अर्थतन्त्रलाई बाह्य जोखिमबाट सुरक्षित राखेको र सरकारलाई धेरै हदसम्म राहत मिलेको अर्थविद प्रकाश श्रेष्ठ बताउँछन् ।
यसको विपरीत निजी क्षेत्रमा कर्जाको माग कम हुँदा र पूँजीगत बजेट खर्च सुस्त हुँदा आन्तरिक अर्थतन्त्रलाई चलायमान हुन नसकेको अर्थविद्हरु बताउँछन् ।
ब्याजदर घट्दै गएपनि निजी क्षेत्रमा हुने कर्जा प्रवाह न्यून रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा प्रवाह १.५ प्रतिशतले बढेर ५५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको तथ्यांक हेर्दा निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाह घट्दै गएको छ । चालु आवको पहिलो त्रैमासमा निक्षेप ३ प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यसले निक्षेपको अनुपातमा कर्जा प्रवाह नहुँदा बजारमा तरलता बढ्दै गएको छ ।
कर्जा प्रवाह कम हुनुको प्रमुख कारण अर्थतन्त्रको इन्जन मानिने निजी क्षेत्र बलियो नहुनु रहेको अर्थविद कृष्णहरि बास्कोटा बताउँछन् । उनले भने, “विगतमा दुईतिहाइको सरकारले पनि स्थिरता दिन सकेन जसले गर्दा भोलिको दिनमा के हुन्छ भन्ने चिन्ता निजी क्षेत्रमा बढ्दै गएको छ ।” यसका साथै आन्दोलन र तोडफोडमा निजी क्षेत्र निशानामा पर्दा उनीहरु निराश भएको र लगानी गर्न नचाहेको उनको बुझाई छ ।
यस्तै सरकारको पूँजीगत खर्च निराशाजनक हुँदा पनि आन्तरिक अर्थतन्त्र मारमा पर्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पूँजीगत खर्च जम्मा ४.७ प्रतिशत अर्थात १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यसले गर्दा सरकारी ढुकुटीको पैसा बजारमा जान नसकेको अर्थविद् बास्कोटा बताउँछन् ।
अर्थतन्त्रमा बाह्य क्षेत्रको बलियो जग बने पनि देशलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजान आन्तरिक क्षेत्रको माग बढाउन अपरिहार्य रहेको उनी बताउँछन् । यसका लागि मौद्रिक नीति र वित्तीय नीतिकोबीच समन्वय हुनु आवश्यक रहेकोमा उनले बताए । सरकारले दु्रत गतिमा पूँजीगत खर्च गर्ने, लगानीमैत्री वातावरण बनाउने र केन्द्रिय बैंकले क्रमिक रुपमा ब्याजदरलाई स्थिर र सहज बनाउँदै लगेमा मात्र नेपालको अर्थतन्त्रमा सन्तुलन आउने उनको तर्क छ ।
पछिल्लो समय वैदेशीक रोजगारीको कुचक्र चलेकोले विप्रेषण बढ्दै गएको बन्दै अर्थविद् प्रकाश श्रेष्ठ भन्छन्, “ आन्तरिक श्रम बजारमा श्रम अभाव हुँदै गएको छ ।” निक्षेप बढ्दा सोहि अनुसार कर्जा प्रवाह नभएका र रोजगारीको वातावरण पनि कम हुँदै गएकोले वस्तु तथा सेवाको खपत पनि घटाएको श्रेष्ठ बताउँछन् ।
उनका अनुसार कम मागको कारण उद्योग र व्यापारिक फर्महरुले उत्पादन र आयात बढाउन सकेको छैन् । जसले रोजगारी सिर्जनामा बाधा पुगेको छ । बढ्दो बैदेशीक रोजगारी घट्दो कर्जा प्रवाह र वस्तु तथा सेवाको खपतको दुष्चक्रमा नेपालको अर्थतन्त्र फस्दै गएको श्रेष्ठको बुझाई छ । यस्तै अर्थविद् बास्कोटा भने राजनीति अस्थिरतकोे कारणले अर्थतन्त्र पनि सन्तुलन हुन नसकेको बताउँछन् । उनले भने, “राजनीति तरलता बढदै जाँदा लगानीकर्ताको मनोबल घट्दै गएको छ, निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभुति छैन्, यसले गर्दा अर्थतन्त्र दुष्चक्रमा परेको हो ।”












प्रतिक्रिया