घटेन विदेशी रक्सीको मोह, नेपालीको पहिलो रोजाइ बेलायती मदिरा


काठमाडौँ । खुशी साट्न होस् वा दुख घटाउन अधिकांश मानिसहरुले मदिराको साहरा लिन्छन् । विभिन्न सभा, समारोहपछि नेपालमा पनि ‘आफ्टर पार्टी’ को चलन क्रमिक रुपमा बढ्दै गएको छ । र ती आफ्टर पार्टीमा अफर गरिन्छ विदेशी मदिरा । नेपालमा मदिरा आयातको ग्राफ तिव्र गतिमा उकालो लागिरहेको छ ।

जसले व्यापार घाटामा ठुलो भार थोपर्दै वार्षिक अर्बाै रुपैयाँ विदेशी रहेको छ । भन्सार विभागको तथ्यांक हेर्दा नेपालमा छिमेकी मुलुक भारत र चीनसँगै बेलायत, अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर, फ्रान्स, इटली, जापान, दक्षिण अफ्रिका, चिली पोर्चुगल, आयरल्याण्ड, कोरिया नेदरल्याण्डसँगै विश्वका करिब ३५ देशबाट रक्सी तथा रक्सीजन्य पदार्थ आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा नेपालमा नेपालमा ९६ करोड ९२ लाख ४७ हजार रुपैयाँको १३ लाख १५ हजार लिटर रक्सी तथा रक्सीजन्य वस्तु आयात भएको छ ।

विभागको तथ्यांक हेर्दा नेपालीहरुको रोजाईमा बेलायती रक्सी सबैभन्दा बढी पर्ने गरेको छ । यो अवधिमा बेलायतबाट ४९ करोड ८९ लाख १७ हजार रुपैयाँको करिब ५ केजी मदिरा आयात भएको छ । सोहि अवधिमा फ्रान्सबाट १६ करोड ९३ लाख २३ हजार रुपैयाँको र अमेरिकाबाट ६ करोड १८ लाख २४ हजार रुपैयाँको मदिरा आयात भएको छ ।

यस्तै इटलीबाट २ करोड ८ लाख ३३ हजार रुपैयाँको रक्सी आयात हुँदा अष्ट्रेलियाबाट २ करोड २५ लाख ५१ हजार रुपैयाँँको, भारतबाट १ करोड ७ लाख ६६ हजार रुपैयाँको रक्सी तथा रक्सीजन्य वस्तु आयात हुँदा स्वीडेनबाट २ करोड ४२ लाख ४९ हजार रुपैयाँको मदिरा आयात भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासमा १ अर्ब २१ करोड २१ लाख ५२ हजार रुपैयाँको ९ लाख २६ हजार ३३४ लिटर रक्सी तथा रक्सीजन्य पदार्थ आयात भएको छ ।

यो अवधिमा सबैभन्दा बढी बेलायतबाट ७४ करोड ४४ लाख २ हजार रुपैयाँको रक्सी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै ७ करोड १ लाख १२ हजार रुपैयाँको अमेरिकाबाट आयात हुँदा इटलीबाट १ करोड ४० लाख रुपैयाँको रक्सी आयात भएको छ । उक्त अवधिमा अष्ट्रलियाबाट ३ करोड ५२ लाख २७ हजार रुपैयाँको भारतबाट १ करोड ५४ लाख ४५ हजार रुपैयाँको र मेक्सिकोबाट ४१ लाख २० हजार रुपैयाँको रक्सी तथा रक्सीजन्य वस्तु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासमा १ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँको १६ लाख ७८ हजार लिटर रक्सी आयात भएको थियो । उक्त अवधिमा पनि सबैभन्दा बढी बेलायती रक्सी आयात भएको थियो । भन्सार विभागका अनुसार सो अवधिमा बेलायतबाट मात्र ७६ करोड ७७ लाख १६ हजार रुपैयाँको रक्सी आयात भएको थियो । फ्रान्सबाट ३१ करोड ६ लाख ९७ हजार रुपैयाँको मदिरा आयात हुँदा अमेरिकाबाट ४ करोड ६० लाख रुपैयाँको मदिरा आयात भएको थियो । यस्तै अष्ट्रेलियाबाट ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ, आयरल्याण्डबाट १ करोड ६२ लाख ५२ हजार रुपैयाँ, मेक्सिकोबाट ३ करोड ६ लाख ४१ हजार रुपैयाँको मदिरा आयात भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष सार्वजनिक प्रतिवेदन अनुसार हरेक वर्ष विश्वभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनकै कारण हुने गरेको छ, जुन बर्सेनि हुने कूल मृत्युको ४.७ प्रतिशत हो । साथै, लागूपदार्थका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् ।

संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मदिरा र लागु औषधको सेवनले व्यक्तिगत स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउने, मानसिक रोग बढाउने र लाखौँ रोकथाम गर्न सकिने मृत्युको कारण बन्ने बताएका छन् । प्रतिवेदन अनुसार, विश्वभर ४० करोड मानिस रक्सी वा लागूपदार्थको प्रयोगबाट हुने विकारबाट पीडित छन्, जसमा २० करोड ९० लाख मानिस रक्सीको लतमा छन् ।
यस विश्वव्यापी स्वास्थ्य चुनौतीसँगै, नेपालमा पनि मदिराको खपत बढ्दो क्रममा छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  ०७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।