काठमाडौँ । केही वर्ष पहिलेसम्म ३५ देखि ४० प्रतिशतसम्म लाभांश दिने वाणिज्य बैंकहरूको क्षमतामा उल्लेख्य गिरावट आएको छ । वाणिज्य बैंकहरूको विगत पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा बैंकहरूले दिने प्रतिफलको मात्रा घट्दै गएको छ, जसले गर्दा दीर्घकालीन लगानीकर्ताहरूमा निराशा छाएको छ ।
पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता र बैंकहरूको निष्क्रिय कर्जामा भएको अनपेक्षित वृद्धिले बैंकहरूको लाभांशमा गिरावट आएको बैंकरहरू बताउँछन् । उनीहरूका अनुसार अहिले बैंकहरूको मुख्य समस्याको विषय निष्क्रिय कर्जा बनेको छ ।
ऋणीहरूले समयमै साँवा र ब्याज तिर्न नसक्दा बैंकहरूको एनपीएलको अनुपात बढेको छ । राष्ट्र बैंकको नियमअनुसार एनपीएल बढ्दा बैंकहरूले नाफाबाट निश्चित रकम प्रोभिजनिङको लागि छुट्याउनु पर्छ । यसरी निष्क्रिय कर्जा वाफत ठुलो रकम छुट्याउनु पर्दा शेयरधीहरूलाई वितरण गर्न मिल्ने नाफामा गिरावट आएको हो । जसले गर्दा लगानीकर्ताले पाउने लाभांशमा क्रमिक रूपमा गिरावट आएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ३८ प्रतिशत लाभांश प्रदान गरको नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १२.५ प्रतिशतमात्र लाभांश वितरण गरेको छ । बैंकको तथ्यांक हेर्दा प्रत्येक वर्ष वितरण गरिने लाभांशमा क्रमशः गिरावट आएको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकले लगानीकर्ताहरूलाई प्रदान गर्ने मुनाफामा गिरावट आएर ३० प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकको लाभांश ११ प्रतिशत पुगेको थियो भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १० प्रतिशत मात्र लाभांश दिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत लाभांश प्रदान गरेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ८ प्रतिशत मात्र लाभांश दिएको थियो । बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत मात्र लाभांश दिएकोमा आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत लाभांश प्रदान गरेको थियो ।
एनएमबी बैंकको लाभांशमा पनि पछिल्लो पाँच वर्षमा उल्लेख्य गिरावट आएको छ । पाँच वर्ष पहिले ३५ प्रतिशतभन्दा माथि लाभांश दिएको बैंकले पछिल्ला वर्षहरूमा दिने लाभांश एकल अंकमा समेत पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ३५ प्रतिशत लाभांश दिएको बैंकले आर्थिक वर्ष २०८१/८२ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ८.२५ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १६ प्रतिशत लाभांश वितरण गरेको सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०८१/८२ मा ५.३ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत लाभांश दिएको सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ मा १०.५ प्रतिशत मात्र लाभांश दिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ४ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकले ४.२१ प्रतिशत मात्र लाभांश दिएको थियो ।
यस्तै लाभांशसँगै बैंकहरूको कूल वितरणयोग्य नाफामा पनि तुलनात्मक रुपमा कमी आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नबिल बैंकको कूल वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेकोमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको थियो । यस्तै एनएमबि बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ पुग्दा सिटिजन्स बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ग्लोबल आइएमई बैंकको कूल वितरणयोग्य नाफा २ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएकोमा सिटिजन्स बैंकले ८२ करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।
सिटिजन्स् बैंक इन्टरनेशनलका प्रवक्ता नारायण अधिकारी बैंकहरूको लाभांशमा गिरावट आउनुको प्रमूख कारण निष्क्रिय कर्जामा भएको अनपेक्षित वृद्धि रहेको बताउँछन् ।
उनले भने, ‘बैंकहरूको निष्क्रिय कर्जा बढ्दा र कर्जा प्रवाहमा गिरावट आउँदा त्यसको असर लगानीकर्ताको मुनाफामा देखिएको हो ।’ अहिलेको अवस्थामा ऋणीले ऋण नतिरेको र धितो लिलामीमा पनि खरिदकर्ता पाउन मुस्किल रहेको अधिकारी बताउँछन् । ‘पछिल्लो समय कर्जा उठाउन गएका कर्मचारीहरूलाई पनि दुर्व्यवहार गरिएको अवस्था छ, यसले गर्दा बैंकिङ्ग क्षेत्र त्रसित भएको छ र आम्दानीमा असर परेको छ’ अधिकारीले भने ।
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवाली मुलुकको अर्थतन्त्र चलायमान नभएको अवस्थामा बैंकको नाफामा पनि स्वतः गिरावट आएको बताउँछन् । ज्ञवालीले भने, ‘व्यापार व्यवसाय ठप्प भएको, समग्र मुलुकको अर्थतन्त्र शिथिल भएको, सबै क्षेत्रको कारोबारमा सुस्तता आएको अवस्थामा बैंकको मात्रै कसरी नाफा बढेर लाभांश बढ्छ त ?’ पछिल्लो समय भएका घटनाक्रमले आगामी दिन झन असर पार्ने उनको अनुमान छ । ‘बैंकहरूको वितरणयोग्य नाफामा असर परेको छ, यो रिकभरी नहुँदासम्म अझै दबाब बढ्ने देखिन्छ, तर विगतका वर्षहरूको तुलनामा यो वर्ष लाभांशमा भने वृद्धि भएको छ,’ उनले भने ।
बैंकहरूको आम्दानीमा गिरावट आउँदा स्वभाविक रुपमा लाभांशमा असर परेको राष्ट्रिय वाणिज्य बैंकका सिईओ देवेन्द्ररमण खनालको भनाइ छ ।
उनका अनुसार प्रोभिजन बढ्नु र ठुलो पूँजी भएपनि सोहि नाफा रकममा गिरावट आउनु लाभांश घट्नुको कारण हो । ‘व्यापार व्यवसायमा गिरावट आएको छ, निक्षेप परिचालन बढेको छ तर सोही अनुसार कर्जा प्रवाह हुन सकेको छैन् । बैंकहरूको खर्च मात्र बढेको छ ।’ खनालले भने । बैंकिङ प्रणालीमा बढ्दो तरलताको कारण खर्च पनि बढेको छ, जसले गर्दा नाफामा गिरावट आएको उनी बताउँछन् ।












प्रतिक्रिया