काठमाडौँ । सरकारले तोकेको कोटा कम हुँदा किसानलाई धान बिक्रीमा समस्या भएको छ । सिमित कोटाको समस्या देखाउँदै खाद्य कम्पनीले धान खरिद नगरेपछि उनीहरु समस्यामा परेका हुन् । कञ्चनपुरका किसान गिरीराज शर्माले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा धेरै पटक धाए पनि सबै धान बिक्री गर्न नसकेको बताए ।
‘बिक्री गर्नका लागि टोकन त पाइयो तर आफूले उत्पादन गरेको सबै धान बिक्र्री गर्न भने पाइएन’ उनले भने,‘खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’
त्यस्तै, धनगढीका अमिरलाल पनि यस धान खरिदका लागि सरकारले कम कोटा दिँदा सबै धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । ‘खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले उचित मूल्य नदिने हुँदा हामी जहिल्यै मार्कामा पर्छौँ’ उनले भने, ‘धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।’
कोटा सकिदा किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ । गत कात्तिक ११ गतेबाट थालिएको धान खरिद कार्य करिब साढे दुई महिना अर्थात् पुस २३ गतेसम्म उक्त धान खरिद गरेको हो ।
धान खरिद कार्य अझै जारी रहेको कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलले बताएका छन् । कम्पनीले यस वर्ष कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा हालसम्म लक्ष्यको ६९.४७ प्रतिशत किनेको छ ।
पौडेलका अनुसार, कम्पनीले यस वर्ष धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन ।
गत वर्ष कम्पनीले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात् १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । यो वर्ष भने व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्य दिएका छन् । जस कारण किसानले धान खाद्यलाई नै बेचेका छन् । यसो हुँदा कम्पनीले लक्ष्य अनुसारको धान खरिद गर्न सक्नेछ ।
सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका १३ स्थानबाट धान खरिद गर्न थालेको थियो । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट धान खरिद सुरु गरेको कम्पनीले जनाएको छ ।
सरकारले यस वर्ष सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको थियो । ‘पुस २३ गतेसम्म १ लाख ३२ हजार धान खरिद भइसकेको छ, यो क्रम अझै जारी छ,’ उनले भने ।
धान खरिद गर्दा किसान सुचीकरण फारम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गर्दै धान खरिद गरिदै आएको पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार, हालसम्म विभिन्न १० स्थानका धान खरिद प्रक्रिया पुरा भइसकेको छ भने लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया सुरु नै भएको छैन । विगतका वर्षहरुमा भन्दा यस वर्ष धान खरिद कोटा कम रहेकाले खरिद गर्न सहज भएको छ ।
‘विगतका वर्षहरूमा बढी कोटा थियो, कम किसान आए’, उनले भने, ‘यस पटक कोटा कम छ । किसानहरु बढी आएका छन् ।’ सरकारले धान खरिद कोटा बढाउने हो भने अझै बढी मात्रामा धान खरिद गर्न सकिने पौडेलको भनाई छ ।










प्रतिक्रिया