माघी विशेष

माघे संक्रान्तिले फेरिदियो बजारको समिकरण : टमाटर छाडेर तरुलमा होमिए व्यापारी


काठमाडौँ । माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा तरुलको व्यापार तीव्र भएको छ । परम्पराअनुसार माघीमा विशेष गरी तरुल र चाकु खाने चलन रहेकाले व्यापारीहरूले अग्रिम तयारी थालेका छन् ।

काठमाडौँका व्यापारीहरुले माघे संक्रान्तिलाई लक्षित गरी विभिन्न प्रकारका तरुल बिक्रीमा राख्न थालेका छन् । उपत्यकामा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइरहेको छ ।

यस वर्ष माघेसंक्रान्तिका लागि एक हजार २८५ टन तरुल आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् । गत वर्ष काठमाडौं उपत्यकामा एक हजार १४२ टन तरुल भित्रिएको थियो । मूल्यमा भने गत वर्षको भन्दा पनि सस्तिएको उनले बताए ।

उनका अनुसार कालिमाटीमा हात्ती पाइला तरुल प्रति केजी न्यूनतम ७० र अधिकतम ८० रुपैयाँ रहेको छ । त्यस्तै, आकाशे तरुल न्यूनतम १०० र अधिकतम १२० रुपैयाँ, सिमल तरुल न्यूनतम ५० र अधिकतम ६० रुपैयाँ, बन तरुल न्यूनतम २०० र अधिकतम २५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, घर तरुल न्यूनतम ४० र अधिकतम ६० रुपैयाँ, पताले तरुल न्यूनतम ११० र अधिकतम १५० रुपैयाँ, स्कुस जरा न्यूनतम १८० र अधिकतम २०० रुपैयाँ रहेको छ भने सखरखण्ड न्यूनतम ५० र अधिकतम ८० रुपैयाँ र मडे तरुल न्यूनतम ६० र अधिकतम ७० रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा मूल्यमा भने केही कम भएको श्रेष्ठले जानकारी दिए ।

यस्तै, बजारमा माघेसंक्रान्तिको रौनक छाएसँगै तरुल, सखरखण्ड र पिडालुको व्यापार राम्रो भएको छ । शान्तीनगर तरकारी बजारका व्यापारी बसन्त श्रेष्ठले तरुल बिक्री बढेको बताए । उनले सेतो तरुल, बैजनी तरुल, सिमल तरुल बिक्री गरेको बताउँछन् । माघे संक्रान्ति नजिकिएपछि ग्राहकहरु तरुल किन्न भिड लागेका छन् ।

उनले यस वर्ष माघेसंक्रान्तिका लागि करिब २० टन तरुल आयात गरेको बताए । ‘गत वर्षको तुलनामा मूल्यमा केही कमी आएको हुनाले आयात बढी गरेको हो । आयात गरे अनुसार व्यापार पनि राम्रो भएको छ । यही एक सिजनमा मात्र तरुल व्यापार हुने हुँदा यसबाट राम्रै मुनाफा लिन सकिन्छ’ उनले भने ।

उनले चितवनबाट तरुल ल्याएर बिक्री गरिरहेको बताए । उनले भने,‘उपभोक्ताको रोजाईमा बैजनी तरुल रहेको छ । सोही अनुसार यस वर्ष चितवनबाट बैजनी तरुल ल्याएको थिए । अहिलेसम्म राम्रो व्यापार भएको छ ।’
सोही तरकारी बजारमा व्यापार गर्दै आएकी सरिता तामाङले तरुलको सिजन माघे संक्रान्तिमा मात्रै भएकाले पनि अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताउँछिन् ।

मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने उनको भनाइ छ । उनले गोलभेडाको व्यापार गर्दै आएकी थिइन् यस पटक गोलभेडाको भाउ महँगिएकाले तरुल मगाएर व्यापार गरेको बताउँछिन् । उनले माघे संक्रान्तिका लागि आफूले करिब १२ टन तरुल ल्याएको बताइन् ।

गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको उनी बताउँछिन् । यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो रहेको उनको भनाइ छ ।

तरुल चिसो मौसममा उत्पादन हुने भएकाले स्वास्थ्यका लागि लाभदायी मानिन्छ । चिसोमा तरुल खाँदा शरीरलाई शक्ति प्रदान गर्नुको साथै फाइबर र विभिन्न प्रकारको भिटामिन पाउन सकिन्छ । सूचना अधिकारी श्रेष्ठका अनुसार तरकारी बजारमा मुख्य रूपमा चितवन, बारा, दाङ, धादिङ, नुवाकोट, गोरखा, सर्लाही, मोरङलगायतका स्थानहरुबाट तरुल, पिँडालु र सखरखण्ड राजधानीमा भित्रिएको हो ।

तरुलका विभिन्न परिकार बनाएर खाने चलन हुँदा यस पर्वमा तरुलको व्यापार बढ्ने गरेको छ । अहिले बजारमा करिब एक दर्जन प्रकारको तरुल पाइन्छ । बजारमा पाइने तरुलको प्रजातिअनुसार यसको मूल्य फरक हुने गरेको उनले बताए ।

नेपाली समाजमा ‘पुस पाके माघ खाए’ भन्ने लोकप्रिय प्रचलन रहेको छ । यही मान्यता अनुसार पुस मसान्तको रातमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे संक्रान्तिको बिहान खाने गरिन्छ । जाडो मौसममा खाइने घिउ, चाकु, तिलका परिकार, खिचडी र तरुलले शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वका लागि उपत्यकाका उपभोक्ताहरू यतिबेला किनमेलमा व्यस्त छन् ।

तरुलमा नेपाल आत्मनिर्भर

तरकारी तथा फलफूल बिक्री केन्द्रको रुपमा रहेको कालीमाटी तथा फलफूल बजारमा खपत हुने कन्दमूलमध्ये अधिकांश नेपालकै उत्पादन रहेको सूचना अधिकारी श्रेष्ठले बताए । पुस महिनामा मात्रै तरुल, सखरखण्ड र पिँडालु गरी दुई हजार ११७ टन कालीमाटी आगमन भएको उनको भनाइ छ । जसमध्ये सखरखण्ड, तरुल र पिँडालु नेपालकै उत्पादनले धानेको उनको भनाइ छ ।

पुस महिनाभरि कालीमाटी तरकारी बजारमा आएको कन्दमुलमा तरुलको हिस्सा धेरै छ । कुल एक हजार २८५ टन तरुल आएको छ । सखरखण्ड ५९२ टन भित्रिएको छ ।

त्यस्तै, पिँडालु २३९ टन भित्रिएको छ । जसमध्ये सबै नेपालकै उत्पादन रहेको छ । कालीमटीमा आएको तरुलमध्ये सर्लाही, सुनसरी, धादिङ्, झापा, चितवन, नवलपरासी, मकवानपुर र मोरङको छ । सोहीअनुसार पिँडालु चितवन, नवलपरासी, काभ्रेबाट आएको छ भने सखरखण्ड धादिङ्, काभ्रे, नुवाकोट, सुनसरी झापा र चितवनबाट आएको छ ।

यो वर्ष पनि गतवर्षजस्तै बिक्री वितरण भइरहेको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष पनि गतवर्षजस्तै कन्दमूलको बिक्री भइरहेको छ, पहिले काठमाडौंमा बिक्री हुने अधिकांश स्थानहरुमा कालीमाटीमा आएर नै अन्यत्र जाने गरेको थियो । जसबाट उपत्यकामा कति भित्रियो भन्ने थाहा हुन्थ्यो ।’ अहिले धेरै स्थानबाट बिक्री हुने भएकाले कति आयो भने यकिन तथ्यांक नभए पनि अघिल्लो वर्षकै हाराहारीमा आएको उनले बताए ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।