संकटमा विश्व अर्थतन्त्रः डलरको शस्त्रीकरण र वस्तु बजारको उथलपुथलले के संकेत गर्दैछ ?


काठमाडौं । अहिलेको विश्वव्यापी बजारलाई हेर्दा एउटा अत्यन्तै अनौठो र विरलै देखिने दृष्य देखिन थालेको छ । वर्तमान विश्व बजारमा वस्तु (कमोडिटी) को मूल्य र मागमा देखिएको अपत्यारिलो उतारचढावले विश्व आर्थिक प्रणालीभित्र एउटा गम्भीर संकटको सङ्केत गरेको छ ।
एकातिर भू–राजनीतिक तनाव र युद्धको त्रासले सुन, चाँदी, तामा जस्ता सुरक्षित धातुको मूल्य आकाशिँदो छ भने अर्कोतिर डलरको बढ्दो शस्त्रीकरणले अन्तर्राष्ट्रिय रुपमा व्यापारिक विश्वास धर्मराएको देखिन्छ ।

अमेरिकाले आफ्‌नो राजनीतिक स्वार्थ पूरा गर्न र विपक्षी देशहरूलाई दबाउन डलरलाई एउटा हतियारको रूपमा प्रयोग गर्दै आएको छ । सोही कारण नै पछिल्ला वर्षहरूमा डलरप्रतिको लगानीकर्ताको विश्वास धर्मराउँदै आएको देखिन्छ ।

सामान्यतया सुन चाँदीको मूल्य बढ्दा डलरको मूल्य घटेको हुन्छ भने डलरको मूल्य घट्दा सुनचाँदी जस्ता कमोडिटीको मूल्य बढेको हुन्छ । अर्थात्, लगानीकर्ताहरूले एउटाको विकल्पमा अर्को लिने गरेका हुन्छन् । तर अहिले सुन, चाँदी, तामा, प्लेटिनम, प्यालेडियम सबैको मूल्य एकैसाथ आकाशिएको छ । त्यससँगै डलरको मूल्य पनि निरन्तर बढ्दो छ । यसले बजारको अस्वभाविक अवस्था देखाउने अर्थतन्त्रका जानकारहरू बताउँछन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण सबै कमोडिटीको मूल्य बढिरहेको हो । अमेरिकी फेडेरल रिजर्भले ब्याजदर घटाएका कारण पनि लगानीकर्ताहरू कमोडिटीतर्फ आकर्शित भएका छन् । जसले गर्दा माग बढायो र मूल्य वृद्धि भयो । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा उच्च स्तरमा पुर्‍याएको फेडरल फण्ड रेटलाई क्रमशः घटाउँदै २०२५ अक्टोबरमा ३.७५–४.०० प्रतिशतमा सीमित गरेको छ । यसले सस्तो ब्याजमा ऋण लिएरै भएपनि कमोडिटीमा लगानी गर्न लगानीकर्तालाई केही सहज भएको देखिन्छ ।
अर्थविद् चन्द्रमणि अधिकारी संसारले उपभोग गर्ने लगभग सबै प्रमुख वस्तुहरूमा एकसाथ मूल्यवृद्धि हुनु दुर्लभ घटना भएको बताउँछन् । उनका अनुसार विश्व अर्थतन्त्र स्थिर र स्वस्थ भएको अवस्थामा यस्तो दृश्य देखिँदैन ।

अर्थविद् नरबहादुर थापा अहिलेको यो महँगीले विश्वव्यापी आर्थिक प्रणालीको सतहमुनि कुनै ठुलो आँधी आउन लागेको सङ्केत गरिरहेको छ । उनी भन्छन्,‘विश्व अर्थतन्त्रलाई नियाल्दा अहिले मन्दी र अनिश्चितताको संकेत देखिएको छ । यसमा सबै पक्ष चनाखो हुनुपर्ने समय आएको छ ।’

युद्धको त्रास र असुरक्षित लगानीकर्ता
इरान, इजरायल र अमेरिकाबीचको बढ्दो द्वन्द्व र असमझदारीले गर्दा मध्यपूर्वी देशहरूमा जुनसुकै बेला ठुलो युद्ध भड्किन सक्ने खतरा बढेको छ । जब विश्वमा युद्धको छाया मडारिन्छ, लगानीकर्ताहरू डराउँछन् उनीहरूले आफ्‌नो पैसा उद्योग, सेयर बजार वा बैंकमा राख्नुभन्दा सुन वा चाँदी जस्ता भौतिक धातुमा लगानी गर्नु सुरक्षित ठान्छन् ।

सुन र चाँदीको आफ्‌नै एउटा सञ्चित मूल्य हुन्छ । कागजको नोट ((डलर वा रुपैया) को मूल्य सरकारको स्थायित्वमा भर पर्छ, तर सुनमा गरिएको लगानी इतिहासदेखि नै भरपर्दो मानिँदै आएको छ । अहिले निजी लगानीकर्ता मात्र होइन, विश्वका विभिन्न देशका केन्द्रीय बैंकहरूले समेत धमाधम सुनमा लगानी बढाइरहेका छन् । सबैले सुरक्षा खोज्दा बजारमा यी धातुहरूको माग अस्वभाविक रूपमा बढाउँदै लगिरहेको छ । माग बढेसँगै धातुहरूको मूल्य पनि अस्वभाविक नै बढिरहेको देखिन्छ ।

डलरको शस्त्रीकरण र घट्दो विश्वास
अहिले विश्व अर्थतन्त्रमा एउटा नयाँ शब्द चर्चामा छ— ‘डलरको शस्त्रीकरण, अमेरिकाले आफ्‌नो राजनीतिक स्वार्थ पूरा गर्न र विपक्षी देशहरूलाई दबाउन डलरलाई एउटा हतियारको रूपमा प्रयोग गर्दै आइरहेका छन् । कुनै देशलाई मन नपरेमा उसलाई डलरको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाटै बाहिर राखिदिने वा प्रतिबन्ध लगाउने कार्यले विश्वका अन्य मुलुकहरू सशंकित भएका छन् । यसैको परिणामस्वरुप, अहिले विश्व एकध्रुवीय (अमेरिकाको मात्र दबदबा भएको) बाट बहुध्रुवीय (धेरै शक्ति केन्द्र भएको) बन्दै गएको अर्थविद् अधिकारीको विश्लेषण छ ।

रुस, चीन र अन्य धेरै देशहरूले अब डलरको साटो आफ्‌नै स्थानीय मुद्रामा अन्तर्राष्ट्रिय व्यापार गर्ने तयारी गरिरहेका छन् । डलरप्रतिको यो घट्दो विश्वासले गर्दा पनि मानिसहरू वैकल्पिक लगानीको रूपमा धातुजन्य वस्तुतर्फ आकर्षित भएको उनी बताउँछन् ।

अमेरिकी ऋणको बोझ र आर्थिक संकट

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भनिएको अमेरिका आफैँ अहिले गहिरो ऋणमा डुबेको छ । पछिल्लो तथ्यांक अनुसार, अमेरिकाको आन्तरिक ऋण यति धेरै बढेको छ कि उसले त्यो ऋणको ब्याज मात्र तिर्न वार्षिक एक ट्रिलियन (१० खर्ब) डलर खर्च गरिरहेको छ । यो कुनै सानो रकम नभएको बताउँदै विज्ञहरु भन्छन्, ‘जब कुनै शक्तिशाली देशले आफ्‌नो आम्दानीको ठुलो हिस्सा ब्याज तिर्नमै खर्च गर्छ, तब उसको मुद्रा (डलर) अस्थिर हुन थाल्छ । डलर कमजोर हुनु भनेको प्रत्यक्ष रूपमा सुन र तेलको मूल्य महँगो हुनु हो ।’

तेलको राजनीति र अस्थिरता

विश्व अर्थतन्त्रमा तेलको बजार पनि अहिले राजनीतिको चपेटामा छ । भेनेजुएलाबाट चीनतर्फ हुने तेल निर्यात रोकिन सक्ने डर र इरानमाथिको अमेरिकी प्रतिबन्धले गर्दा आपूर्ति व्यवस्था खलबलिएको छ । तेल गाडी चलाउन मात्र नभएर उद्योगधन्दा सञ्चालन गर्न र सामान ओसारपसार गर्न अनिवार्य हुन्छ । त्यसैले, तेलको मूल्य बढ्दा संसारभरि नै महँगी बढ्छ । अहिलेको यो तेलको राजनीतिले गर्दा लगानीकर्ताहरू झन् बढी अत्तालिएको विज्ञहरू बताउँछन् ।

प्रविधि र औद्योगिक माग

अहिले प्रविधिको विकास तीव्र छ । मोबाइल, ल्यापटप, इलेक्ट्रिक गाडी र सोलार प्यानल जस्ता सामान बनाउन चाँदी, तामा र आल्मुनियम जस्ता धातुहरू अनिवार्य हुन्छन् । चाँदी, तामा र आल्‌मुनियम औद्योगिक विकासका मेरुदण्ड नै हुन् । प्रविधिको बढ्दो माग र खनिजहरूको सीमित उपलब्धताका कारण यी वस्तुहरूको मूल्य बढिरहेको छ । विश्व अर्थतन्त्रमा यो नयाँ चुनौतीको रूपमा अगाडि आएको विज्ञहरू बताउँछन् ।

बिटक्वाइन र लगानीको अन्योल

लगानीकर्ताहरूले अहिले ‘बिटक्वाइन जस्ता डिजिटल मुद्रामा पनि ठूलो लगानी गरिरहेका छन् । कतिपय लगानीकर्ताहरूले यसको मूल्यमा भएको उतारचढावका कारण सुन चाँदीतिरै लगानी बढाउने मनसाय समेत बढाउँदा त्यसले पनि यी धातुहरूको मूल्य बढाउन भूमिका खेलेको देखिन्छ ।

इतिहासको पुनरावृत्तिः रोमन साम्राज्यको पाठ

अर्थविद् अधिकारी अहिलेको अवस्थालाई इतिहासको एउटा कालखण्डसँग तुलना गर्छन् । रोमन साम्राज्यको पतन हुने समयमा पनि यस्तै राजनीतिक उथलपुथल र आर्थिक अस्थिरता देखिएको उनले बताए । इतिहास सधैँ एउटा चक्रमा चल्‌छ । जब शक्ति केन्द्रहरू परिवर्तन हुन्छन्, तब आर्थिक क्षेत्रमा ठुलो पराकम्प आउँछ । अहिलेको राजनीतिक उथलपुथलले पनि विश्व अर्थतन्त्रलाई मन्दीतर्फ धकेलिरहेको सङ्केत दिएको छ ।
अहिलेको कमोडिटी बजारमा विश्वव्यापी रूपमा आएको महँगी केवल माग र आपूर्तिको खेल मात्र नभएर विश्व राजनीति र आर्थिक प्रणालीमा आउन लागेको एउटा सङ्कटको पूर्वसङ्केत भएको जानकारहरु बताउँछन् ।

डलरको घट्दो साख, युद्धको सम्भावना, अमेरिकी ऋणको बोझ र तेलको राजनीतिले गर्दा आगामी दिनहरू अझ बढी चुनौतीपूर्ण हुने देखिन्छ ।
साथै डलरको मूल्यसँगै प्रमुख वस्तुहरूको मूल्य पनि एकसाथ बढ्नुले सन्देश दिइरहेको छ कि–विश्व अर्थतन्त्र अहिले निकै गहिरो तनावमा छ ।

नेपालमा पर्ने असर कस्तो ?

विश्व बजारमा आएको यो अवस्थाले नेपालमा पनि छिटफुट असर पार्न थालिसकेको छ । व्यवसायीहरू निर्यातमा लागत र बजार मूल्य बढेको बताउँछन् । यसले क्रमशः सामानको मूल्य बढ्ने देखिने उनीहरूको अनुमान छ । तर तत्कालको लागि विदेशी मुद्रा सञ्चिती पर्याप्त हुँदा नेपालको अर्थतन्त्रमा खासै असर नपर्ने जानकारहरूको अनुमान छ ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टका अनुसार तत्काल नेपालको शोधानान्तर बचत उल्लेख्य रहेको, मुद्रास्फीति न्यून रहेको र विदेशी मुद्रा सञ्चिती उल्लेख्य रहेको अवस्थामा असर पर्ने देखिँदैन । ‘आन्तरिक आर्थिक क्रियाकलाप बढेको र विश्व अर्थतन्त्रको यो अवस्था लामो समयसम्म रहेमा भने नेपाललाई पनि गम्भीर असर पर्ने देखिन्छ,’ उनले भने ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।