काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को परिणामले मुलुकको राजनीतिमा ठुलो उलटफेर ल्याएको छ । पुराना र स्थापित दल नेकपा एमाले र नेपाली कांग्रेसका प्रायः सबै शीर्ष पदाधिकारीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूसँग भारी मतान्तरले पराजित भएका छन् । यो हारसँगै आगामी ५ वर्षका लागि दुवै दलका मुख्य नेतृत्व संसद् बाहिर रहने निश्चित भएको छ ।
एमालेका सबै पदाधिकारी संसद् बाहिर, ओलीको लज्जास्पद हार
नेकपा एमालेमा केन्द्रिय पदाधिकारीहरुको संख्या १९ रहेको छ । तर अध्यक्ष ओलीले ११ जना पदाधिकारीहरुलाई मात्र टिकट दिएका थिए । जसमध्ये १० जना पराजित भइसकेका छन् भने एक जनाको अवस्था निकै कमजोर छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहसँग भारी मतान्तरले पराजित भएका छन् । साहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे ।
उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलसँग पराजित भएका छन् । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मतमा चित्त बुझाउनु पर्यो । अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थीसँग र पृथ्वीसुब्बा गुरुङ लमजुङमा रास्वपाकै धर्मराज केसीसँग पराजित भएका छन् । गुरुङले १६ हजार ८७६ मत पाउँदा केसीले ३३ हजार ८९८ मत प्राप्त गरे ।
एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा रास्वपाका विपिन आचार्यसँग पराजित भएका छन् । आचार्यले ४३ हजार ८२२ मत ल्याउँदा पोखरेलले १५ हजार ५५८ मत मात्र प्राप्त गरे । सचिव महेश बस्नेत भक्तपुर–२ मा ४२ हजार ३३४ मत ल्याएका राजीव खत्रीसँग पराजित हुन पुगे । काठमाडौँ–४ मा सचिव राजन भट्टराई र तेह्रथुममा भानुभक्त ढकाल पनि पराजित भएका छन् । उपमहासचिव रघुवीर महासेठ धनुषा–४ मा रास्वपाका राजकिशोर महतोसँग पराजित हुँदा लेखराज भट्ट कैलाली–४ रास्वपाका उम्मेदवारसँग पराजित हुन पुगेका छन् । भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई पनि निकै कम मतका साथ तेस्रो स्थानमा खुम्चिने देखिएका छन् ।
एमालेका अन्य पदाधिकारीहरू रामबहादुर थापा ‘बादल’, रघुजी पन्त र पद्मा अर्याल प्रत्यक्ष निर्वाचनमा सहभागी भएका थिएन्न । उनीहरूलाई समानुपातिकमा राखिदा उपमहासचिव योगेश भट्टराईलाई ओलीले टिकट दिएका थिएन्न ।
कांग्रेसका हस्तीहरू पनि ढलेः गगन, शेखर र निधि पराजित
नेपाली कांग्रेसको अवस्था पनि एमालेको जस्तै देखिएको छ । प्रधानमन्त्रीका दाबेदार मानिएका महामन्त्री गगन कुमार थापा काठमाडौँ–४ छोडेर सर्लाही–४ पुगे पनि हारबाट जोगिन भने असफल रहे । उनलाई रास्वपाका अम्रेशकुमार सिंहले पराजित गरेका छन् । थापाका पूर्व सहकमी समेत रहेका सिंहले ३५ हजार ६८८ मत पाउँदा थापाले २२ हजार ८३१ मत मात्र प्राप्त गर्न सके ।
मोरङ–६ मा कांग्रेसका अर्का प्रभावशाली नेता शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग ४२ हजार ६६३ को भारी मतान्तरले पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे । धनुषा–४ मा पूर्वपदाधिकारी विमलेन्द्र निधिलाई रास्वपाका मनीष झाले २७ हजार १५० मतान्तरले पराजित गरे । झाले ४३ हजार १४२ मत ल्याउँदा निधिले १५ हजार ९१२ मत पाए ।
कांग्रेसका दुई उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल यो निर्वाचनमा उम्मेदवार नै बनेका थिएन्न । महामन्त्री प्रदीप पौडेल काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेलसँग पराजित हुन पुगे । पोखरेलले ३० हजार ७३७ मत पाउँदा पौडेलले ९ हजार १५१ मत मात्र ल्याए । अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीसँग पराजित भएका छन् । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे ।
सह-महामन्त्रीहरूको अवस्थाः कोही पराजित, कोही मैदान बाहिर
कांग्रेसका सह–महामन्त्रीहरू प्रकाश रसाईली स्नेही, उदय शमशेर राणा र फरमुल्लाह मन्सुर पनि पराजित भएका छन् । बझाङ्मा स्नेहीलाई एमालेका ऐन महरले पराजित गरे भने ललितपुर–१ मा उदय शमशेर राणा रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित हुन पुगे । महर्जनले २३ हजार ३७३ मत पाउँदा राणाले १३ हजार ५२० मत मात्र पाए ।
बारा–३ बाट उम्मेदवार रहेका फरमुल्लाह मन्सुर रास्वपाका अरविन्द साहसाग पराजित भएका छन् । साहले ४० हजार ६१७ मत ल्याउँदा मन्सुरले १० हजार ५२ मत मात्र पाए । दाङ–१ मा सह–महामन्त्री योगेन्द्र चौधरीलाई रास्वपाका देवराज पाठकले पराजित गरे । पाठकले ४२ हजार ६०२ मत पाउँदा चौधरी १५ हजार २८० मतमा समेटिन पुगेका छन् । डोल्पामा कर्ण बहादुर बुढा नेकपाका धनबहादुर बुढासँग पराजित हुँदै तेस्रो स्थानमा खुम्चिएका छन् ।
यद्यपि, सह-महामन्त्रीहरू डिला संग्रौला, मुक्तकुमारी यादव र बहादुर सिंह लामा भने यो पटक चुनावी मैदानमा उत्रिएका थिएन्न ।
अन्य हेभीवट को–कहाँबाट पराजित भए
यस्तै यो निर्वाचनमा नेकपाका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ बाट रास्वपा उम्मेदवारसँग पराजित भएका छन् । रास्वपाका उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गर्दा नेपाल ७ हजार ७६९ मत सहित तेस्रो स्थानमा खुम्चिएका छन् । नेकपाका नेता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ १ मा रास्वपाकी उम्मेदवार आसिका तामाङसँग पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट रास्वपाका प्रकाश पाठकसँग पारजित भएका छन् । पाठकले ३८ हजार ६७४ मत पाउँदा लिङ्देनले १७ हजार २९४ मत मात्र उापँन सके ।
यस्तै यो निर्वाचनमा मधेवादी दलहरू पनि संसदयि यात्राबाटा बाडारिन पुगेका छन् । मधेसवादी दलहरूले संसदमा एक सिट पनि जित्न सकेन्न ।
यो निर्वाचन परिणामले नेपालको परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूर्ण रूपमा भत्काउँदै नयाँ शक्तिको रूपमा रास्वपालाई स्थापित गरिदिएको छ ।










प्रतिक्रिया