७ महिनामा २ खर्ब २२ अर्ब कर्जा विस्तार : पुसमा उत्साहित, माघमा फेरि सुस्त


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले साउनदेखि माघ मसान्तसम्ममा कुल २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यससँगै बैंकहरूको कुल कर्जा लगानी ५१ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा यो वृद्धिदर केही सुस्त देखिए पनि चालु वर्षको सुरुका महिनाको तुलनामा अहिलेको अवस्था सुधारोन्मुख रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कर्जा प्रवाह २ खर्ब ८३ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । तर, महिनागत रूपमा हेर्दा चालु आवमा कर्जा प्रवाह स्थिर रहेको छैन् ।

पुसको उत्साह, माघमा ब्रेक

केन्द्रिय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । त्यसपछि भदौ र असोजमा क्रमशः ४३ अर्ब र ३३ अर्ब रुपैयाँले कर्जा बढेर केही उत्साह देखिएको थियो । तर, कात्तिकमा फेरि १७ अर्ब ८९ करोड रुपैयाँले कर्जा प्रवाह ऋणात्मक रहेको थियो ।

मंसिरमा २७ अर्बले सुधारिएको कर्जा प्रवाह पुस महिनामा भने उत्साहित रुपमा बढेको थियो । मंसिर मसान्तसम्म १ खर्ब २ अर्ब रहेको कुल कर्जा वृद्धि पुस मसान्तमा १ खर्ब ९७ अर्ब नाघेको थियो । अर्थात्, पुस महिनामा मात्रै झण्डै ९५ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो । यो चालु आवको सात महिनामा भएको कुल कर्जा विस्तारको करिब ४३ प्रतिशत हो ।

पुसमा उच्च दरले बढेको कर्जा प्रवाह माघमा भने फेरि सुस्त भएको छ । माघ महिनामा २४ अर्ब ३७ करोड रुपैयाँ मात्र कर्जा विस्तार भएको देखिन्छ । पुसको तुलनामा माघको यो वृद्धिदर निकै कम हो ।
पुसमा किन बढ्यो कर्जा ?

जानकारहरूका अनुसार पुसमा कर्जा बढ्नुको मुख्य कारण दोस्रो त्रैमासको अन्त्य (अर्धवार्षिक समिक्षा) हुने भएकाले बैंकहरूले आफ्नो व्यावसायिक लक्ष्य पूरा गर्न कर्जा विस्तारमा जोड दिएका हुन् । साथै, पुस महिनामा व्यवसायीहरूले आयकरको पहिलो किस्ता बुझाउनुपर्ने भएकोले पनि कर्जा प्रवाह बढेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार पुस मसान्त बैंकिङ कारोबारका लागि विशेष समय हो । “यो समयमा कर तिर्ने, सरकारी कारोबार बढ्ने र बैंकहरूले अर्धवार्षिक समीक्षा गर्ने हुँदा कर्जा प्रवाह बढेको देखिएको हो,” पौडेलले भने, “पहिले नै स्वीकृत भइसकेका कर्जाहरू पनि व्यवसायीले यही समयमा बढी उपयोग गर्दछन् ।” आर्थिक वर्षको मध्यदेखि आर्थिक गतिविधि बढ्ने भएकाले पनि कर्जा मागमा सुधार आएको उनले बताए ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालका अनुसार व्यवसायीहरूले पुसमा सरकारलाई ४० प्रतिशत सम्म आयकर बुझाउनुपर्छ । “नगद प्रवाहमा दबाब पर्ने भएकाले धेरै व्यवसायीले ओभरड्राफ्ट वा वर्किङ क्यापिटल ऋण लिएर कर तिर्ने गर्छन्, यसले गर्दा पनि कर्जा प्रवाह बढेको हो,” दाहालले भने ।

यस्तै, पछिल्लो समय ब्याजदर घट्दै जानुले पनि कर्जा मागमा केही सहयोग पुगेको छ । तर, पुसमा कर तिर्न लिइएको ऋण माघमा फिर्ता हुने र नयाँ लगानीका लागि व्यवसायीहरू पर्ख र हेरको अवस्थामा रहेकाले माघमा वृद्धिदर कम देखिएको विज्ञहरूको बुझाइ छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल आर्थिक वर्षको मध्य भएको र फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन तयारीको लागि पनि पुषमा कर्जा प्रवाह बढेको बताउँछन् । साथै बजारमा विस्तारै आत्मविश्वास बढ्ढै गएको हुँदा आगामी दिनमा कर्जा प्रवाह उत्साहित रुपमा बढ्ने उनको विश्वास छ । “यसअघि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा थिए, तर अब स्थिर र बलियो सरकार बन्ने भएपछि अहिले नभए कहिले होला भन्नेमा सबै उत्साहित छन्,” उनले भने । अहिले बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको र ब्याजदर पनि घट्दो क्रममा रहेकोले आगामी महिनाहरूमा कर्जा प्रवाह अझै बढ्ने संकेत देखिएको उनले बताए ।

कर तिर्ने र बैंकको लक्ष्य पु¥याउने चटारोले पुसमा कर्जा प्रवाह बढे पनि माघको सुस्तताले वास्तविक औद्योगिक माग अझै कमजोर रहेको देखाउँछ । बजारमा रहेको सहज तरलता र सस्तो ब्याजदरलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको जानकारहरूको भनाई छ । अब बन्ने रास्वपाको एकल बहुमतको सरकारले ल्याउने आर्थिक नीतिले आगामी दिनमा कर्जा प्रवाहको दिशा निर्धारण गर्ने विज्ञहरू बताउँछन् । बैंकहरूमा थुप्रिएको तरलता र सस्तिएको ब्याजदरको सदुपयोग गरेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकेमा मुलुकको अर्थतन्त्रले नयाँ उचाई लिने विज्ञहरूको भनाई छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।