सस्तो ब्याजदरले सुस्तता चिर्न नसकेको सेयर बजार : नीतिले उचालेको २०८१, राजनीतिले थिचेको २०८२


काठमाडौँ । सेयर बजारमा एउटा सरल सिद्धान्त छ, जब बैंकको ब्याजदर घट्छ, सेयर बजार बढ्छ । तर, नेपाल स्टक एक्सचेन्जको विगत तीन वर्षको तथ्यांक हेर्दा यो मान्यता सधैँ सत्य सावित नहुने पुष्टि भएको छ ।

बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएर ब्याजदर इतिहासकै न्यून बिन्दुमा झर्दा समेत चालू आर्थिक वर्ष २०८२ मा सेयर बजारले अपेक्षित गति लिन सकेको छैन् । ब्याजदर तुलनात्मक रूपमा महँगो रहेको अघिल्लो वर्ष २०८१ मा भने नीतिगत सुधारका कारण बजारमा उत्साह देखिएको थियो ।

२०८० फागुन महिनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा २०८१ को सोहि अवधिमा औषत ब्याजदर ६.०१ प्रतिशत रहेको थियो । यो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औषत ब्याजदर ४.५७ प्रतिशत रहेको थियो । यसले सेयर बजार केवल सस्तो पैसाले मात्र नभएर देशको राजनीतिक वातावरण र नीतिगत सुनिश्चितताले बढी निर्देशित हुने देखाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बजारमा तीव्र उतारचढाव देखिन्छ । २०८० सालको फागुन मसान्तमा २१७८.७३ बिन्दुमा रहेको नेप्से परिसूचक त्यसको एक वर्षपछि अर्थात् २०८१ फागुन मसान्तसम्म आइपुग्दा करिब ३० प्रतिशतले बढेर २७३६.४४ को उच्च बिन्दुमा पुगेको थियो । तर, २०८२ सालमा आइपुग्दा बजारको यो वृद्धिमा अचानक ब्रेक लागेको छ । यस वर्षको फागुन मसान्तमा नेप्से परिसूचक २८२०.४५ बिन्दुमा मात्र सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा यो वृद्धि निकै सुस्त हो, जसले लगानीकर्तामा उत्साहभन्दा बढी अन्योल बढाएको संकेत गर्दछ ।

२०८१ सालमा बजारले उच्च उचाइ लिनुको मुख्य कारण तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको कार्यगत एकता रहेको जानकारहरू बताउँछन् । विगतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा लगानीकर्ताले मार खेप्नुपरेको उनीहरूको गुनासो थियो । तर, २०८१ मा अर्थनीति र वित्तनीतिको तादाम्यता मिलेको सरोकारवालाहरूको भनाई छ । अर्थमन्त्री पौडेलले बजारप्रति सकारात्मक धारणा राख्ने र गभर्नर अधिकारीले सोहीअनुसार लचिलो मौद्रिक नीति ल्याउने वातावरण बनेको थियो । यसैको परिणामस्वरुप राष्ट्र बैंकले वर्षौँदेखि लगानीकर्ताहरूले माग गर्दै आएको नीतिगत गाँठो फुकाइदिएको थियो ।

उक्त वर्ष संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोड रुपैयाँको सेयर कर्जा सीमा खारेजी भएको थियो । यसअघि ठूला कम्पनी वा संस्थाहरूले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दा २० करोडभन्दा बढी लिन नपाउने व्यवस्था थियो । यो सीमा हटेपछि बजारमा अर्बौँ रुपैयाँ भित्रिने बाटो खुलेको थियो । दोस्रो महत्वपूर्ण कदम ५० लाख रुपैयाँभन्दा माथिको सेयर कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्नु थियो । यसले बैंकहरूलाई सेयर बजारमा कर्जा प्रवाह गर्न सजिलो बनाउँदा बजारमा तरलता अर्थात् पैसाको प्रवाह बढ्न पुगेको थियो । यी नीतिगत सुधारले लगानीकर्तामा आत्मविश्वास बढाउँदा बजारले फड्को मारेको थियो ।

तर, २०८१ को उत्साह २०८२ मा भने निरन्तर हुन सकेन । २०८२ मा बैंकहरूमा तरलता पर्याप्त छ, ब्याजदर एकल अंकमा रहेको छ, तर बजार बढ्नुको साटो सुस्त हुनपुगेको छ । यसको मुख्य कारण राजनीतिक अस्थिरता र सडक आन्दोलनको डर रहेको जानकारहरू बताउँछन् । भदौ महिनामा भएको जनजी आन्दोलन र त्यसपछिको राजनीतिक समीकरणमा आएको फेरबदलले लगानीकर्ताको मनोबल गिराएको छ । सेयर मार्केट एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट भन्छन्, “बजार चल्नका लागि पैसा मात्र भएर पुग्दैन, लगानी गर्ने वातावरण पनि सुरक्षित हुनुपर्छ । २०८२ मा ब्याजदर सस्तो भए पनि राजनीति र आन्दोलनले गर्दा लगानीकर्ताले आफ्नो पैसा सुरक्षित देखेनन् ।”

यस वर्ष बजार सुस्त हुनुमा नाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्तिको पनि ठूलो भूमिका रहेको छ । अघिल्लो वर्ष बजार उच्च अंकले बढेका बेला सस्तोमा सेयर किनेका लगानीकर्ताहरूले २०८२ मा आइपुग्दा आफ्नो नाफा निकालेर बजारबाट बाहिरिँदा पनि बजार सुस्त हुन पुगेको हो । विशेषगरी फाइनान्स र बीमा जस्ता क्षेत्रमा अघिल्लो वर्ष अस्वाभाविक मूल्य बढेको थियो, जहाँ यस वर्ष ठूलो गिरावट आएको देखिन्छ । बजारमा नयाँ उत्साहजनक समाचारको अभाव र बैंकहरूको व्यवसायमा आएको संकुचनले पनि साना लगानीकर्तालाई थप लगानी गर्न निरुत्साहित गरेको देखिन्छ ।

पछिल्लो तीन वर्षमा लगानीकर्ताको आकर्षण जलविद्युत (हाइड्रोपावर) तिर मोडिएको छ । २०८० सालमा १ खर्ब ७३ अर्बको मात्र कारोबार भएको जलविद्युत समूहमा २०८२ सम्म आइपुग्दा ८ खर्ब २८ अर्ब रुपैयाँको कारोबार भएको छ । यसको विपरीत, वाणिज्य बैंकहरूको कारोबार भने अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको छ । विकास बैंक, लघुवित्त र बीमा क्षेत्रमा पनि २०८२ सालमा ठूलो सुस्तता छाएको छ ।

बजारको कुल पूँजीकरणको अवस्था पनि परिसूचक जस्तै सुस्त छ । २०८१ सालमा कुल बजार पुँजीकरण करिब ४५ खर्ब ४३ अर्ब पुगेकोमा २०८२ सम्म आइपुग्दा यो जम्मा ४७ खर्ब ४४ अर्बमा सीमित भएको छ । कारोबार रकममा पनि सामान्य १.६० प्रतिशतको मात्र वृद्धि देखिएको छ । यसले नयाँ लगानीकर्ताहरू बजारमा भित्रिने क्रम घटेको र पुराना लगानीकर्ताहरू पनि पर्ख र हेरको स्थितिमा रहेको संकेत गर्छ ।

यति हुँदाहुँदै पनि, २०८२ को अन्त्यतिर लगानीकर्ताहरूमा केही आशाका किरणहरू देखा परेको रानाभाट बताउँछन् । मुलुकमा निर्वाचन सम्पन्न भई झण्डै दुई तिहाइ बहुमतको सरकार बन्ने निश्चित भएपछि राजनीतिक स्थिरता आउने विश्वास बढेको उनी बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाई बराबरको मत प्राप्त गरेको हुँदा लगानीकर्ता उत्साहित बनेको उनको भनाई छ ।

रास्वपाले आफ्नो वाचापत्रमा पूँजीबजारको विकासलाई प्राथमिकता दिएकाले आगामी दिनमा नीतिगत सुधार हुने आशा गरिएको छ । स्थिर सरकार बनेमा र राष्ट्र बैंकले थप लचिलो नीति लिएमा २०८२ को यो सुस्तता अन्त्य भई बजार पुनः लयमा फर्कनेमा लगानीकर्ताहरू आशावादी छन् । सेयर बजारमा पैसाको उपलब्धता जति जरुरी छ, त्योभन्दा बढी देशको राजनीति र स्थिरता आवश्यक रहेको जानकारहरू बताउँछन् ।

उप–समूहहरूको तीन वर्षे कारोबार

जलविद्युत समूह : यो समूहको २०८० मा १ खर्ब ७३ अर्बको कारोबार भएकोमा २०८१ मा २४६ प्रतिशतले बढेर ६ खर्ब ३ अर्ब पुग्यो । २०८२ मा पनि यसले आफ्नो वृद्धि कायम राख्दै ८ खर्ब २८ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

वित्त समूह : यो समूहमा सबैभन्दा बढी उतारचढाव देखिएको छ । २०८० मा २७ अर्बको कारोबार भएकोमा २०८१ मा ६४९ प्रतिशतको वृद्धिसहित २ खर्ब ४ अर्ब पुग्यो । तर, २०८२ मा यसको कारोबार ६९ प्रतिशतले घटेर ६२ अर्ब २८ करोडमा खुम्चिएको छ ।

वाणिज्य बैंक : बजारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैंकहरूको कारोबार २०८१ मा १ खर्ब ६८ अर्ब पुगेको थियो । तर २०८२ मा १८ प्रतिशतले घटेर १ खर्ब ३७ अर्बमा सीमित भएको छ ।

विकास बैंक : २०८१ मा १ खर्ब ४० अर्बको कारोबार गरेको यस समूहमा २०८२ मा ७ प्रतिशतको गिरावट आई १ खर्ब ३० अर्बको कारोबार भएको छ ।

लघुवित्त : लघुवित्तको कारोबार २०८१ मा १ खर्ब ५६ अर्ब पुगेकोमा २०८२ मा २९ प्रतिशतले घटेर १ खर्ब १० अर्ब कायम भएको छ ।

जीवन बीमा : २०८१ मा १ खर्ब २ अर्बको कारोबार भएको यस क्षेत्रमा २०८२ मा १६ प्रतिशतले कमी आई ८५ अर्ब रुपैयाँको कारोबार भयो ।

निर्जीवन बीमा : यो क्षेत्रमा २०८२ मा ४३ प्रतिशतको गिरावट देखिएको छ । २०८१ मा ७५ अर्बको कारोबार भएकोमा २०८२ मा ४२ अर्बमा झरेको छ ।

होटल तथा पर्यटन : यो समूहमा भने क्रमिक सुधार देखिएको छ । २०८० मा २६ अर्ब रहेको कारोबार रकम २०८१ मा ३६ अर्ब र २०८२ मा ४० अर्ब ९६ करोड पुगेको छ ।

उत्पादन तथा प्रशोधन : यस क्षेत्रको कारोबारमा निरन्तर वृद्धि देखिएको छ । २०८० मा ५३ अर्बको कारोबार भएकोमा २०८१ मा ८६ अर्ब र २०८२ मा १ खर्ब १५ अर्बको कारोबार भएको छ ।

लगानी समूह : २०८१ मा १ खर्ब २६ अर्बको कारोबार भएकोमा २०८२ मा कारोबार रकम ३ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब पुगेको छ ।

अन्य समूह : यो समूहमा २०८२ मा ३७ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार रकम १ खर्ब ४५ अर्ब पुगेको छ ।

व्यापार समूह : यस समूहको कारोबारमा ४२ प्रतिशतको गिरावट देखिएको छ । २०८१ मा ६ अर्ब ५५ करोडको कारोबार भएकोमा २०८२ मा ३ अर्ब ७७ करोडमा सीमित हुन पुगेको छ ।

ऋणपत्र : ऋणपत्रको कारोबारमा ३४ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड पुगेको छ । तीन वर्षको अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २७१ बाट बढेर २८६ पुगेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।