मुख्य सिजनमै बिटुमिन अभाव : विकास निर्माण ठप्प हुने अवस्थामा


काठमाडौँ । मुलुकमा विकास र निर्माणको कामले तीव्रता पाउने मुख्य समयमै बिटुमिन (अलकत्रा) को अभाव भएपछि विकास निर्माण प्रभावित बनेको छ ।

मध्यपूर्वमा जारी तनाव र अस्थिरताका कारण कच्चा पदार्थको आयातमा ठूलो अवरोध सिर्जना भएपछि राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहका साना सडक निर्माणसम्मका कार्यहरू सुस्त बनेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा आएको असहजताले सडक कालोपत्रे गर्नका लागि अनिवार्य मानिने बिटुमिनको अभाव चुलिएको निर्माण व्यवसायीहरूले बताएका छन् । नेपालले मुख्य रुपमा भारतबाट बिटुमिन आयात गर्ने गर्दछ ।

तर, हाल भारतको आफ्नै आयात प्रणाली र ढुवानी प्रक्रियामा समस्या आएपछि त्यसको असर नेपालको सडक निर्माण, मर्मत र विस्तारको कार्यमा देखिन थालेको व्यवसायीहरूको भनाइ छ । अभाव बढ्दै जाँदा यसको मूल्यमा पनि अस्वभाविक वृद्धि भएको छ ।
यसरी मूल्यमा भएको अस्वभाविक वृद्धि चरम अभावका कारण विकास निर्माणका कामहरूलाई निरन्तरता दिन नसकिने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाई छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको परिस्थिति निर्माण क्षेत्र र व्यवसायीहरूका लागि निकै चुनौतीपूर्ण र कष्टकर रहेको बताएका छन् । सिंहका अनुसार खाडी मुलुकमा जारी युद्ध र द्वन्द्वका कारण नेपालले माग अनुसारको परिमाणमा बिटुमिन प्राप्त गर्न सकेको छैन ।

“मध्यपूर्वमा युद्ध भइरहेकाले हामीले बिटुमिन पाउन सकिरहेका छैनौँ । बजारमा इन्धनको उपलब्धता पनि सहज छैन,” अध्यक्ष सिंहले भने, “ढुवानीका साधनमा ड्रमहरू राखेर इन्धन ओसार्न समेत नपाइने स्थिति बनेको छ ।” उनले बिटुमिनको मूल्य पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्मले वृद्धि भएको जानकारी दिएका छन् । यति धेरै महँगो मूल्य तिरेर काम गर्दा व्यवसायीहरूलाई ठूलो आर्थिक नोक्सानी हुने र काम नै अगाडि बढाउन नसकिने उनको दाबी छ ।

यस्तो जटिल र विषम अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि निर्माणका कामहरू रोकेर कन्स्ट्रक्सन होलिडे घोषणा गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष सिंहले सरकारले कुन काम अहिले तत्कालै सम्पन्न गर्ने र कुन काम केही समयपछि गर्दा पनि हुने भन्नेबारे एउटा स्पष्ट प्राथमिकताको सूची तयार पार्नुपर्ने सुझाव दिएका छन् । कच्चा पदार्थको अभाव र अत्यधिक महँगीको बेला जबर्जस्ती काम अगाडि बढाउनु बुद्धिमानी नहुने उनको ठम्याइ छ ।
यसैबीच, मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रको निर्माण कार्य पनि अलकत्रा अभावले नराम्ररी प्रभावित हुने देखिएको छ । आयोजनाको कार्यालयका अनुसार अलकत्रा, सिमेन्ट, फलामे डण्डी र इन्धनको मूल्यमा आएको भारी वृद्धिका कारण निर्माण व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेका छन् ।

निर्माण सामग्रीको अभावले मुलुकका प्रमुख राजमार्गहरूको निर्माण, स्तरोन्नति र विस्तारको कार्य प्रभावित हुने देखिएको छ ।सडक विभागका प्रवक्ता श्याम बहादुर खड्काले राष्ट्रिय गौरवका सडक खण्डहरूमा अलकत्रा अभावको असर प्रष्ट रूपमा देखिन थालेको बताएका छन् । मुलुकका विभिन्न भागका सडकहरूको स्तरोन्नति गर्ने र खाल्डाखुल्डी पुर्ने कार्यमा समेत यसले ठूलो अवरोध सिर्जना गरेको छ । यसबाट आयोजनाहरू सम्पन्न हुने निर्धारित समय लम्बिँदै जाने र देशको पुँजीगत खर्चमा समेत उल्लेख्य गिरावट आउने प्रवक्ता खड्काको विश्लेषण छ ।
नारायणघाट–बुटवल सडक खण्डका सूचना अधिकारी विकास खनालले कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण आयोजनाको निर्माण कार्यमा ठूलो अवरोध खडा भएको जानकारी दिए । हालसम्म काम पूर्ण रूपमा नरोकिए पनि आगामी दिनमा निर्माण प्रक्रियालाई कसरी निरन्तरता दिने भन्ने विषयमा ठूलो अन्योल र चुनौती खडा भएको खनालले बताए ।

“व्यवसायीहरूले आफूहरू घाटामा गइसकेको गुनासो गरिरहेका छन्, तर त्यसको आधिकारिक र विस्तृत विवरण भनेअहिलेसम्म पेस गरेका छैनन्,” उनले भने । आयोजनाको करिब ८१ प्रतिशत भौतिक प्रगति भइसकेको अवस्थामा अन्तिम चरणमा आएर काम रोकिँदा यसको कुल लागत अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

त्यस्तै, नागढुङ्गा–मुग्लिन सडक आयोजनामा पनि कच्चा सामग्रीको अभावले गम्भीर समस्या निम्त्याएको छ । आयोजनाका प्रवक्ता राजीव मानन्धरले निर्माण कार्य पूर्ण रूपमा नठप्प भए पनि बिस्तारै सुस्त हुँदै गएको जानकारी दिए । पहिले नै मौज्दात रहेको सामग्रीले अहिलेसम्म काम चलाए पनि व्यवसायीहरूले दिनप्रतिदिन बढ्दो लागतप्रति ठूलो असन्तुष्टि र गुनासो व्यक्त गरिरहेका छन् । “आयातमा कमी आएको र मूल्य आकासिएकाले निर्माण कार्यको गति धेरै नै सुस्त भएको छ,” मानन्धरले भने, “धेरैजसो संरचनागत कामहरू सकिएर अब अलकत्राको काम मात्र बाँकी छ । यस्तो अवस्थामा लामो समयसम्म सडकको आधार तयार पारेर पनि पिच नगर्दा सडक फेरि बिग्रने र राज्यको दोहोरो खर्च हुने ठूलो जोखिम रहन्छ ।”

उनका अनुसार यी सडकहरूमा सामान्यतया दुई तह राखेर सडक सुरक्षा रेखा र रङ्गाउने (मार्किङ) काम गरिने भए पनि अहिले अभावकै कारण एक तहमा मात्रै काम चलाउनुपर्ने बाध्यता आइलागेको छ । आयोजनाको करिब ९० प्रतिशत काम सकिए पनि अलकत्रा अभावकै कारण अन्तिम चरणको कामले पूर्णता पाउन कठिन देखिएको उनी बताउँछन् ।

व्यवसायीहरूका अनुसार विगतमा अर्डर गरेको दुई दिनभित्रै आइपुग्ने अलकत्रा अहिले दुई हप्ता बित्दा पनि नेपाल आइपुग्न सकेको छैन । नेपालले भारतका अतिरिक्त साउदी अरब, मलेसिया र संयुक्त अरब इमिरेट्सबाट अलकत्रा आयात गर्ने गर्दछ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ५ अर्ब ८० करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको अलकत्रा आयात भएको छ । जसमा मलेसियाबाट ६ करोड ५० लाख ६८ हजार रुपैयाँ र संयुक्त अरब इमिरेट्सबाट ३ करोड २३ लाख ७६ हजार रुपैयाँको अलकत्रा आयात भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको तथ्याङ्क हेर्दा भारतबाट मात्रै ३ अर्ब ९९ करोड ३१ लाख ४७ हजार रुपैयाँको अलकत्रा आयात भएको थियो । सोही अवधिमा मलेसियाबाट २१ करोड २९ लाख ५० हजार र ओमानबाट २७ करोड ५ लाख ८७ हजार रुपैयाँको अलकत्रा नेपाल भित्रिएको थियो ।

त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भारतबाट ५ अर्ब ४६ करोड ७६ लाख १७ हजार रुपैयाँको अलकत्रा आयात भएको थियो भने ओमानबाट ३० करोड ३९ लाख १५ हजार, कतारबाट १२ करोड ४३ लाख ७८ हजार र संयुक्त अरब इमिरेट्सबाट ३ करोड २८ लाख रुपैयाँको अलकत्रा आयात भएको थियो ।

यसरी विगतका वर्षहरूको तुलनामा यस वर्ष आपूर्ति शृङ्खला पूर्ण रूपमा खलबलिँदा र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालको समग्र भौतिक पूर्वाधार विकासको लक्ष्य प्राप्तिमा गम्भीर धक्का लाग्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।