काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बचत राखिएको पैसाको वास्तविक मूल्य घट्दै गएको देखिएको छ ।
एकातिर बैंकहरूले निक्षेपमा दिने ब्याजदर लगातार घट्दै जाँदा र अर्काेतिर मुद्रास्फीति बढिरहदा बचतकर्ताको पैसाको क्रयशक्ति कमजोर बन्दै गएको हो । अर्थविद्हरूका अनुसार अहिले बैंकमा पैसा राख्दा पाइने ब्याजले महँगी धान्न नसक्दा बचतकर्ताले वास्तविक रूपमा घाटा व्यहोर्नुपरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को चैत महिनामा मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ । तर सोही समयमा वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.०१३ प्रतिशत मात्रै रहेको छ । फागुन महिनामा मुद्रास्फीति ३.६२ प्रतिशत हुँदा बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत थियो ।
सामान्यतया बैंकले दिने ब्याजदर मुद्रास्फीति बराबर वा त्योभन्दा बढी भए मात्रै बचतकर्ताले आफ्नो पैसाको वास्तविक मूल्य जोगाउन सक्छन् । तर अहिले बजारमा वस्तु तथा सेवाको मूल्य बढ्ने गति बैंकको ब्याजदरभन्दा बढी भएकाले बैंकमा राखिएको पैसाको वास्तविक मूल्य घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अहिले नेपाली मुद्राको क्रयशक्ति कमजोर बन्दै गएको छ ।
“ब्याजदरले मूल्यवृद्धिलाई धान्न सकेको छैन । त्यसैले बचतकर्ताले बैंकमा पैसा राखेर पनि वास्तविक प्रतिफल पाउन सकेका छैनन्,” उनले भने । उनका अनुसार मानिसहरूले भविष्यका लागि भनेर बैंकमा बचत गर्छन् । तर मुद्रास्फीति धेरै र ब्याजदर कम हुँदा त्यो पैसाले भविष्यमा किन्न सक्ने वस्तु तथा सेवाको मात्रा घट्दै जान्छ ।
थापाले अहिले बैंकिङ प्रणालीमा धेरै पैसा थुप्रिएको भए पनि त्यसको सही परिचालन हुन नसकेको बताए । उनका अनुसार बैंकमा निक्षेप बढिरहेको छ तर कर्जा लगानी सोही अनुसार बढ्न सकेको छैन ।
“बैंकमा पैसा मात्रै थुप्रिएर बस्नु राम्रो होइन । त्यो पैसा उद्योग, व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा जानुपर्छ,” उनले भने ।
उनका अनुसार आर्थिक गतिविधि सुस्त हुँदा कर्जाको माग पनि कम भएको छ । जसका कारण बैंकहरूमा अधिक तरलताको अवस्था बनेको हो । अधिक तरलता हुँदा बैंकहरूले निक्षेपमा दिने ब्याजदर पनि घटाउने गरेका छन् ।
वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारी पनि अहिलेको अवस्था बचतकर्ताका लागि चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।
उनका अनुसार आर्थिक गतिविधि कमजोर भइरहेका बेला बजारमा मूल्यवृद्धि भने कायम छ । यस्तो अवस्थामा बैंकमा पैसा राख्ने मानिसले वास्तविक रूपमा घाटा व्यहोर्नुपरेको उनले बताए ।
“बैंकले दिने ब्याजदरभन्दा बजारमा महँगी बढी हुँदा निक्षेपकर्ताले पाउने वास्तविक प्रतिफल ऋणात्मक हुन्छ,” उनले भने ।
अधिकारीका अनुसार यस्तो अवस्थाले दीर्घकालमा पूँजी निर्माणमा असर गर्छ । बैंकमा पैसा राख्दा राम्रो प्रतिफल नपाइने भएपछि मानिसहरू उत्पादनमूलक लगानीभन्दा अन्य क्षेत्रमा पैसा खर्च गर्न आकर्षित हुन सक्छन् । “पूँजी निष्क्रिय हुँदै जानु अर्थतन्त्रका लागि राम्रो होइन । यसले दीर्घकालमा लगानी संकट ल्याउन सक्छ,” उनले भने ।
उनका अनुसार यस्तो अवस्था लामो समयसम्म रहिरहे भविष्यमा पूँजी पलायनको जोखिम पनि बढ्न सक्छ । स्वदेशमा बचतले उचित प्रतिफल नपाउँदा पैसा अनौपचारिक माध्यमबाट बाहिरिन सक्ने खतरा रहने उनले बताए ।
अहिले बैंकमा राखिएको रकम संख्यात्मक रूपमा बढे पनि त्यसको वास्तविक मूल्य भने घट्दै गएको अर्थविद्हरू बताउँछन् ।
उदाहरणका लागि, कसैले बैंकमा १ लाख रुपैयाँ बचत राखेर ३ प्रतिशत ब्याज पायो भने एक वर्षपछि उसको रकम १ लाख ३ हजार रुपैयाँ हुन्छ । तर त्यही अवधिमा बजार मूल्य ५ प्रतिशतले बढेमा उक्त रकमले पहिलेभन्दा कम वस्तु तथा सेवा मात्रै खरिद गर्न सक्छ । अर्थात् बैंक खातामा रकम बढेको देखिए पनि वास्तविक रूपमा पैसाको क्रयशक्ति घटेको हुन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७९ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूमा मात्रै ७१ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५८ खर्ब ७७ अर्ब रुपैयाँ मात्रै रहेको छ । केन्द्रीय बैंकका अनुसार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७३.१६ प्रतिशत रहेको छ । बैंकिङ्ग प्रणालीमा तरलता हुनु सकारात्मक भएपनि लगानी बढ्न नसक्नु अर्थतन्त्र र निक्षेपकर्ताको लागि चिन्ताको विषय भएको अर्थविद्हरू बताउँछन् । अधिक तरलतालाई पूँजी निर्माणमा लगानी गर्नुपर्ने जानकारहरूको सुझाव छ ।
विज्ञहरूका अनुसार बैंकहरूमा पैसा धेरै थुप्रिए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन । आर्थिक गतिविधि सुस्त हुनु, उद्योग व्यवसाय विस्तार नहुनु र लगानीकर्तामा उत्साह कम हुनु यसको मुख्य कारण रहेको उनीहरूको भनाइ छ ।
बैंकहरूले पनि पछिल्लो समय कर्जा लगानीमा सतर्कता अपनाएका छन् । पुराना कर्जाको खराब अवस्था बढ्दै गएपछि बैंकहरू नयाँ कर्जा प्रवाहमा सावधानी अपनाइरहेका छन् । जसका कारण वित्तीय प्रणालीमा पैसा थुप्रिने क्रम बढेको हो ।
अधिक तरलताका कारण बजार ब्याजदर समग्र रूपमा घटिरहेको छ । जसले गर्दा नेपाल राष्ट्र बैंकले बजारबाट पैसा खिच्न विभिन्न उपकरण प्रयोग गर्दै आएको छ । दीर्घकालीन ऋणपत्रदेखि स्थायी निक्षेप सुविधासम्म प्रयोग गरेर केन्द्रीय बैंकले ठूलो रकम बजारबाट खिचिरहेको छ । केन्द्रीय बैंकका अनुसार ट्रेजरी बिलको ब्याजदर पनि न्यून बिन्दुमा रहेको छ ।
अधिक तरलताको प्रभाव सरकारी अल्पकालीन ऋण उपकरण ट्रेजरी बिलको ब्याजदरमा पनि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल २८ दिने ट्रेजरी बिलको ब्याजदर १.६५ प्रतिशतमा झरेको छ । यस्तै ९० दिने ट्रेजरी बिलको ब्याजदर २.६३ प्रतिशत, १८२ दिनको बिलको ब्याजदर २.६६ प्रतिशत र एक वर्षे ट्रेजरी बिलको ब्याजदर २.६३ प्रतिशत रहेको छ ।
अर्थविद्हरूका अनुसार अहिलेको समस्या समाधान गर्न आर्थिक गतिविधि बढाउन आवश्यक छ । उत्पादन, उद्योग, निर्माण र व्यवसाय विस्तारमा लगानी बढे मात्रै बैंकिङ प्रणालीमा थुप्रिएको पैसा परिचालन हुने उनीहरूको भनाई छ ।
अर्थविद् थापाका अनुसार सरकारले वित्तीय क्षेत्रमा रहेको अधिक तरलता परिचालन गर्न स्पष्ट योजना ल्याउनुपर्छ । “बैंकमा थुप्रिएको पैसा उत्पादन र रोजगारी सिर्जनामा प्रयोग गर्नुपर्छ,” उनले भने ।
आर्थिक गतिविधि बढाउन नीतिगत सुधार आवश्यक रहेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार बचतकर्ताको हित जोगाउन र अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ ।
अर्थविद्हरूका अनुसार अहिले देखिएको समस्या केवल ब्याजदर घट्नु मात्र होइन । यो बचतकर्ताको पैसाको वास्तविक मूल्य घट्ने समस्या पनि हो । बजारमा महँगी बढ्दै जाँदा र बैंकको ब्याजदर घट्दै जाँदा आगामी दिनमा बचतकर्ताको क्रयशक्तिमा अझ दबाब पर्न सक्ने उनीहरूको भनाइ छ ।










प्रतिक्रिया