तरलता व्यवस्थापनमा लचकता अपनाउँदै केन्द्रिय बैंक, कर्जामा लचिलो नीति


केन्द्रिय बैंकले मौद्रिक बजार सकसमा रहेका बेला आफ्ना नीति नियमहरुलाई केही लचिलो बनाउने उद्घोष गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८३।०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कडिकडाउभन्दा लचकताको विधीमा बैंक अघि बढ्न लागेको सन्देश दिएका हुन् । विशेषगरी कर्जामा सहजता ल्याउन विभिन्न किसिमका लचकता अपनाएका उनले वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था समेत गरेका छन् ।

कर्जाको सुरक्षणका लागि व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन तथा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको मौद्रिक नीतिले मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको मौद्रिक नीतिले विभिन्न किसिमका कर्जामा रहेका कडाईलाई सहज बनाउने उद्घोष गरेको छ ।

रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्न, सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गर्ने व्यवस्था नीतिमा उल्लेख छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा सेयर धितो कर्जा लिने हालको व्यवस्थालाई अब संस्थाको सबलता अनुसार व्यवस्था हुने मौद्रिक नीतिमा उल्लेख छ ।

हाल सेयरको प्रचलित बजार मूल्य वा १८० दिनको औसत मूल्यमध्ये जुन कम हुन्छ त्यसकै आधारमा सो मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह भइरहेकोमा कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउने उद्घोष गरेको हो ।

विदेशी मुद्रा खरिद मार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति अबलम्बन गरेको हो । अहिले अधिक तरलताका कारण बैंक वित्तीय संस्थाका साथै केन्द्रिय बैंक समेत त्यसको व्यवस्थापनमा असहजता अनुभव गरिरहेको अवस्थामा नयाँ औजार प्रयोगमा ल्याउँदै तरलता व्यवस्थापन गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।