काठमाडौँ । बर्सेनि कृषि बाली लगाउने बेलामा रासायनिक मलको हाहाकार हुन्छ । कृषकले चाहेको बेलामा मल पाउँदैनन् । हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । समयमै मल उपलब्ध नहुँदा रोपाइँको मुख्य समयमा किसानहरू मल अभावमा भौँतारिन बाध्य भएका छन् ।
तर, सरकारले भने मलको नियमित आपूर्ति भइरहेको र वितरण पनि भइरहेको बताउने गर्छ । यति बेला देशभरी धान रोपाई सम्पन्न भएपनि आवश्यक पर्ने रासायनिक मल भने कृषकहरूले पाउन सकेका छैनन् ।
खासगरी क्रस बोर्डर क्षेत्रमा सरकारको कडा निगरानी र भन्सार जाचपाँस सुरक्षाका कारण तराई बेल्टका कृषकहरूले सीमापारिबाट मलखाद खरिद गरेर ल्याउन पाएका छैनन् । यता सरकारले पनि भनेको बेलामा मल उपलब्ध गराउन नसक्दा कृषकहरू चिन्तित छन् ।
तराई क्षेत्रमा मात्र होइन, सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा पहाडी क्षेत्रमा समेत रासायनिक मलको अभाव भएको कृषकहरूको गुनासो छ । तर, सरकारले भने नियमित रूपमै मल आपूर्ति भइरहेको जनाएको छ ।
गत आर्थिक वर्षमा ५ लाख ६१ हजार ४९३ मेट्रिकटन रासायनिक मल आपूर्ति भएकोमा ७४ हजार ४८ मेट्रिकटन मल अझै स्टक (मौज्दात) रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयको दाबी छ ।
बजारमा मलको अभाव रहेको कृषकहरूले गुनासो गरिरहेको बेला कृषि मन्त्रालयले ८० हजार मेट्रिकटन मल आपूर्तिको चरणमा रहेको मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले बताएका छन् । खाडी मुलुकमा चर्किएको द्वन्द्व र भूराजनीतिक समस्याका बावजुद पनि सरकारले भारत सरकारसँग जीटूजीमार्फत रासायनिक मल आपूर्तिको व्यवस्था मिलाएको कृषि मन्त्री गीता चौधरीले बताउदै आएकी छन् ।
चालु वर्ष लागेसँगै जीटुजीमार्फत थप ६० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल खरिद गरी आपूर्तिको चरणमा रहेको पनि श्रेष्ठले जानकारी दिएका छन् ।
यता, धान बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताएका छन् ।
‘धान रोपाई सकिएको महिनादिन बितिसक्यो तर मल पाएको छैन ।’ उनले भने, ‘सरकारले गोदाममा मल मौज्दात छ भने पनि कृषकले मल पाएका छैनन् ।’ विशेषगरी मधेश, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा समस्या देखिएको उनको भनाइ छ ।
उनका अनुसार, हरेक वर्ष किसानहरुले रासायनिक मल अभाव ब्यहोरेका छन् । त्यसैले, सरकारले तत्काल मल आपूर्ति व्यवस्थापन राम्रो गर्नुपर्ने उनको सुझाव छ ।
त्यसैगरी, लहानका कृषक भगवती थारु मल अभावमा भौतारिरहेको बताएकी छन् । ‘एक साता भईसक्यो कहिले सहकारी त कहिले वडा कार्यालय धाएको ।’ उनले भनिन्, ‘तर मल पाउने कुनै आधार देखिएको छैन ।’
उनका अनुसार, हरेक वर्ष मल अभाव भइरहेको भए पनि यस वर्ष बढी नै अभाव ब्यहोर्नुपरेको छ । गत वर्षतिर त केही मात्रामा पाइने गरेको थियो, यस वर्ष त धान रोपेको एक महिना हुन लाग्दा पनि एक पटक पनि मल राख्न नपाएको उनको भनाई छ ।
त्यस्तै, भगवतीको मात्र होइन कञ्चनपुरका किसान गिरीराज शर्मा पनि उही समस्यामा गुज्रिएका छन् । धान रोपाई सकेको एक महिना हुन लाग्दा पनि धानको लागि आवश्यक पर्ने मल पाउन नसकेको उनले बताए ।
‘गत वर्षतिर मनसुनका कारण समयमा धान रोपाई गर्न सकिदैनथ्यो ।’ उनले भने, ‘तर यस वर्ष अनुकुल मनसुन हुँदा धान त रोपियो तर मल छैन ।’ उनका अनुसार, धानबालीका लागि प्राङ्गारिक मलले मात्र प्रयाप्त हुँदैन । समयमा रासायनिक मल भएन भने सोचे अनुसारको धान उत्पादन नै नहुने उनको भनाई छ ।
हरेक दिन मलका लागि धाईरहँदा पनि मल पाउन नसकेको उनको गुनासो छ । कहिले पानी नपर्ने त कहिले मल नपाउने हरेक वर्ष किसान चाँदी मारमा पर्ने गरेको उनको भनाई छ ।
नेपालमा वर्षे धानवालीको लागि मात्रै ३ लाख ७५ हजार मेट्रिक टन रासायनिक मलको माग हुन्छ । यसमध्ये युरिया २ लाख, डीएपी १ लाख ५० हजार र पोटास २५ हजार मेट्रिक टन आवश्यक पर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अपेक्षित परिमाणमा मलको आपूर्ति नभएको भएता पनि अभाव नै भने नभएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।
‘अहिले पनि साल्ट ट्रेडिङसँग १६ हजार ५०३ मेट्रिकटन मल मौज्दात छ ।’ उनले भने, ‘अघिल्लो वर्षकै टेन्डरको मल आउने क्रममै छ, थप चालु वर्षका लागि थप मल आपूर्तिका लागि साल्ट ट्रेडिङले छुट्टाछुट्टै चारवटा टेन्डर गरिसकेको छ ।’
उनका अनुसार, ३० हजार ६०० मेट्रिकटन मल आउनेक्रममा छ । बजारमा मल अभाव नभएको र वितरणमा समस्या भएको हुन सक्ने उनले बताए ।
स्थानीय तहहरूले सहजताका लागि स्थानीय सहकारीहरूमार्फत रासायनिक मल वितरणको च्यानल प्रयोग गर्ने गरेका छन् । तर, यस्तोमा सम्बन्धित सहकारीले पहिला आफ्ना सदस्यहरूलाई मल वितरण गर्ने र बाँकी रहेपछि मात्र अन्य सर्वसाधारणलाई बाँड्ने गरेकाले समस्या उत्पन्न भएको उनको भनाई छ ।
९६ प्रतिशत सकियो धान रोपाई
कृषि विभागका अनुसार हालसम्म देशभरि करिब ९६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिसम्मको तथ्यांक हेर्ने हो भने ९० प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । देशभरि धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३८३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।
प्रदेशगत रूपमा सुदूरपश्चिममा धान रोपाइँ हुने कुल १ लाख ५४ हजार १५० हेक्टर अर्थात् शतप्रतिशत (१०० प्रतिशत) क्षेत्रफलमै रोपाइँ पूर्णरूपमा सम्पन्न भइसकेको छ ।
यसैगरी, बागमती प्रदेशमा पनि ९७.८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र लुम्बिनी प्रदेशमा ९४.८३ प्रतिशत धान रोपाइँ सकिँदा कोशी प्रदेशमा भने अन्यको तुलनामा अलि कम अर्थात् ९३.६९ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।
देशकै प्रमुख अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशको हकमा भने यस वर्ष रोपाइँमा उल्लेख्य र सकारात्मक सुधार आएको छ । त्यहाँ ९४.६५ प्रतिशत अर्थात् ३ लाख ६४ हजार २९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।






प्रतिक्रिया