सेयर बजार

दसैँ नजिकिएसँगै सेयर बजारमा उछाल

ब्रोकरको उधारो कारोबार सल्टिएको संकेत


काठमाडौँ । हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ नजिकिएसँगै सेयर बजारमा उछाल आएको छ ।

वित्तीय प्रणालीमा देखिएको अधिक तरलतासँगै घट्दो ब्याजदरका कारण सेयर बजार सूचक बढेको हो ।

सोमबार ४४ अंकले बढेको सेयर बजार मंगलबार ११४ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

नेप्से सूचकसँगै कारोबार रकममा देखिएको सुधारले बजारमा सेयर खरिदकर्ता अधिक रहेको र आगामी दिनमा पनि बजार सुधारको गतिमा देखिने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या आएपछि केन्द्रीय बैंकले करिब ३ खर्ब रुपैयाँ खिचेर राखेको छ । अधिक तरलताले गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदरमा लिने प्रिमियमसमेत घटाउन थालेका छन् ।

साथै कर्जाका लागि बैंक वित्तीय संस्था नै ग्राहकसमक्ष पुग्ने क्रम बढेकाले धितोपत्र बजारमा सुधारको संकेत देखिएको हो ।

केही समयअघि ३ हजारको विन्दुसम्म पुगेको नेप्से सूचक राजनीतिक वृत्तमा देखिएको अस्थिरताका कारण घटेको थियो । विगतमा केही दिन निरन्तर घटेको नेप्से २४४२ अंकसम्म झरेको थियो ।

त्यसपछि यो साताको पहिलो दिन करिब २२ अंकले घटेको नेप्से सोमबार ४४ अंकले बढेको थियो भने मंगलबार ११४.७० अंकले बढेर नेप्से २६२३ विन्दुमा पुगेको छ ।

सोमबारको तुलनामा कारोबार रकम पनि दोब्बर भन्दा धेरैले बढेको छ । सोमबार साढे ३ अर्बको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

विगतका दिनमा सेयर बजारमा देखिएको सुधारलाई अर्थमन्त्री विष्णु पौडेललाई समेत जोडेर हेर्ने गरिएको छ । पौडेलले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा पहिचान बनाएका छन् ।

तर, बीचमा आएको गिरावटको कारण खोज्न मन्त्री पौडेल आफैँ नेपाल स्टक एक्सचेन्जको कार्यालयसमेत पुगेका थिए । त्यसले पनि धितोपत्र लगानीकर्ताको मनोबल बढाउन सकेको थिएन ।

तर, चाडबाड नजिकिएसँगै सेयर लगानीकर्ताको मनोबल फर्केको अनुमान एक धितोपत्र ब्रोकरको छ । ‘विगतका साताहरूमा बजारमा देखिएको गिरावट करेक्सन थियो,’ ती ब्रोकरले भने, ‘बजारले आफ्नो करेक्सन यात्रा सकेर बुलिसतर्फ उन्मुख भएको हो ।’

अन्तर्राष्ट्रिय निकायहरूले पनि नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै आएको बताएका छन् । त्यसैगरी घट्दो ब्याजदर र बैंकहरूको कर्जा लगानीमा देखिएको सुस्तताले पनि बजार बढ्नमा मद्दत गरेको उनको बुझाइ छ ।

धितोपत्र बजार निरन्तर बढिरहनु भन्दा पनि घट्दै–बढ्दै गरेको बजार टिकाउ हुने उनको बुझाइ छ ।

विगतका साताहरूमा धितोपत्र बजारमा आएको उच्च गिरावटको कारणमध्ये उधारो कारोबार पनि मुख्य रहेको ती ब्रोकरको भनाइ छ । लगानीकर्ताले सेयर किन्ने तर त्यसको भुक्तानी नदिँदा समस्या देखिएको बताउँदै उनले भने, ‘ब्रोकरहरूको दबाबमा लगानीकर्ताले उधारो कारोबार सेल गरेकाले पनि बजार बढ्न मद्दत पुगेको हो ।’

धितोपत्र बजार बढ्दा लगानीकर्ता ब्रोकरसँग कोल्याट्रल माग्ने र सेयर खरिद गर्ने, तर त्यसको भुक्तानी तत्काल गर्दैनन् । लगानीकर्ताले आफूले किनेको सेयर बढ्छ र बिक्री गरेर ब्रोकरको कारोबार पनि सेटल गर्ने तथा नाफा पनि कमाउने उद्देश्य राख्दा बजारमा बढी असर परेको थियो ।

सामान्यत हरेक आर्थिक वर्षको असोज–कात्तिक महिनामा धितोपत्र बजार बढ्ने गर्छ । सूचीकृत कम्पनीहरूले सेयरधनीलाई दिने लाभांश घोषणा गर्ने समय भएकाले पनि बजारमा सुधार आउने गर्छ । हाल सूचीकृत कम्पनीहरूले क्रमिक रूपमा एकपछि अर्को गर्दै सेयरधनीलाई दिने लाभांश पनि घोषणा गर्न थालेको अवस्थाले पनि कजार फर्कन मद्दत पुगेको हो ।

मंगलबार नेप्सेमा कारोबार भएका २८ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यस दिन कारोबार भएका कुल २४५ कम्पनीको सेयरमध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने युनिलिभर नेपालको सेयर मात्रै घटेको छ । यो दिन नेपाल ल्युब आयलको सेयरमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।