सिरहाका किसानलाई ३ प्रश्न

‘समयमा मल र सिँचाइ उपलब्ध भए हाम्रो हौसला बढ्ने हो, चटक देखाएर होइन’


काठमाडौँ । गएको असार १५ गतेसम्म देशमा करिब २० प्रतिशत मात्र रोपाइँ सकिएको छ । यद्यपि १५ असारमा मनाइने रोपाइँ महोत्सवका कारण यो प्रतिशत एकै दिन निकै माथि पुगिसक्छ ।

राष्ट्रिय धान दिवस मनाउन एक दिन भए पनि सबै तहका नेतादेखि कलाकार, पेसाकर्मी सबै खेतको हिलोमा पसे । आमकिसानलाई समयमै मल, सिँचाइ उपलब्ध गराउन नसकेर पीडा दिएको अवस्थामा नेताहरू स्टन्ट गर्न निस्किएको कतिपयको गुनासो छ ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नकै लागि एक दिन हिलोमा आएर आमकिसानको घाउमा नुन छर्ने काम भएको किसानहरू बताउँछन् ।

३ प्रश्नको आजको अंकमा हामीले सिरहाका किसान अमिरलाल यादवसँग रोपाइँमा नेताहरूको उपस्थिति, किसानका समस्या र राज्यसँगको अपेक्षाबारे कुरा गरेका छौँ ।

  • धान दिवसको दिन नेताहरूले रोपाइँमा सहभागी हुनुलाई कुन रूपमा लिनुभएको छ ?

मलका लागि किसानले एकदम समस्या भोग्नुपरेको छ । मल नपाएर आमकिसान हाहाकार अवस्थामा छन् । यस्तो अवस्थामा धान दिवसको दिन नेताहरू खेतमा पस्नु नाटकबाहेक अरू केही होइन भन्ने हाम्रो बुझाइ छ ।

कृषिप्रधान देशमा राज्यले किसानलाई हेर्ने दृष्टिकोणमा भने खोट छ । किसान आयोग पनि गठन भएको छ । त्यसले पनि किसानको पक्षमा आवाज उठाउन सकेको छैन । धानको समर्थन मूल्य तोकिएको छ । तर, धान किन्ने मानिस नभएर किसानले १७–१८ सयमा धान बेच्नुपरेको छ । अहिले मात्रै होइन, पुस्तौँदेखि यही रोग छ ।

खेतीको चटारो भएको समयमा मल पाइँदैन । विगत वर्षहरूमा पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ । तर, विभिन्न पत्रपत्रिका, मिडियामा मलको अभाव हुँदैन भनेर समाचार प्रकाशन प्रसारण गरिएको हुन्छ । तर, खै हामीले मल पाएको ? मल खोज्दै १० ठाउँ भौँतारिनुपरेको छ । २ किलो मलका लागि घन्टौँ लाइनमा बस्नुपरेको छ ।

  • यसलाई किसानलाई हौसला दिएका रूपमा पनि त बुझ्न सकिएला नि ? तपाईंहरूको समस्या समाधानमा राज्यबाट के अपेक्षा छ ?

नेपालको परिप्रेक्ष्यमा धान दिवस किसानका लागि ठुलो पर्व हो । यो पर्वको समयमा मधेसमा पानी परेको छैन । सिँचाइको अभाव छ । सिरहामा ७ प्रतिशत पनि धान रोपाइँ भएको छैन ।

अब नेताहरूले एक दिन चटक देखाएर हामीलाई के प्रोत्साहन हुन्छ । हाम्रा समस्या के छन् भन्ने बुझेर समाधान गरिदिए पो हौसला हुन्छ ।

किसानले उत्साहपूर्वक धान दिवस मनाउनुपर्नेमा उनीहरूचाहिँ कसरी रोपाइँ गर्ने भन्ने पीडामा छन् । तर, ठुलाबडाहरू आए, फोटो खिचाए, एक दिन हिलोमा जाँदैमा हुने भए त सबै किसान एक दिन हिलो खेल्थे सकियो । अरू किन चाहियो ? आमकिसानले वर्षैभरि प्रत्येक दिन हिलामा परिश्रम गरिदिएन भने नेपालको उन्नति प्रगति हुँदैन ।

  • तीनै तहका सरकारले किसानको समस्या समाधानमा के गर्नुपर्ला ?

नेपाल कृषिप्रधान देश हो, तर स्थानीय सरकारहरूले पनि कृषिमा ध्यान दिएको पाइँदैन । संघ, प्रदेश र स्थानीय तह सबैको बजेट भाषणमा सुनिन्छ– कृषिका लागि यति रुपैयाँ विनियोजन गरिएको छ । तर, त्यो बजेट कुन कृषिमा जान्छ थाहा हुँदैन ।

विगतका वर्षहरूमा पनि हामीले सरकारलाई सचेत गराएका थियौँ कि हामीलाई अनुदान चाहिँदैन । तर मलको व्यवस्था गरिदेऊ भनेर । स्थानीय सरकारहरूले पनि बरु प्रांगारिक मल उत्पादनमा जोड दिनुपर्छ । रासायनिक मल हाम्रो देशमा उत्पादन हुँदैन । आयात गर्दा ठुलो मात्रामा धनराशि बिदेसिने गरेको छ ।

प्रांगारिक मल उत्पादनमा ध्यान दिने हो भने विदेशी मुद्र्राको सञ्चिति, समयमै उपलब्धता, लगायत अरू विषयमा फाइदा पनि हुन्छ । तीनै तहका सरकारहरूले यसमा विशेष ध्यान दिनुपर्छ ।

यदि किसानले काम गरिदिएन भने काठमाडौँमा बस्ने महामहिमहरूले चिया खान पनि पाउँदैनन् । यो कुरा सबै नेताहरूले बुझिदिनुपर्छ ।

मञ्चमा ठुला भाषण गरेर हुँदैन । व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ । किसानलाई समयमै मलखाद, उन्नत बिउ, सिँचाइको उचित व्यवस्थापन गरिदिनुपर्छ ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।