शेयर कारोबारको रकम कनेक्ट आईपीएसबाट कसरी गर्ने सजिलै भुक्तानी ?


कोरोना माहामारीका कारण उत्पन्न असहज परिस्थितिमा विद्युतीय कारोबार उल्लेख्य मात्रामा बढेको छ ।

यस क्रममा पछिल्ला दिनमा शेयर दलाल व्यवसायीहरुले लगानीकर्तालाई दिने भुक्तानी तथा लगानीकर्ताबाट लिनुपर्ने रकम विद्युतीय माध्यमबाट मात्र गर्ने गराउने काम गर्दै आएका छन् । तर कतिपय लगानीकर्ताले भने अझै सहज रुपमा शेयर दलाललाई रकम भुक्तानी गर्न सकिरहेका छैनन् ।

प्रविधिमा अभ्यस्त हुन नसकेका कारण पनि कतिपय लगानीकर्ताहरु यस्तो भुक्तानी गर्न सकिरहेका छैनन् ।

नेपाल क्लियरिङ हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (कनेक्ट आईपिएस) बाट सबै शेयर दलालकोमा सजिलै रकम भुक्तानी गर्न सकिने प्रणालीको विकास भईसकेको छ । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई भुक्तानी गर्नु पर्ने रकम आईपीएस प्रणालीबाट ट्रान्सफर गर्न शेयर दलालहरुलाई निर्देशन दिए पछि अहिले सोही अनुसार भुक्तानी पनि भईरहेको छ ।

तर शेयर खरिद गरेका केही लगानीकर्ताले अझै पनि यो प्रणाली चलाउन नजानेर वा नचाहेर आफ्नो शेयर दलाललाई सहज किसिमले शेयर किनेको रकम भुक्तान गर्न सकिरहेका छैनन् । आफ्नो शेयर दलालको बैंक खाता रहेको बैंकमा पुगेर चेक वा नगद जम्मा गर्नु पर्ने वा दलालकोमा नै पुगेर चेक बुझाउनु पर्ने बाध्यता अझै पनि लगानीकर्तामा छ ।

सामान्यतया सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर लगायतको प्रयोग गरे जसरी नै कनेक्ट आईपीएसको प्रयोग गरी विद्युतीय माध्यमबाट शेयरको रकम भुक्तान गर्न सकिन्छ ।

यसका लागि सर्वप्रथम लगानीकर्ता नेपाल क्लियरिङ हाउसको विद्युतीय भुक्तानी प्रणाली (कनेक्ट आईपिएस) को प्रयोगकर्ता हुन जरुरी छ ।

विद्युतीय माध्यमबाट सजिलै रकम भुक्तान गर्न कनेक्ट आईपिएसमा यसरी खोल्नुहोस खाता

कनेक्ट आईपिएस लगइन गरिसके पछि बाँया भागमा रकम भुक्तानी तथा रकमान्तर गर्ने, खाता सञ्चालन, पासवर्ड परिवर्तन लगायतको सूची देख्न सकिन्छ । सूचीमा देखाइएको फाइनान्सियल इन्स्टिच्युसनमा क्लिक गरी क्यापिटल मार्केटमा क्लिक गर्नु पर्ने हुन्छ ।

यति गरे पछि खुल्ने नयाँ पेजमा ब्रोकर्स पेमेण्टमा क्लिक गरे पछि तपाई अर्को पेजमा पुग्नु हुन्छ । जहाँ तपाईले रकम भुक्तान गर्ने आफ्नो बैंक खाता र रकम भुक्तान गर्नु पर्ने शेयर दलालको सूची छनौट गर्ने विकल्प पाउनु हुन्छ ।

एकभन्दा बढी बैंक खाता लिंक भएको अवस्थामा कुन बैंक खाताबाट रकम भुक्तान गर्ने हो, त्यो छनौट गर्नु पर्ने हुन्छ । आफ्नो शेयर दलाल पनि छनौट गरे पछि बाँकी रहेका खाली ठाउँमा तपाईले आफ्नो नाम, भुक्तान गर्नु पर्ने रकम, मोबाइल नम्बर, क्लाइण्ट आईडी भरेर ट्रान्सफरमा क्लिक गर्नु पर्ने हुन्छ ।


यस पछि तपाईलाई सिष्टमले रजिष्टर गरिएको मोबाइलमा एसएमएस तथा इमेल ठेगानामा इमेलमार्फत वान टाइम पासवर्ड पठाउँछ । उक्त पासवर्ड प्रविष्ट गरेर सवमिटमा क्लिक गरेपछि तपाईले किनेको शेयरको रकम भुक्तान हुन्छ ।

यदि तपाईले नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीबाट शेयर कारोबार गर्ने गर्नु भएको छ भने टीएमएस प्रोफाइलबाट पनि सिधै रकम भुक्तानी गर्न सक्नु हुनेछ । यसका लागि तपाईले सबैभन्दा पहिला टीएमएस लगइन गरी बाँयातर्फ देखाइएको फण्ड म्यानेजमेण्टमा क्लिक गरेर कोल्याट्रल म्यानेजमेण्ट अनि लोड कोल्याट्रलमा क्लिक गर्नु पर्ने हुन्छ । त्यहाँ खुल्ने नयाँ पेजमा सेलेक्ट बैंकमा कनेक्ट आईपीएस छनौट गरी आफुले तिर्नु पर्ने रकम र कारोबार विबरण भरेर सवमिट गरे पछि तपाईलाई कनेक्ट आईपिएसको लगइन गर्न लगाइन्छ ।

यसरी खुलेको पेजमा लगइन गरे पछि ट्रान्सफर क्लिग गर्नु पर्ने हुन्छ । सो पश्चात माथिको प्रकृयामा झैं तपाईको मोबाइल तथा इमेलमा आएको ओटीपी प्रविष्ट गरेर पनि रकम शेयर कारोबार गरेको रकम तथा कारोबार लिमिटका लागि रकम भुक्तान गर्न सकिन्छ ।

सामान्य किसिमका रकमान्तर तथा भुक्तानी गर्दा दैनिक १० लाख र मासिक १ करोडको सीमा तोकिएकोमा शेयर कारोबारको रकम भुक्तान गर्दा भने एक दिनमा नै प्रति कारोबार १० लाखको दरले १ करोड रुपैंयासम्म भुक्तान गर्न सकिन्छ ।

यसरी रकम भुक्तान गर्दा सेवाशुल्क वापत ५० हजारभन्दा बढीको कारोबारमा प्रतिकारोबार १५ रुपैंया शुल्क लाग्नेछ । एक दिनमा १ करोडको शेयर किन्ने व्यक्तिले एक पटकमा १० लाखका दरले १० पटकमा १ करोड रुपैंया भुक्तान गर्दा प्रतिकारोबार १५ रुपैंयाका दरले १५० रुपैंया शुल्क लाग्नेछ ।

कनेक्ट आईपिएस प्रणालीका प्रयोगकर्ताले शेयर कारोबारको मात्र नभई सरकारी राजश्व, एक बैंकबाट अर्को बैंकमा सिधै रकमान्तर, पनि गर्न सक्छन् । यसका साथै वालेट टपअप, बैंकको क्रेडिट कार्ड पेमेण्ट लगायत धेरै किसिमका भुक्तानी गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।