काठामाडौँ । मौद्रिक नीतिको बलमा पछिल्ला केही दिनदेखि लगातार बढेको सेयर बजारमा सोमबार फराकिलो अंकको करेक्सन आएको छ । मौद्रिक नीतिले गरेका सम्बोधनले आर्थिक कृयालापमा पर्ने असर हेर्न बाँकी नै रहेको अवस्थामा सेयर बजारमा आएको क्षणिक वृद्धि रोकिएको हो ।
सोमबार बजार परिसुचक नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा ओर्लिएको छ । दोहोरो अंकको करेक्सन आउनु पहिले मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टसम्म बजार लगातार उकालो लागेको थियो । मौद्रिक नीतिमा भएका व्यवस्थाको खबर अल्पकालीन सूचना भएकाले बजारले तत्काल करेक्सन देखाएको हो ।
सोमबारको कारोबार बाहेक पछिल्ला ११ कारोबार दिनमा नेप्से ९ दिन उकालो लागेको थियो भने २ दिन सामान्य गिरावट देखिएको थियो । असार १५ गते आइतबार २५९५.७४ अंकमा खुलेको बजार २६.५३ अंकले बढेको थियो । असार १६ गते सोमबार ९, असार १७ गते मंगलबार २९, असार १८ गते बुधबार ३५, १९ गते बिहीबार ९ अंकले बढेको बजार त्यस पछिको आइतबार झण्डै ३ अंकले बढेको थियो । गत सोमबार २२ अंकले घटेको बजार मंगलबार ०.१४ अंकले मात्र घटेको थियो । बुधबार र बिहीबार क्रमशः २२ र २६ अंकले बढेको बजार मौद्रिक नीति आएपछि आइतबार २९ अंकले बढेको थियो ।
मौद्रिक नीति आउनु पहिले नै बजार ८ कारोबार दिनमा नेप्से १३६ अंकले बढिसकेको थियो भने मौद्रिक नीति आएपछि आइतबार पनि बजार २९ अंकले बढेको थियो । यसरी मौद्रिक नीतिको आडमा १६५ अंकले बढेको बजार सोमबार ३५.०९ अंकले घटेको हो ।
बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि पहिलेकै लयमा फर्किन थालेको छ । सोमबार ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयरहरु ७२ हजार ६०१ पटक किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से २९ अंकले बढेर २७६०.८० अंकमा पुग्दा ११ अर्ब ४१ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँले घटेको हो ।
गत साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पुगेको थियो । त्यसभन्दा अघिल्लो दिन बुधबार नेप्से २२.०४ अंकले बढेर २७०५.९० अंकमा पुग्दा ७ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । पछिल्ला २ दिनमा मात्र बजारमा कारोबार रकम ९ अर्बभन्दा बढी कायम भएको अवस्थामा सोमबार उक्त रकम घटेर ८ अर्ब १७ करोडमा खुम्चिएको हो ।

पछिल्ला केही दिनमा धेरै बढेका वाणिज्य बैंकहरुको सेयर मूल्य घटेपछि सोमबार समग्र बजार धेरै घटेको हो । बैंकको औषत हिस्सा धेरै भएका कारण बजारमा त्यसको सिधा असर पर्ने गरेको छ । सोमबार वाणिज्य बैंक समुहमा ३७.०२ अर्थात २.४६ अंकको गिरावट आएको छ । जीवन बीमा समुहमा १८१.५३ अंकको गिरावट आएको बजारमा निर्जीवन बीमा समुहमा १३२.३२, विकास बैंक समुहमा ८५.४१, लघुवित्तमा ६३.४१ अंकको गिरावट आएको छ । त्यसै गरी उत्पादन समुहमा ५७.१८ अंकले घटेको बजारमा वित्त समुहमा २८.७४, होटलमा १७.५६, लगानीमा १.४२, सामुहिक लगानी कोषमा ०.०३, अन्यमा २९.३४ र व्यापार समुहमा २६.६४ अंकको गिरावट आएको छ ।
सबैजसो उपसमुह ओरालो लाग्दै गर्दा सोमबार जलविद्युत समुहमा भने ५.३२ अंकको सुधार देखिएको छ । सोमबार माइखोला हाइड्रो, केबिएल डिबेञ्चर २०९०, हिमालयन हाइड्रो, जोशी हाइड्रो लगायत कम्पनीको सेयर मूल्य बढेको बजारमा सामुदायिक लघुवित्त, धौलागिरी लघुवित्त, लक्ष्मी सनराइन बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिटिजन्स बैंक लगायत कम्पनीहरुको सेयर मूल्य धेरै घटेको छ ।
४० करोड ८८ लाख ५३ हजार रुपैयाँको कारोबार सहित एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी शीर्षस्थानमा रहेको बजारमा कुमारी सबल योजनाका इकाइहरुको अधिक कारोबार भएको छ भने कारोबार संख्याका आधारमा एनआईसी एशिया बैंक शीर्षस्थानमा छ ।
बजारमा आएको गिरावटसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ६.८३ अंक अर्थात १.४२ प्रतिशतले घटेर ४७४.३५ अंकमा ओर्लिएको छ । त्यसैगरी कारोबारयोग्य कम्पनीहरुको मापक २.६८ अर्थात १.४० प्रतिशतले घटेर १८७.९९ अंकमा झरेको छ । क वर्ग अर्थात ठुला कम्पनीहरुको कारोबारयोग्य सेयरको मापक सेन्सेटिभ फ्लोट पनि २.५२ अंक अर्थात १.५३ अंकले घटेर १६२.२३ अंकमा अडिएको छ ।

बजार ओरालो लागेपछि समग्र बजार पुँजीकरणमा पनि संकुचन आएको छ । आइतबार ४६ खर्ब ३७ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४५ खर्ब ४१ अर्ब ८८ करोड ८९ लाख ३७ हजार रुपैयाँमा खुम्चिएको हो । ३५ अंकले बजार घट्दा एकै दिनमा लगानीकर्ताले ५८ अर्ब ४८ करोड २२ लाख ८८ हजार रुपैयाँले गुमाएका छन् । मौद्रिक नीतिको आशमा बजार बढ्न सुरु हुँदा ११ कारोबार दिन पहिले बजार पुँजीकरण ४३ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ थियो ।












प्रतिक्रिया