चन्द्रागिरी हिल्सको आईपीओ ‘प्रि अलटमेण्ट’ आज हुँदै, कहिले हुन्छ बाँडफाँड ?


चन्दा्रागिरी हिल्सले सर्वसाधारणमा जारी गरेको शेयरको ‘प्रि अलटमेण्ट’ बुधबार (आज) हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो आईपीओको ‘प्रि अलटमेण्ट’ गरी बाँडफाँडका लागि धितोपत्र बोर्डसँग स्वीकृति माग गर्ने जनाएको छ ।

ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहीबार र शुक्रबार मध्ये एक दिनमा शेयर बाँडफाँड गर्न धितोपत्र बोर्डको स्वीकृति माग गरिएको छ ।

‘प्रि अलटमेण्ट’ को विवरण बोर्डमा बुझाएसँगै बोर्डले निर्धारण गरेका दिन कम्पनीको शेयर बाँडफाँड गरिनेछ ।

१२ लाख ५२ हजारभन्दा बढी संख्यामा परेको आवेदनलाई प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि क्यापिटलले जनाएको छ । केही बेरमा अन्तिम तथ्यांक तयार पारेर प्रि अलटमेण्ट गरिने भएको हो । बैंक खातामा पर्याप्त मौज्दात नभएका कारण केही आवेदनहरु आस्वा सदस्य बैंकको तर्फबाट नै रद्ध भएको जनाएको क्यापिटलले त्यस्ता विवरण प्रबिष्ट गरिरहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

१३ लाख ९६ हजार कित्ता २२ कित्ता शेयरका लागि झण्डै १३ लाख आवेदन परेका कारण साढे ११ लाखभन्दा बढी आवेदकले शेयर नपाउने देखिन्छ ।

१३ करोड ९६ लाख रुपैयाँको शेयर निष्काशन भएकोमा उल्लेखित आवेदकबाट २ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर माग भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।