बेमौसमी वर्षाको कारण १ अर्ब २५ करोडको तरकारी बालीमा क्षति, उपभोक्ता महंगीको मारमा


काठमाडौँ । गत असोज र कात्तिकमा भएको बेमौसमी तथा भारी वर्षाको कारण मुलुकको कृषि उत्पादनमा ठुलो नोक्सानी भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरिमा कुल १ अर्ब २५ करोड ७१ लाख बढी रुपैयाँ बराबरको तरकारी बालीमा क्षति पुगेको हो ।

वर्षाको कारण पाक्ने बेला भएका तरकारी र भर्खरै रोपिएका हिउँदे तरकारीका बेर्नाहरुमा अन्याधिक क्षति पुगेको छ । लगातारको वर्षाले तरकारी बाली लगाएका खेतहरु डुबानमा पर्दा धेरै तरकारी बाली सडेर नष्ट भएका हुन् । मन्त्रालयका अनुसार तिन प्रदेशका विभिन्न जिल्लाहरुमा क्षति हुँदा सबैभन्दा बढी मधेश प्रदेशमा क्षति भएको छ । जसले गर्दा बजारमा तरकारीको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।

मन्त्रालयका अनुसार मधेश प्रदेशमा मात्र १ अर्ब २१ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको १५ हजार १५६ मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको छ । कोशी प्रदेशमा ४ करोड ४६ लाख ३३ हजार रुपैयाँ बराबरको ९६४ मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको हो । गण्डकी प्रदेशमा २० हजार रुपैयाँ बराबरको तरकारी बालीमा क्षति पुगेको छ । यो वर्षाको कारण ४५ लाख ७१ हजार रुपैयाँ बराबरको आलु बालीमा क्षति पुगेको छ ।

उपभोक्ता महङ्गीको मारमा

यही ठूलो क्षतिको कारणले गर्दा अहिले बजारमा तरकारीको मूल्य घट्न नसकेको कालीमाटी फलफुल तथा तरकारी व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार तरकारीको मूल्य घट्नुको सट्टा बरु उल्टै अकासिएको छ । उनले भने, “पाकेका तरकारीहरू नष्ट हुँदा तत्कालको बजार आपूर्तिमा सिधा असर परेको छ भने, हिउँदे तरकारीका बेर्ना नष्ट हुँदा, अहिले तरकारीको सिजनमा आपूर्तिमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।” तरकारी लगाउने समय र बेर्ना रोप्ने समयमा भएको वर्षाले गम्भीर असर पु¥याएको हो ।

बजारमा माग अनुसार तरकारीको आपूर्ति नहुँदा उपभोक्ताहरू महँगीको मारमा परेका छन् । तरकारी बाली लगाउने महत्वपूर्ण समयमा बेर्नाहरू नष्ट हुनुले किसानहरूलाई नयाँ बाली लगाउन पनि ढिलाइ भएको थियो, जसले गर्दा अहिले पनि बजारमा तरकारीको आपूर्ति हुन सकेको छैन ।

अन्य बालीमा कति भयो क्षती ?

बैमौसमी वर्षाको कारण २७ हजार ७५९ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको छ, जसबाट ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ आर्थिक नोक्सानी भएको छ । ६०.६७ मेट्रिक टन कोदो उत्पादनमा ह्रास आउँदा ५ लाख ३६ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको छ । यस्तै २ हजार ९९९ मेट्रिक टन फलफुल उत्पादनमा क्षति पुग्दा ५६ करोड ८८ लाख २६ हजार रुपैयाँको नोक्सानी भएको मन्त्रालयले जनाएको छ ।

करिब ७ लाख ७० हजार ४० मेट्रिक टन ऊखु उत्पादनमा क्षति पुग्दा ७७ करोड ३० लाख ५८ हजार रुपैयाँ आर्थिक नोक्सानी भएको छ ।

२४ लाख टन अलौंची उत्पादनमा क्षति हुँदा ७७ लाख १५ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको छ भने ८६ मेट्रिक टन अदुवाबालीमा क्षति भएको हुँदा ४५ लाख ७१ हजार आर्थिक नोक्सानी भएको छ । चिया तथा कफी उत्पादनमा पति क्षति पुगेको छ, जसबाट ६ लाख ८ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको छ । करिब ७ मेट्रिक दलहनवाली उत्पादनमा ह्रास आउँदा ४ लाख ६ हजार रुपैयाँको आर्थिक क्षति पुगेको छ । ३५६ मेट्रिक टन बीउ उत्पादनमा ह्रास आउँदा मात्र २ करोड ८१ लाख ४ हजार रुपैयाँको आर्थिक नोक्सानी भएको छ ।

यता , बेमौसमी वर्षाका कारण भएको ठूलो क्षतिपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पीडित किसानहरूलाई राहत प्रदान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।

मन्त्रालयले क्षतिको विस्तृत प्रतिवेदन तयार पारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइसकेको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, प्राधिकरणसँगको समन्वयमा क्षतिको मूल्यांकन र राहत वितरणको कामलाई अगाडि बढाइएको छ ।

जोशीले भने, “हामीले क्षतिको प्रतिवेदन प्राधिकरणमा पठाएर विभिन्न चरणमा छलफलमा छौँ । प्राधिकरणसँग निरन्तर छलफलको प्रक्रिया चलिरहेको छ । मन्त्रालयले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने तयारी गरिरहेको छ, जसले गर्दा वास्तविक पीडित किसानहरूले सहज र न्यायोचित तरिकाले राहत पाउन सकुन् ।”

सूचना अधिकारी जोशीले राहत वितरणको सम्पूर्ण काम राष्ट्रिय विपद् प्राधिकरणको सुझाव र मार्गदर्शनको आधारमा हुने जानकारी दिएका छन् । उनका अनुसार प्राधिकरणले तय गरेको मापदण्ड र कार्यविधि अनुसार किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।