उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले पायो पूर्णता, बजार सुधारकालागि गर्यो १० बुँदे निर्णय


नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले शुक्रबार पूर्णता पाएको छ । अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा १३ सदस्यीय फोरम बिस्तार गरिएको हो ।

२ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसहित १३ जनाको कार्यसमितिलाई पूर्णता दिइएको हो । जस अनुसार पौडेल सभापति रहेका छन् भने उपसभापति रामशरण थपलिया बनेका छन् ।

सदस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल रहेका छन् । आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडालाई फोरममा समेटिएको छ । सल्लाहकारहरुमा कुमारकेशर विष्ट र धु्रव तिमिल्सिना रहेका छन् ।

फोरमको कार्यसमितिको पहिलो बैठक बसी विभिन्न १० बुँदाका आधारमा शेयर बजारलाई अग्रगामी दिशामा लैजान पहल गर्ने निर्णय गरिएको छ । जसमा महासघंको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन काम गर्ने, पूँजीबजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको बिकास र विस्तार गर्ने, पुँजीबजारमा वैदेशिक लगानी भित्रयाउन पहल गर्ने लगायतका निर्णय गरिएको फोरमका सभापति अम्बिका प्रसाद पौडेलले जानकारी दिए ।

त्यसै गरी पुँजीबजार सम्बन्धि ऐन कानुनमा समसामयिक सुधार गर्नको लागि सुझाव दिने, पहिलो र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक भरपर्दो सूचनाहरु प्रदान गर्नको लागि आवश्यक काम गर्ने, मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्यक्षेत्र विस्तारका र संख्या थप गर्नका लागि पहल गर्ने विषयमा फोरमको पहिलो बैठक केन्द्रित भएको छ ।

ओटिसी मार्केटलाई थप व्यवस्थित गर्न पहल गर्ने, शेयर खरिद बिक्री लाभकरमा रहेको अन्यौलको निराकरण र समयसापेक्ष सुधारका लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गरि लगानीको क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने, लगानीकर्ताहरुका लागि भरपर्दो र मजबुत व्यबसायको रुपमा यो क्षेत्रलाई स्थापित गर्न पहल गर्ने, प्रविधि र पँहुचको हिसाबले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरि अघि बढ्ने विषयमा छलफल भएको थियो ।

पुँजीबजारमा लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा चलिआएका बैकल्पिक औजारहरु इक्यूटी डेरिभेटिभ, सर्टसेलिङ, इन्डेक्स फण्ड, इन्डेक्स डेरिभिटीभ लगायत ल्याउनको लागि पहल गर्ने निर्णय फोरमले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।