काठमाडौँ । काठमाडौँ उपत्यकामा विगत दुई हप्तादेखि ग्यासको अभाव भएको छ । अहिले ग्यास बेच्ने डिपो र किराना पसलहरूमा ग्यास छैन भनेर टासेको पाइन्छ । व्यापारीहरूका अनुसार माघ महिनाको दोस्रो सातादेखि नै ग्यास आउन कम भएको हो ।
जसले गर्दा उपभोक्ताले लाइन बसेर ग्यास खरिद गर्न बाध्य भएका छन् । कतै ग्यास नपाएपछि बालाजु नजिकै बस्दै आएकी सिर्जना पाण्डे ग्यास किन्न बालाजु औद्योगिक क्षेत्र पुगिन् ।
ग्यास सकिएकोले कुनै विकल्प नदेखिकी उनले १ घण्टा लाइन बसेपछि ग्यास पाइन् । आफूले विगतका केही वर्ष अगाडि पनि यसैगरी ग्यास खरिद गरेको बताउँदै उनले सरकारले उपभोक्ताको आवश्यकतालाई कहिलै गम्भिरताको रुपमा नलिएको गरिन् ।
सिर्जना मात्र होइन बुढानीलकण्ठ बस्दै आएका पुष्कर काफ्ले हतार हतार खाली सिलिन्डर काँधमा बोकेर नजिकैको राई किराना पसलमा पुगे । ग्यासको खाली सिलिन्डर भुइमा राख्दै पसलेलाई भने, “दाई ग्यास साटिदिनु खाना खाएर अफिस जानुपर्न, ढिला भइसक्यो ।” पसलेले निराश हुँदै भने, “भाइ ग्यास नआएको त दुई हप्ता भइसक्यो स्टक भएको पनि सकियो ।”
काफ्ले पसलेको कुरा सुनेपछि एकछिन त अलमलमा परे । उनले भने “खाना खाएर अफिस जान्छु सोचेको, आज बाहिर नै खाना खाएर काममा जानुपर्ला,” भन्दै निस्किए ।
यस्तै टोखामा कोठा गरी बस्दै आएका देवराज कडेँल विगत चार दिनदेखि ग्यास पसलमा धाउँदा पनि ग्यास नपाएको गुनासो गर्छन् । उनी भन्छन “विगत चार दिनदेखि ग्यास किन्न पसल धाउँदै छु तर पाएको छैन । भात त राइस कुकरमा पकाउँछु दाल र तरकारी केले पकाउने ।” उनी सरकारले लापरवाही गर्दा आफुहरुले दुःख भोग्नु परेको गुनासो गर्छन् ।
यी प्रतिनिधि घटना मात्र हुन् । अहिले काठमाडौं उपत्यकामा बस्ने हजारौं मानिसले यस्तै सास्ती भोगिरहेका छन् । ग्यास साट्न जाँदा पसलेहरुले ग्यास छैन भनेर रित्तै घर पठाइदिन्छन् ।

बुढानीलकण्ठका किराना व्यापारी अशोक राई भन्छन्, “डिपोबाटै ग्यास आएको छैन । अरू कम्पनीको त अलिअलि आउँछ तर अहिले विशेषगरी नेपाल ग्यासको सिलिन्डर पाउनै मुस्किल भएको छ । उनले भने, “दैनिक धेरै ग्राहकहरु ग्यास साट्न भनेर आउँछन् कतिले मेरो घरमा ग्यास पु¥याइदेउ भन्दै फोन गर्छन् । तर के गर्नु सबैलाई निराश फर्काउनु परेको छ ।”
त्यस्तै, टोखाका अर्का व्यापारी राजन श्रेष्ठको समस्या पनि उस्तै छ । उनी भन्छन्, “पसलमा भएको स्टक सबै सकियो । पुरानो चिनजानका ग्राहकहरू ग्यास लिन आउँछन्, तर छैन भनेर फर्काउनुपर्दा एकदमै नरमाइलो लाग्छ ।”
नेपालमा ग्यास आयात गर्दै आएको नेपाल आयल निगमले आपूर्ति प्रणालीमा आएको समस्याको कारण ग्यास आपूर्ति ढिलो भएको जनाएको छ । जसले गर्दा बजारमा माग अनुसार ग्यास पुग्न सकेको छैन । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँबाट सबैभन्दा नजिकको ग्यास फ्याट्रीमा मर्मतसम्भारको काम हुँदा आयात प्रक्रियामा ढिलाई भएको हो ।
“नेपालले ग्यास ल्याउने सबैभन्दा नजिकको रिफइनरी भारतको बरौनीबाट काठमाडौं ग्यास आइपुग्न जम्मा २ दिन लाग्छ ।” उनले भने, “करिब डेढ महिनाअघि बरौनीको त्यो ग्यास रिफाइनरी (फ्याक्ट्री) बिग्रियो र मर्मत गर्नुपर्ने भयो ।” नजिकको रिफाइनरी बन्द भएपछि नेपाल आउने ग्यासका गाडीहरू टाढाका रिफाइनरीहरू मथुरा वा पारादीप जानुपरेको बताउँदै उनी भन्छन्, “बरौनीबाट २ दिनमा आउने गाडी मथुरा वा पारादीपबाट आउँदा ८ देखि १० दिन लाग्न थाल्यो । बाटो लामो भएपछि समयमा गाडी आइपुगेनन्, जसले गर्दा बजारमा ग्यास कम भयो ।” गर्मी महिनाभन्दा जाडोमा ग्यास ग्यास खपत बढी हुने हुँदा पनि माग अनुसार आपूर्ति हुन नसकेको ठाकुरको भनाई छ ।
अर्कोतिर, नजिकिँदै गरेको चुनावले गर्दा गाउँ सहरमा भोजभतेर र कार्यक्रमहरू बढेसँगै ग्यासको माग एक्कासि बढेको कारणले पनि ग्यास खपत बढ्दा आपूर्ति प्रणालीमा समस्या देखिएको उनको भनाई छ ।
“बजारमा ग्यास पाइँदैन रे ! भन्ने हल्ला चलेपछि मानिसहरू आत्तिए ।” प्रवक्ता ठाकुर भन्छन्, “जसको घरमा आधा सिलिन्डर ग्यास बाँकी छ, उनीहरूले पनि अर्को सिलिन्डर किनेर राख्न थाले । होटल र रेस्टुरेन्टहरूले पनि धेरै ग्यास जम्मा गरे । यसरी अनावश्यक रूपमा ग्यास घरमा थुपार्दा एउटा मात्र सिलिन्डर हुनेलाई गाह्रो पर्यो ।”
यस्तै उद्योगीहरु पनि आयात गर्नुपर्ने स्थानको दुरी बढ्दा ग्यास आपूर्तिमा ढिलाई भएको बताउँछन् । उनीहरुका अनुसार २ दिनमा ग्यास आइपुग्ने बैरौनीबाट आयात रोकिदा ८ दिन लाग्ने मथुरा लगायत ठाउँबाट आयात गर्नुपर्दा ग्यास आपूर्ति ढिला भएको हो ।

साथै भारतीय बुलेटहरुले भाडादर कम भएको कारण आयात गर्न नमान्दा पनि समस्या भएको उद्योगीहरु बताउँछन् । नेपाल ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव प्रसाद घिमिरेका अनुसार भारतीय नम्बर प्लेटका झन्डै ७ सयको संख्यामा बुलेटले ग्यासको ढुवानी गर्दै आएकोमा भाडादर महङ्गो हुँदा उनीहरु नेपाल आउन मानेनन् । उनले भने, “पछिल्लो समयमा भारतमै भाडादर अत्यधिक बढेको र भारतबाट नेपाल आउँदा टोल ट्याक्ससमेत प्रतिबुलेट १ हजार २ सय भारतीय रुपैयाँ बढी तिर्नुपर्दा उनीहरु भारतमै सप्लाई गर्न थाले जसले नेपालमा आपूर्ति रोकिन गयो ।”
अब कहिले पाइन्छ त सजिलै ग्यास ?
अबको एक हप्ताभित्रमा नै उपत्यकामा ग्यास आपूर्ति निरन्तर हुने आयल निगमका प्रवक्ता ठाकुरले जानकारी दिए । उनका अनुसार अब समस्या बिस्तारै समाधान हुँदैछ ।
ठाकुरले भने, “हामीले फेब्रुअरी महिनाका लागि ग्यास ल्याउने कोटा पनि बढाएका छौ । सामान्य अवस्थामा महिनामा ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेकोमा अब २ हजार मेट्रिक टन थप गरेर ल्याउँदैछौं ।”
भारतको बरौनीमा बिग्रिएको फ्याक्ट्री पनि सञ्चालनमा आइसकेकोले ग्यास आपूर्ति एक दुई हप्तामा सामान्य बन्दै जाने पूर्व अध्यक्ष घिमिरेको भनाई छ । अन्य नाकाबाट पनि गाडीहरू काठमाडौं भित्रिन थालेको उनले बताए ।
घिमिरेले भने, “अब उपभोक्ताले आत्तिनु पर्दैन । अबको एक डेढ हप्ताभित्र बजारमा ग्यासको आपूर्ति पुरै सजिलो हुन्छ ।”












प्रतिक्रिया