राष्ट्रिय वाणिज्य बैंकले पारित गर्यो ४.५ प्रतिशत लाभांश, सर्वसाधारणमा शेयर निष्काशन अन्यौलमा


राष्ट्रिय वाणिज्य बैंकले १५ औं वार्षिक साधारण सभाबाट ४.५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार सम्पन्न बैंकको साधारण सभालगत आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्दै लाभांश प्रस्ताव पारित गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताएका थिए ।

सर्वसाधारणमा शेयर निष्काशन गर्ने चर्चा धेरै समय अघिदेखि चलिरहे पनि बैंकले प्रकृया अघि बढाएको छैन । पूर्ण सरकारी स्वामित्वको एउटा संस्थाका रुपमा बैंकको अस्तित्व बचाई राख्ने आवाज सरकारी संयन्त्रबाट उठिरहेको सन्दर्भमा शेयर निष्काशनको प्रकृया अघि बढ्न नसकिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउँदै आएका छन् । विद्यमान व्यवस्था अनुसार शेयर निष्काशन गर्ने सम्बन्धमा बैंक व्यवस्थापनले केही गृहकार्य गरे पनि त्यसले मूर्त रुप पाउन सकेको छैन ।

बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।