नेपाल उद्योग परिसंघले नेपालमा भारतीय लगानी भित्र्याउन भारतीय राजदुताबासलाई आग्रह गरेको छ । नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उदृत गर्दै नेपालमा लगानी गरे राम्रो प्रतिफल आर्जन गर्न सकिने भन्दै लगानी विस्तार गर्न परिसंघले आग्रह गरेको हो ।
नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच भएको छलफलमा परिसंघले यस्तो आग्रह गरेको हो । थापाथलीस्थित परिसंघको कार्यालयमा भएको छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग परिसंघमा धेरै लगानीकर्ताहरु आवद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न परिसंघले सहजीकरण गर्ने बताएका थिए । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो ।
नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानु पर्ने धारणा परिसंघले राखेको छ ।
नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नु पर्ने तर्क परिसंघको छ ।
दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिने बताए । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल आवश्यक रहेको उनको भनाई थियो । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दुतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने उनले बताए ।
लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गर्न परिसंघले सहयोगी भूमिका निर्वाह गर्ने र यसका लागि उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने परिसंघले बताएको छ ।
नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटि, गार्मेण्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।
नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया