छ महिनामा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी २८ अर्बले विस्तार : केन्द्रीय बैंक


बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ६ महिनामा २८ अर्ब रुपैयाँले विस्तार भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तको तुलनामा पुस मसान्तमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी २८ अर्बले बढेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ रहेको बैंक वित्तीय संस्थाको चुक्ता पूँजी चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ खर्ब ८० अर्ब २४ करोड रुपैयाँ पुगेको हो ।

त्यसैगरी, यस अवधिमा पूँजीकोष  ५२१ अर्ब ७० करोडबाट वृद्धि भई ५८७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

२०७७ पुसमा वाणिज्य बैंकहरूको पूँजी कोष पर्याप्तता अनुपात १३.७५ प्रतिशत, विकास बैंकहरूको १३.५१ प्रतिशत र वित्त कम्पनीहरूको १९.८१ प्रतिशत रहेको छ । २०७७ असारमा यी अनुपातहरू क्रमशः १४.०१ प्रतिशत, १४.४२ प्रतिशत र १९.५९ प्रतिशत रहेका थिए । बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३५२ अर्ब २१ करोडले तथा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३६६ अर्ब ३३ करोडले विस्तार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप १९९ अर्ब ९१ करोडले तथा कर्जा २४७ अर्ब ३६ करोडले विस्तार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।