निर्वाचन-वैदेशिक यात्रा

नेता छान्न भन्दा रोजीरोटी धान्ने बाध्यता : निर्वाचनको मुखैमा लिए ७० हजार बढीले श्रम स्वीकृति


काठमाडौँ । देशैभर चुनावी माहोल चलिरहँदा युवा भने अवसरको खोजीमा म्यानपावरको ढोका ढकढकाउन बाध्य छन् । निर्वाचन आउन अब मात्र १६ दिन बाँकी छ । चुनावी प्रचारप्रसार तीव्र बनेको छ । उम्मेद्वारहरू मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । तर, युवालाई आफ्नो गाउँको प्रतिनिधि छान्ने इच्छा भए पनि बाध्यताले त्यसलाई थिचिदिएको छ ।

नेपालमा भविष्य नदेखेपछि ’भोट’ हाल्नुभन्दा परिवारको ’भोक’ टार्न यहि बेला श्रम स्वीकृती दिन आउनु परेको वैदेशिक रोजगार कार्यालय ताहाचलमा उभिरहेकी सम्झना खत्री बताउँछिन् ।

नेताहरूले गाउँमै कलकारखाना खोल्ने र युवालाई बाहिर जान नपर्ने वातावरण बनाउने वाचा गरेका थिए । तर, पाँच वर्ष बितिसक्दा पनि गाउँमा एउटा सानो उद्योगसम्म खुलेन ।

अघिल्लो चुनावमा पनि परिवर्तन हुन्छ भनेर आफुले भोट हालेको स्मरण गर्दै उनले भनिन्, ‘अघिल्लो चुनावमा पनि रोजगारी दिन्छौँ भनेकै हुन्, तर अहिलेसम्म गाउँमा एउटा कलकारखाना खुलेन, देशको मुहार फेरिएछ भने फर्केर आउँला ।’

निर्वाचनको मुखैमा विदेश जानु पर्ने पीडा उनका आँखामा प्रस्ट देखिन्थ्यो । ‘भोट हाल्ने दिन म शायद विमानमै हुनेछु,’ उनले भनिन् ।

सम्झना मात्र होइन्, निर्वाचनको मुखमा श्रम स्वीकृति लिन धाउनेहरूको भीड कम भएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ’डिपार्चर गेट’ मा दैनिक १५ सयभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि उडिरहेका छन् ।

‘प्रत्येक चुनावमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा “पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने“ नारा लेख्न छुटाउँदैनन् । तर, परिवर्तन पाएका छैनौँ । ’ ताहाचलमै श्रम स्वीकृति लिन हातमा पार्सपोर्ट लिएर लाइनमा बसेका रमेश गिरीले भने ।

नेतालाई जिताउन लाइन बस्नु भन्दा श्रम स्वीकृति लिने लाइनमै आनन्द महशुस गरेको उनी बताउँछन् । “भोट त हालिएला, तर भोट हालेकै भरमा अर्को महिना घर खर्च चल्दैन,“ रमेशले भने्, “नेतालाई जिताउन लाइन बस्ने कि आफ्नो भविष्य खोज्न विमानस्थलको लाइन बस्ने? मैले दोस्रो विकल्प रोज्न बाध्य छु ।“

‘चुनावी भाषणमा सुनिने विकास र समृद्धिका शब्दहरू विमानस्थलको विदाइमा खस्ने आँसुसँग मेल खाँदैनन्’ उनी निराश हुँदै भने ।

यता, विमानस्थलमा छोरालाई बिदाइ गर्न आएका सिन्धुलीका ६० वर्षीय वीरबहादुर लामा नेताहरुकै कारण आफ्ना सन्तानलाई टाढा पठाउन बाध्य भएको बताउँछन् । भन्छन्, ‘भोट हालेर के गर्नु ? हाम्रा लागि त जसले जिते पनि उस्तै हो। छोरो विदेश नगए साँझ बिहान चुल्हो बल्दैन। देशमै काम पाउने भए किन सात समुद्र पारि पठाउनु पथ्र्यो र ?’

हरेक निर्वाचनमा राजनीतिक दलहरूले ’स्वदेशमै रोजगारी’ को आश्वासन बाँढ्ने गरेको बताउँदै उनले भने, ‘दललाई सत्तामा पु¥याउने काम मात्र हाम्रो हो, सत्तामा पुगेपछि कसैले गाउँलाई फर्केर हेर्दैनन्। विकास त परको कुरा । ’

दललाई सत्तामा पुर्याउने निर्णायक शक्ति मानिएका युवा जनशक्ति निर्वाचनकै मुखमा बाहिरिएका छन् । माघमा मात्रै ७० हजार बढी युवाले श्रम स्वीकृति लिएका छन् । यसले राजनीतिक दलप्रतिको वितृष्णा झल्काएको छ ।

विभागका अनुसार २०८२ माघमा वैदेशिक रोजगारीमा जान ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । माघमा १०७ देशमा जान श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ जना पुरुष र आठ हजार ३४१ जना महिला छन् ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ सुरु भए यताको सात महिना (साउनदेखि माघसम्म)मा वैदेशिक रोजगारीमा जान कुल चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्ष पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या सात हजार ६९ ले (१.५१ प्रतिशत ) ले बढी हो ।

माघमा युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, रोमानिया, जापान, साइप्रस, ओमान, बहराइन र क्रोएसिया जान सबैभन्दा ठूलो संख्याले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
माघमा यूएई जान १५ हजार १३७, साउदी जान ११ हजार ५९२, कतार जान ११ हजार ५८०, मलेसिया जान १० हजार ३४१, कुवेत जान ५ हजार ४४३, रोमानिया जान ३ हजार ९४०, जापान जान एक हजार ७६०, साइप्रस जान एक हजार २५५, ओमान जान एक हजार २०५, बहराइन जान एक हजार १२७ जना र क्रोएसिया जान ८४८ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।