डलरको उतारचढावबाट बच्न बैंकहरुलाई थप स्पेस : एनडीएफको सीमा वृद्धिले बजारमा कस्तो प्रभाव पर्ला ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि विदेशी मुद्राको विनिमय दरमा हुने जोखिम व्यवस्थापन गर्न प्रयोग गरिने नन्–डेलिभरेबल फरवार्ड (एनडीएफ) को सीमा बढाएको छ ।

राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत पहिले कायम रहेको २५ प्रतिशतको सीमालाई बढाएर ३० प्रतिशत पु¥याउने निर्णय गरेको हो । यो नयाँ व्यवस्थाले बैंकहरूलाई डलरको भाउमा हुने उतारचढावका कारण आइपर्ने आर्थिक नोक्सानीबाट बच्न र बचाउन थप मद्दत पुग्ने केन्द्रिय बैंकको अपेक्षा रहेको छ । विशेष गरी विदेशी मुद्राको कारोबार गर्ने ठुला बैंकहरूका लागि अन्तर्राष्ट्रिय कारोबारमा सहजता प्रदान गर्ने राष्ट्र बैंकको भनाई छ ।

मुलुकको बाह्य क्षेत्र सन्तुलनमा रहेको र विदेशी मुद्राको सञ्चिति पनि निकै बलियो भएकाले केन्द्रीय बैंकले यस्तो नीतिगत लचकता अप्नाइएको जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेका अनुसार बैंकहरूको कार्यक्षमता र बजारको आवश्यकतालाई ध्यान दिएर यो निर्णय लिइएको हो । उनी भन्छन्, “विदेशी विनिमय बजारलाई अझ बढी चलायमान बनाउन र बैंकहरूलाई विदेशी मुद्राको उपयोगमा सहजता प्रदान गर्न यो सीमा पुनरावलोकन गरिएको हो ।” बैंकहरूले अहिले विदेशमा लगानी गरिरहेको अवस्थामा यो व्यवस्थाले उनीहरूलाई त्यस्तो लगानीको जोखिम व्यवस्थापन गर्न थप सहयोग पुग्ने उनले बताए ।

“अहिले नेपाली बैंकहरूसँग लगानी गर्नका लागि पर्याप्त पैसा अर्थात् तरलता छ, तर बजारमा ऋणको माग भने न्यून रहेको छ,” न्यौपानेले भने, “यस्तो अवस्थामा बैंकहरूले आफूसँग भएको पैसालाई केवल ढुकुटीमा थन्काएर राख्नुभन्दा विदेशी मुद्रा बजारका विभिन्न उपकरणहरूमा लगाउनु फाइदाजनक हुन्छ ।” बैंकहरूले एनडीएफमार्फत भविष्यमा डलरको भाउ कति हुने भन्ने कुरा आजै तय गर्न सक्ने हुँदा भोलिका दिनमा डलरको भाउ एक्कासि बढ्यो भने पनि उनीहरूलाई आर्थिक जोखिम कम हुने उनको भनाई छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट नै खरिद गर्ने गरेको र पर्याप्त मुद्रा सञ्चिती भएको अवस्थामा एनडीएफको सीमा बढाउँदा भविष्यमा विदेशी मुद्राको कारोबार सहज हुने उनले बताए । सीमा बढेपछि अब बैंकहरूले आफ्नो पुँजीको ३० प्रतिशतसम्म यस्तो सम्झौतामा लगाउन पाउनेछन् । यसले बैंकहरूको लगानी विविधीकरणमा सहयोग पुग्ने र उनीहरूको नाफा कमाउने क्षमतालाई पनि सहयोग हुने विज्ञहरू बताउँछन् ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्ट राष्ट्र बैंकको यो निर्णय स्वागतयोग्य भएको बताउँछन् । उनी भन्छन्, “बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको पैसा विदेशमा वा विदेशी मुद्राको कारोबारमा लगाउन पाउनु एउटा राम्रो अवसर हो । नेपाली बैंकहरूले आफूलाई अन्तर्राष्ट्रिय बजारमा सक्रिय बनाउन यसले ठुलो भूमिका खेल्ने र बजारलाई पनि अझ बढी सक्रिय बनाउँने उनको बुझाई छ । उनका अनुसार अहिले नेपालभित्र मात्रै पैसा थुपारेर राख्नुभन्दा विदेशमा लगानीका विकल्प खोज्नु सही बाटो हो । उनी भन्छन्, “भविष्यमा डलरको भाउमा हुने उतारचढावले पार्ने असरलाई यसले धेरै हदसम्म कम गरिदिन्छ ।”

एनडीएफको सीमा बढ्दा विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा पैसा ल्याउन सजिलो हुने विज्ञहरूको बुझाई छ । यसले भविष्यमा बजारमा विदेशी मुद्राको अभाव वा चाप हुँदा वित्तीय प्रणालीलाई मदत गर्ने उनीहरूको बुझाई छ ।

यस नीतिको मुख्य उद्देश्य भनेकै बैंकहरूलाई सुरक्षित र आधुनिक कारोबारतर्फ आकर्षित गर्नु रहेको केन्द्रिय बैंकको भनाई छ । बैंकहरूले अन्तर्राष्ट्रिय स्तरको यस्तो वित्तीय उपकरण प्रयोग गर्न थालेपछि उनीहरूको व्यवसायिक दक्षता पनि बढने अपेक्षा गरेका छन् । डलरको भाउमा हुने अनिश्चितताले जुनसुकै बेला व्यापारिक लागत बढाउन सक्ने र यसलाई एनडीएफले नियन्त्रण गर्ने बताइएको छ ।

राष्ट्र बैंकले दिएको यो थप सुविधाले बैंकहरूलाई आफ्नो सम्पत्ति र दायित्वको सन्तुलन मिलाउन अझ सजिलो बनाउनेछ । यो व्यवस्थाले नेपाली वित्तीय प्रणालीलाई बाह्य क्षेत्रमा हुने उतारचढावसँग जुध्न सक्ने गरी तयार पारेको छ । ५ प्रतिशतको वृद्धि धेरै प्रभावकारी भने नहुने पुर्व निर्देशक भट्टको बुझाई छ ।

तर राष्ट्र बैंकको यो निर्णयले नेपाली बैंकहरूलाई घरेलु बजारको सिमित घेराबाट बाहिर निस्केर अन्तर्राष्ट्रिय मुद्रा बजारमा कारोबार गर्न केहि हदसम्म भएपनि सीमा बढाएको उनी बताउँछन् । यसअघि विज्ञहरूले पनि राष्ट्र बैंकले नन्– डेलिभरेवल फरवार्डको सीमा बढाउनुपर्ने बताएका थिए । नोटबजारसँग कुरा गर्दै पूर्व बैंकर भूवन दाहालले यसको सीमा बढाएर शत् प्रतिशत कायम गर्नुपर्ने दाबी गरेका थिए । यसले तरलता व्यवस्थापनमा सहज पुग्ने उनको भनाई थियो । यो व्यवस्थाले मुलुकमा रहेको अधिक तरलतालाई सही ठाउँमा परिचालन गर्ने बाटो देखाउने उनको दाबी थियो ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  ०७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।