कुमारी इक्वीटी फण्डले कसरी दिन्छ २२ प्रतिशत औषत प्रतिफल ?


दोस्रो बजारमा शेयर कारोबार गर्न नजानेका वा समय दिन नसक्नेहरुका लागि उत्तम उपकरणका रुपमा म्युचुअल फण्डलाई लिने गरिन्छ । यसै क्रममा कुमारी बैंकको प्रवद्र्धनमा फागुन १४ गते शुक्रबारदेखि कुमारी इक्वीटी फण्डका ६ करोड ८० लाख ईकाईहरु सर्वसाधारण्का लागि बिक्रीमा ल्याउँदैछ ।

मेरो शेयरबाट आवेदन दिन सकिने गरी प्रति इकाई १० रुपैयाँ अंकित दरमा इकाईहरु निष्काशन गर्न लागिएको हो । कुमारी सामुहिक लगानी कोष अन्तरगत ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गर्न लागिएकोमा कोष प्रवद्र्धक कुमारी बैंकलाई १५ प्रतिशतले हुने १ करोड २० लाख इकाई सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणमा निष्काशन हुनेछ ।

१० वर्षे अवधिको बन्दमुखी योजनाका इकाईमा आवेदन गर्नका लागि लगानीकर्ताले आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्र्तगत पनि आवेदन दिन सक्ने छन् । न्यूनतम १ सय ईकाई र अधिकतम ८० लाख ईकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कुमारी क्यापिटलको व्यवस्थापनमा कोषका इकाईहरु निष्काशन गर्न लागिएको हो । क्यापिटलका लगानी व्यवस्थापन प्रमुख सुमन गौतमका अनुसार फण्डको ईकाईमा लगानी गर्ने ईकाईधनीहरुलाई पहिलो वर्ष १० रुपैयाँबाट सुरु हुने इकाईको नेट एसेट भ्यालु अन्तिम वर्षमा २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

शेयर बजारमा हुने उतारचढावबाट उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित विकल्प हुने सुझाव दिने गौतमका अनुसार कुमारी इक्विटी फण्डले २२ प्रतिशतसम्मको प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।

२२ प्रतिशत प्रतिफल कसरी गरियो प्रक्षेपण ?

क्यापिटलका लगानी व्यवस्थापन प्रमुख गौतमका अनुसार परम्परागत रुपमा नै २२ प्रतिशत प्रतिफल प्रक्षेपण गरिएको हो । “१० वर्षमा २२ प्रतिशत अर्नेबल रिटर्न भनेको धेरै सानो रकम हो । सिम्पल एभरेज रिटर्न २२ प्रतिशत हो । सिएजीआर कम्पाउण्डिङ वार्षिक ग्रोथ रेट हेर्दा १५ प्रतिशत मात्र हो” गौतमले भने ।

“नेप्सेलाई नै हेर्ने हो भने पनि पाँच दश वर्षमा १ वर्ष होल्ड गरेको फण्डमा झण्डै २९ प्रतिशतको रिटर्न छ । त्यहि तथ्यांकलाई मात्रै हेर्ने हो भने कुनै बेला ५ प्रतिशत नोक्सान छ भने कुनै बेला ४० प्रतिशत रिर्टनको अवस्था छ” उनले भने, “सामान्य अवस्थामा ४ वर्ष भन्दा माथि अवधिका लागि गरिने लगानीमा २५ प्रतिशत भन्दा बढी रिर्टनको अवस्था छ । यसलाई नै आधार मानेर हामीले २२ प्रतिशतको प्रतिफल प्रक्षेपण गरेका हौं । समग्रमा योभन्दा बढी प्रतिफल विबरण गर्न सकिन्छ ।”

ईकाई बिक्रीबाट संकलित रकम दक्षतापुर्वक योजनाले तोकेका लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उच्च व्यवस्थापन गरी लगानीकर्ताको लगानीलाई सुनिश्चित गर्ने विश्ववास क्यापिटलले लिएको छ । यस क्रममा फण्डमा संकलन हुने रकमको ७० प्रतिशत रकम दोस्रो बजारमा लगानी गरिनेछ भने ५ प्रतिशत रकम साधारण शेयर, २० प्रतिशत रकम पिक्स्ड इनकम सेक्युरिटिज र ५ प्रतिशत र नगद मौज्दातका रुपमा राखिने क्यापिटलले जनाएको छ ।

फण्डको आकार ८० करोडको भए पनि बजारबाट संकलित रकमका आधारमा फण्डको आकार २५ प्रतिशतसम्म बिस्तार गर्न सकिने व्यवस्था छ । यस आधारमा कुमारी इक्विटी फण्डको आकार लक्ष्य अनुसार १ अर्ब रुपैंयासम्म पुग्न सक्ने गौतमले बताए ।

फण्डको विबरण पत्रको पूर्ण पाठ यहाँबाट हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।