५५ नम्बरको सेयर ब्रोकर अनिश्चितकालका लागि निलम्बित, बिचौलिया भट्टलाई अवैध रुपमा सेयर किनबेच गरिदिएको आरोप 


काठमाडौं । धितोपत्र बोर्डले ५५ नम्बरको सेयर ब्रोकरलाई निलम्बित गरेको छ। ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई बोर्डको सोमबारको बैठकले अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बिचौलिया दीपक भट्टलाई उधारोमा सेयर किनबेच गरेको आरोपमा कम्पनीलाई निलम्बनमा राख्ने निर्णय गरिएको बोर्ड स्रोतले नोटबजारलाई जानकारी दियो ।

सम्पत्ति शुद्धीकरण विभागले सेयर बजार नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई भट्टलाई उधारोमा सेयर किनबेछ गराएको लगायत आधारमा कार्वाही गर्न पत्राचार गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा भट्टले आफ्नो मात्र नभइ अन्य खाताबाट रकम भुक्तानी भएको देखिएपछि ५५ नम्बर ब्रोकर माथि कारबाही गर्न विभागले सुझाएको थियो ।

सम्बन्धित व्यक्तिको खाताबाट रकम लिनेदिने गर्नु पर्नेमा अन्य बैंक खाताहरूबाट कारोबारको भुक्तानी भएको, सेयर कारोबारको लागि तोकिएको व्यवस्था विपरीत कारोबार गराएको तथा कारोबार गर्नुअघि कम्तीमा २५ प्रतिशत पेस्की जम्मा लिनु पर्नेमा त्यस्तो नगरी कारोबार सेवा दिएको भन्दै ५५ नम्बर ब्रोकर कार्वाहीमा परेको हो । 

अर्को निर्णय नभएसम्म ब्रोकरले कारोबार सेवा प्रवाह गर्न पाउने छैन । काठमाडौं सहित मुलुकका १० स्थानबाट कम्पनीले सेवा दिदै आएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार  २१ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।