बजार सूचक उकालो लाग्दा तपाईको कम्पनीको शेयर मूल्य के भयो ?


साताको तेस्रो दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ ।

वाणिज्य बैंक समुहमा गिरावट आउँदा पनि बजार साढे १४ अंकले उकालो लागेको हो । बजार खुले पछि केही समय ओरालो लागेकोमा क्रमिक सुधारसँगै १४.५७ अंकको सुधार सहित बन्द भएको हो । योसँगै बजार परिसुचक नेप्से २५२८.९५ अंकमा पुगेको छ ।

२०८ कम्पनीका १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयरहरु ६१ हजार ४२२ पटक किनबेच हुँदा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार रुपैंयाको शेयर कारोबार भएको छ ।

यस क्रममा शेयर मूल्य वृद्धिसँगै नेपाल पुर्वाधार बैंकको अधिक शेयर कारोबार भएको छ । धेरै शेयर कारोबार हुने शीर्ष १० कम्पनीमा माथिल्लो तामाकोशी, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, रसुवागढी हाइड्रो, साल्ट ट्रोडिङ, निर्धन उत्थान लघुवित्त, मेरो माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स र अरुण काबेली रहेका छन् ।

९८ कम्पनीको शेयर मूल्य बढेको बजारमा ६६ कम्पनीको घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको बजारमा साल्ट ट्रेडिङ, चन्द्रागिरी हिल्स, रसुवागढी हाइड्रो, कालिका पावर, वोमी लघुवित्त, माथिल्लो तामाकोशी र रैराङ हाइड्रोका लगानीकर्ताको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

उता जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा नै सबैभन्दा धेरै गिरावट आएको छ । पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्यमा सबैभन्दा धेरै अर्थात ४.१५ प्रतिशतको गिरावट आएको बजारमा सप्तकोशी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याल्ली हाइड्रो, युनाइटेड फाइनान्स, युनिलिभर लगायत कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।

व्यापार, होटल, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सूचक उकालो लागेको बजारमा अरु सबै सूचक ओरालो लागेका छन् ।

तिब्र उतारचढाव देखिँदै आएको बजारमा मंगलबारको औसत कारोबारको गतिले बजार स्थिर हुन खाजेको देखिएको छ । यद्यपी विभिन्न हल्लाका कारण केही कम्पनीको शेयर मूल्य अधिक बढेको अवस्थाले भने मंगलबारको वृद्धिलाई कति स्थिर बनाउला भन्ने चासो आम लगानीकर्तामा छ ।

पछिल्ला दिनमा देखिएको बजारको गतिका कारण धेरै लगानीकर्ताहरु अन्यौलको अवस्थामा छन् । उत्साहित बन्न नसकिरहेका बेला बजार उकालो लाग्नु पहिले पछुतो मान्नेहरु बजार माथिल्लो विन्दुमा पुग्दा शेयर किनेर घट्दो मूल्यमा बिक्री गरिरहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।