अजोड इन्स्योरेन्सको सूचना चुहाएर गराइयो भित्री कारोबार, नेप्सेले छानबिन गर्ने


अजोड इन्स्योरेन्सले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव मंगलबार बिहान सार्वजनिक गरेको छ । तर इन्स्योरेन्सको हकप्रद निष्काशनको सूचना सञ्चालक समितिको बैठक बस्नु पहिले नै बाहिरिए पछि सोमबार इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढाइएको छ । मंगलबार पनि कारोबार खुल्ना साथ कम्पनीको शेयर मूल्य उकालो लागिरहेको छ ।

इन्स्योरेन्सले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको सूचना मंगलबार मात्र सार्वजनिक गरेको छ । सञ्चालक समितिको बैठक सोमबार दिउँसो साढे २ जेदेखि बसेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले नोटबजारलाई बताए ।

सञ्चालक समितिले साधारण सभाका प्रस्ताव सम्बन्धमा निर्णय नगर्दै सूचना कसरी चुहियो भन्ने प्रश्नमा खत्रीले भने “बजारमा कम्पनीको शेयर मूल्यमा के हुन्छ भन्ने विषय हाम्रो नियन्त्रणको विषय होइन ।” खत्रीले सञ्चालक समितिको बैठक सकिए लगत्तै नेप्से तथा सम्बद्ध निकायलाई साधारण सभाका प्रस्तावका विषयमा जानकारी गराइएको दाबी गरे । उनले कम्पनीबाट सूचना नचुहिएको दाबी गर्दै सञ्चालक समितिको बैठक सकिँदा बजार बन्द भईसकेको बताए ।

विशेष गरी कम्पनीका सञ्चालकहरुबाट पहिले नै यस किसिमका सूचनाहरु चुहाइदै आएका छन् । अजोडको हकमा पनि सञ्चालक समितिको बैठक बस्ने र बैठकले गर्ने निर्णयका सम्बन्धमा पहिले नै सूचना बाहिर ल्याइएको हो ।

कम्पनी सञ्चालक समितिको चैत १६ गते सोमबार बसेको बैठकले आगामी वैशाख ७ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजे सभा बोलाउँदै चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा हकप्रद शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिले उल्लेखित निर्णय गर्दै गर्दा अजोड इन्स्योरेन्सको शेयर मूल्य सोमबार १० प्रतिशत बढिसकेको थियो । उक्त समयसम्ममा १ लाख कित्ता शेयर पनि कारोबारमा आईसकेको थियो ।

यस सम्बन्धमा नेप्सेका सूचना अधिकारी मुराहरीले सूचनाको चुहावट भए नभएको सम्बन्धमा खोजी गरिने बताए । सोमबारको कारोबार र सञ्चालक समितिको बैठकको समयका सम्बन्धमा नेप्सेको ध्यानाकर्षण भएको भन्दै सम्बन्धित विभागले अनुसन्धान गर्ने बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।