निर्माण व्यवसायीको बहस: भुक्तानी अभावमा प्रधानमन्त्रीले शिलन्यास गरेका आयोजना अलपत्र पर्न सक्छन्


व्यवसायीहरुले नीतिगत व्यवस्था र सरकारले हेर्ने नजरमा परिवर्तन नआएसम्म विकास निर्माणका कामहरु प्रभावकारी हुन नसक्ने बताएका छन् । उनीहरुले भुक्तानी अभावका कारण प्रधानमन्त्रीले शिलन्यास गरेका आयोजना समेत अलपत्र पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारणसभाको उद्घाटन शत्रमा व्यवसायीहरुले आफुहरुलाई हेर्ने दृटिकोणमा पविर्तन हुनु पर्नेमा जोड दिएका हुन् ।

आइतबारदेखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु भएको साधारण सभामा बोल्ने व्यवसायीहरुले विद्यमान नीतिगत व्यवस्थामा संशोधन नगर्दा प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका धेरै आयोजना अलपत्र पर्न सक्ने संकेत समेत गरेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हजारौंको संख्यामा निर्माण व्यवसायमा आबद्ध भएकाहरुले लाखौंको संख्यामा रोजगारी दिँदै आएको भए पनि सरकारले व्यवसायीलाई गर्ने व्यवहार भने अनपेक्षित रहेको बताए । “यो व्यवसायमा आबद्ध हजारौं व्यवसायीले लाखौंलाई रोजगारी दिँदा समेत राज्यले हामीलाई हेर्ने नजरमा कुनै सुधार नआउनु दुखद छ”, महासंघ अध्यक्ष सिंहले भने ।

विभिन्न बहानामा निर्माण व्यवसायीलाई अफ्टेरोमा पार्ने काम सरकारबाट नै भईरहेको बताएका उनले कोरोनाका कारण निर्माण अवधि लम्बिएका योजना पुरा गर्न वर्ष दिनभन्दा बढी समय लाग्ने भए पनि अनावश्यक दवाब आउने गरेको गुनासो सिंहले गरे । कोरोनाका कारण प्रभावित आयोजना पुरा गर्न सरकारले थप गरेको ६ महिनाको समय कम भएको भन्दै उनले उक्त अवधि बढाउन माग गरे । आयोजना निर्माणको भुक्तानी नपाइरहेको गुनासो गर्दै उनले व्यवसायीलाई भुक्तानी गरेर उर्जाशील बनाउन पनि आग्रह गरे ।

मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशराज सुवेदीले भुक्तानी नभएका कारण नै प्रधानमन्त्रीले शिलन्यास गरेका धेरै आयोजना निर्माण हुन असम्भव रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । भुक्तानीको अभावका कारण क्रेडिट बढ्दा आयोजना निर्माणका कामहरु प्रभावित भईरहेको अवस्थामा प्रधानमन्त्रीले शिलन्यास गरेका आयोजना पनि अघि बढाउन समस्या पर्न सक्ने उनको भनाई थियो ।

देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहेको साधारणसभाको बन्दसत्र सोमबार सञ्चालन हुनेछ ।

महासंघको साधारण सभाको अवसर पारेर प्रज्ञा भवन परिसरमा निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहितको प्रदर्शनी पनि आयोजना गरिएको छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित ३० प्रदर्शनी कक्ष राखिएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।