पूँजी बजार सम्बद्ध कार्यालयमा धितोपत्र बोर्डले तोक्यो सुरक्षा मापदण्ड, २५ जना बढी भेला हुन नपाइने


नेपाल धितोपत्र बोर्डले कोरोना भाईरसको संक्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखि धितोपत्र बजार, धितोपत्र व्यवसायीका साथै सम्बद्ध सबै पक्षलाई सेवा प्रवाह गर्दा सुरक्षा उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । बोर्डले सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षित तवरले कार्य सम्पादन गर्न निर्णय अनुसार अनुरोध गरेको हो ।

बोर्डले नेप्से, ब्रोकर, र क्रेडिट रेटिङ संस्थालाई निर्देशन दिँदै कार्यालयस्थलमा सेवाग्राही तथा कर्मचारीहरूलाई मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन भनेको हो । साथै बोर्डले सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

कार्यालय हाताभित्र २५ जना भन्दा बढि नहुने गरि सेवा प्रवाह गर्न भनेको बोर्डले सेवाग्राही बिच कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गरेर मात्र सेवा प्रवाह गर्न बोर्डले भनेको छ । सभा, सम्मेलन, गोष्ठि, सेमिनार, बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलाप भौतिक रुपमा नभई भर्चुअल माध्यमबाट मात्र सञ्चालन गर्न बोर्डले भनेको छ ।

सेवा प्रवाहलाई सुचारू गर्न संस्थाका कर्मचारीहरूलाई स्वास्थ्य मापदण्डको पालना अनिवार्य गरेको बोर्डले सेवाग्राहीको भिडभाड कम गर्न र विद्युतीय माध्यमको प्रयोग गर्न बोर्डले सबैलाई आग्रह समेत गरेको छ ।